स्वदेशमै रोजगार बढाऊ

२८ बैशाख २०७१, आईतवार मा प्रकाशित

logo-of-purwanchal

युवा शक्ति पलायन हुने क्रम र संख्या बढ्नु हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो । राष्ट्रको पहिलो सम्पत्तिका रुपमा रहेका युवाहरुको निरन्तरको पलायनले आत्मनिर्भरता स्वावलम्बन र स्वाभिमान जस्ता विशिष्टता गुम्न सक्छ । ‘गुलियोमा झिंगा’ झै भौतिक सुखमा लोभिएको नेपाली मानसिकताले हाम्रो भविष्य सुखद् हुँदैन न त निश्चित नै हुन्छ ।
वैदेशिक रोजगार विभागले गएको एक वर्षमा करिब  पाँच लाख युवाहरु रोजगारीका लागि विदेश गएको तथ्यांंक सार्वजनिक गरेको छ । स्वदेशमा रोजगारको अवसर कम हुनु, शान्ति–सु–व्यवस्थाको अभाव तथा श्रमको आधारमा प्रतिफल प्राप्त हुन नसक्ने अवस्थाका कारण युवाहरुको पहिलो र निर्विकल्प लक्ष्य हुने गरेको वैदेशिक रोजगारीका कारण हाम्रा उत्पादनशील भूमि बाँझिएका छन् । यसले कृषिमा परनिर्भरता बढेको छ र भारतबाट कृषि उपज नल्याउने हो भने भोकै बस्नु पर्ने अवस्था सिर्जना भइसकेको छ ।
विभागले रोजगारीका लागि विदेश जाने नेपाली युवाहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएको उल्लेख गरेको छ । यसले रेमिट्यान्स (विप्रेषण)को माध्यमबाट मुलुकको आर्थिक जीवन उचालिएको देखाउँछ तर हाम्रो स्वावलम्बी चरित्र र पहिचान भने विलुप्त हुने अवस्थामा छ । त्यति मात्र होइन देशभरका युवाशक्तिको पलायनले ‘जन्ती र मलामी’ नपाइने दुःखद् अवस्था आएको छ । विदेशमा केही वर्ष बिताएर स्वदेश फिरेका केही युवाहरुले कृषिजन्य व्यवसाय व्यवसायिकता थपेर स्वरोजगार र आत्मनिर्भरता बढाउन प्रयत्न गरेका छन् तर त्यो उल्लेख्य हुन सकेको छैन ।
विदेश मोह आम युवाहरु बाहेक मध्यम तथा उच्चवर्गीय नेपालीहरुको पनि त्यतिकै प्रवल देखिएको छ । विदेश जान पाउनुलाई ‘स्वर्ग चढ्न लागेको’ अनुभूति गर्ने दरिद्र मानसिकताका कारण नेपाली परिचय ‘मगन्ते’ जातिमा परिणत हुने त्रास बढेर गएको छ । यही मोहका कारण वर्षेनि सयौं नेपाली चेलीहरुले कुनै मूल्यले किन्न नसकिने अस्मिता गुमाएर, मानसिक तथा शारीरिक शोषण तथा दुव्र्यवहार भागेर अतिशय कष्ट भोग्नु परेको समाचार पनि सार्वजनिक भएकै छन् ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरु अधिकांश युवाहरुको गन्तव्य हुने गरेको छ । मलेशिया, कतार, साउदी अरब, दुबई र कुवेतमा मात्रै लगभग पाँच लाख नेपाली गएका छन्भने ती मध्ये करीब ३१ हजार महिला छन् । ती मुलुकहरुमा नेपालीले गर्ने काम सम्मानपूर्ण हुँदैन न त पेशा र जीवनको ग्यारेन्टी नै । अनि पनि अपमान खपेर अन्याय पचाएर र आत्मसम्मान गुमाएर विदेशिनु पर्ने नेपालीको बाध्यतालाई राज्यले बुझ्न र सम्बोधन गर्न नसक्दा विदेश यात्राको क्रम बढेर गएको छ ।
युवा शक्ति देशको भविष्य हुन् । उनीहरुलाई स्वदेशमै रमाउने र सम्मानपूर्ण जीवन बाँच्न सक्ने वातावरण तयार गर्ने काम राज्यको हो । राज्यका सञ्चालकहरुले त्यस्तो नीति निर्णय गर्नुपर्छ जसले युवाहरुलाई विदेश पलायनको बाध्यकारी अवस्थाको अन्त्य गराओस् । आफ्नै भूमिमा पसिना बगाउने, उत्पादन बढाउने, श्रम गर्ने उत्प्रेरणा प्रदान गरोस् । विदेशी भूमिमा पसिनासँगै खुन बगाएर बालुवामा सिञ्चन गर्नुभन्दा आफ्नै माटोमा श्रम बगाउने राष्ट्रवादी भावनाको जागरण गराओस् ।
युवाहरु शक्तिका स्रोत हुन्, परिवर्तनका आधार हुन् र भविष्यका प्रतीक पनि । तिनलाई त्यसै अनुरुपको वातावरण दिएर स्वदेशमै रमाउने, राष्ट्रभक्ति बढाउने र स्वाभिमान नचढाउने दिक्षा दिन सके मात्र नेपालको भविष्य सुरक्षित हुनेछ । विदेश गमनलाई ‘चुत्थो’ काम भनाउने भूमिका राज्यकै हो र यसले मात्र नेपालीको गौरव जोगाउन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here