झापाको दमकमा सञ्चालित हम्सेदुम्से दूग्ध उत्पादन तथा संकलन सहकारी संस्थाले गर्मीको समयमा मोहीको व्यापार गरेर राम्रो काम थालेको छ । नेपाली संस्कृतिसँग जोडिएको मोही गर्मी याममा बढी नै पिउने गरिन्छ । यसका पारखीहरु हिउँद याममा पनि मोही नभए ‘भागै नबस्ने’ गर्छन् । मोहीको सेवन स्वास्थ्यका लागि लाभकारी छ र गर्मीमा त यसले शितलता प्रदान गर्छ । आधुनिकताले गाँज्दै ल्याएको, नेपाली समाजमा जन्मिएका किशोर–किशोरी तन्नेरी मात्र होइन ‘गर्भास्थ शिशु’ पनि गर्मीको नाममा चिसो पेय पदार्थ पिउन रुचाउँछन् । त्यस्ता पेय स्वास्थ्यका लागि हानिकारक भए पनि चिसो र मीठाको लोभमा यसको माग र वितरण अत्यधिक भएको छ । गर्मी याममा यसको माग र वितरण अत्यधिक भएको छ । गर्मी याममा सर्वाधिक उपयोग हुने यस्ता ‘बोतलबन्द’ पेय पदार्थलाई परम्परागत र स्वस्थकर मोहीले विस्थापन गर्न सके यसबाट नेपाली संस्कृतिको संरक्षण तथा परम्परागत गाईपालन व्यवसायको प्रवद्र्धन गर्न सहज हुनेछ ।
दमकमा सञ्चालित उक्त सहकारीले दिउँसो २ बजेसम्ममा दही मोही विक्री भइसक्ने जनाएको छ । कृषकहरुबाट संकलन गरेको दूधलाई जमाएर दही र दहीलाई मथेर मोही बनाउँदा गाई पालकहरु बजार पाएर लाभान्वित हुन्छन् भने दूग्ध व्यवसायीले पनि विक्री नभएको दूधलाई जमाएर दही र दहीलाई मोही बनाएर घिउ तथा मोही दुवै विक्री गरेर लाभान्वित हुन्छन् । सँगसँगै उपभोक्ताहरुले पनि शुद्ध दूध, दही र स्वस्थ्यकर मोही पिउन पाएर स्वास्थ्यका हिसाबले पनि सुरक्षित हुन्छन् ।
त्यसो त गाई हिन्दूहरुको जीवनदेखि मरणसम्मका हरेक गतिविधिलाई नभई नहुने जनावार हो । गौपालनबाट अध्यात्मिक सुख मात्र होइन उत्पादकत्व वृद्धि, स्वस्थ जीवन, र लौकिक आनन्द प्राप्त गर्न सकिन्छ । त्यसकारण पनि हम्सेदुम्से सहकारीको सेवा बहुउपयोगी, लाभकारी, प्रशंसायोग्य र उदाहरणीय छ । उपभोक्ताहरु पनि खान–पान र आहार–विहारप्रति सचेत रहने हो भने दोहोरो लाभ लिन सकिने कुरामा दुई मत हुँदैन ।