पूर्वाञ्चलको ठूलो शहर विराटनगरमा हेपाटाइटिस ‘ई’को महामारी फैलिएपछि स्थानीय प्रशासनले निरीक्षण तथा अनुगमनलाई तीब्र पारेको छ । ‘… सक्यो दैलो देख्यो’ भने झै प्रकोप फैलिएपछि गरिने यस्तो अनुगमन र निरीक्षणले संक्रमण रोक्न सक्दैन । यस्तो महामारी र भयावह अवस्था आउनसक्छ भनेर पहिले नै सतर्कता अपनाइएको भए जनताले अनाहकमा पीडा खप्नु पर्दैन थियो ।
उपमहानगरपालिका समेत भएको पुरानो शहरमा त फोहोर र अव्यवस्था छ भने अन्य ग्रामीण र नगरोन्मुख बजारहरुको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । यसले हाम्रो जीवनसँधै असुरक्षित छ भन्ने देखाएको छ । रोगको माध्यमका रुपमा रहेको हावा, पानी र खानाको शुद्धतामा ध्यान दिइएन भने यसले कुनै पनि महामारीको रुप लिन सक्छ र अनाहकमा सयौंको ज्यान जान सक्छ ।
‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु श्रेयस्कर हुन्छ’ भनिएको छ । यसका लागि आम जनताले सचेतता अपनाउनु पर्छ र सरकारी निकायका तर्फबाट पनि त्यसै अनुसारको सावधानी, निर्देशन, अनुगमन तथा निरीक्षण गर्न जरुरी छ । अहिले विराटनगरमा फैलिएको महामारी अन्त सर्दैन भन्ने छैन । हावा, पानीबाट फैलिने अनेक रोगहरुमध्येको एउटा पानीबाट फैलिने अनेक रोगहरु मध्येको एउटाले मात्रै पनि महामारीको रुप लिन सक्छ ।
विराटनगर जस्तै पूर्वका शहरहरु पनि क्रमशः प्रदुषित बन्दै गएका छन् । अस्वस्थकर वातावरणको विकास भइरहेको छ । त्यसमध्ये पूर्वमा छिटो र थोरै समयमै शहरका रुपमा विकास भएको बिर्तामोडमा त झन् धेरै विकृतिहरु बढेका छन् । पिउने पानीको अपर्यप्तता, ढलको अभाव र एउटा मात्र नदी अन्धुवा ढल र फोहोर फ्याल्ने ठाउँका रुपमा रहेकाले बिर्तामोड सम्पूर्ण प्राणीका लागि अनुपयुक्त ठाउँ बन्दै गएको छ ।
नदीको शुद्धतालाई जोगाउन सरकारी निकायबाट कुनै चासो नदिएको, माछा मासुको व्यापार तथा व्यवस्थित बधशाला नभएका कारण बिर्तामोडको स्वरुप क्रमशः कुरुप र जोखिमपूर्ण बन्दै जाँदैछ । मूल सडकहरुमै जीवहरुको बध गर्ने, त्यसबाट निस्कने फोहोर जतासुकै फ्याल्ने जस्ता काम सामान्य जस्तै बन्दै गएको छ । यसतर्फ बेलैमा ध्यान नदिने हो भने विराटनगरको महामारी बिर्तामोडले पनि व्यहोर्नु पर्नेछ । तसर्थ स्थानीय प्रशासन, जन–स्वास्थ्यलगायतका जिम्मेवार निकायले फोहोर व्यवस्थापन, ढलको स्थायित्व, अन्धुवाको स्वच्छता र पर्यावरणको रक्षाका लागि समयमै होस् पुर्याओस् । अन्यथा ‘ए दैलोमा आची गरेछु’ भन्दैमा कोही सुरक्षित भइँदैन ।