जोखिम टरेको छैन

0
779

कर सङ्कलन गर्ने समय सीमा सकिन लाग्दा सरकारले बन्दाबन्दी खुकुल्याउँदै लगेको छ । चालू आर्थिक वर्षभित्र तिर्नुपर्ने कर उठाउन कै लागि भए पनि निषेधको आदेश हटाउन जरुरी भएर हुन सक्छ केही व्यवसाय बाहेक पूर्णरुपले खुल्ला गरिएको हो । यही समय जनस्वास्थ्यविद्हरुले भने जस्तै कोरोनाको नयाँ भेरियन्ट पहिचान भएको छ । भाइरसको आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका अड्चालीस नमूना मध्ये सड्चालीस वटा नमूनामा नयाँ प्रजातिको ‘डेल्टा प्लस भेरियन्ट’ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसले नेपालमा कोरोना संक्रमणको जोखिम झनै उच्च रहेको अनुमान गर्न सकिन्छ । भाइरस स्वरूप परिवर्तन गर्दै नयाँ लक्षणसहित विस्तार हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ । त्यसकारण पनि सरकारले बन्द खुल्ला ग¥यो ठानेर निर्धक्क, निस्फिक्री हिँडडुल गर्नु आफ्नै लागि घातक हुनसक्छ भन्ने बिर्सनु हुँदैन ।

विश्वका दशभन्दा बढी देशमा भेटिएको परिवर्तित रूपको भाइरस डेल्टा प्लस कति संक्रामक छ भन्ने यकिन भइसकेको छैन । तर, कोरोना भाइरसकै कारण विश्वमा लाखौंको ज्यान गइसकेकोले परिवर्तित स्वरूप पनि घातक हुन सक्छ भन्नेतर्फ सजग हुनै पर्छ । अझ नेपालको सन्दर्भमा जनता स्वयं सचेत र सजग हुनै पर्छ। जुन घरपरिवारले कोरोनाकै कारण सदस्य गुमाउनु परेको छ उनीहरूले भोग्नु परेको पीडाबाट पाठ सिक्नै पर्छ । किनकि हामीसँग न स्वास्थ्य सेवा यथेष्ट छ न त सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गरेको मान्ने आधार नै छ । विगत झण्डै डेढ वर्षदेखि आतङ्क सृजना गरेको भाइरसविरूद्धको खोप लगाएर जनतालाई सुरक्षित गर्नेभन्दा सरकारको ध्यान राजनीतिक स्वार्थ मै केन्द्रीत भइरहेको छ। नेपालमा अहिलेसम्म पहिचान भएका अल्फा बी, डेल्टा बी र कप्पा भेरियन्ट प्रमाणित भइसकेका छन् । अति संक्रामक ती भेरियन्टको संक्रमण हाल केही कमजोर देखिएको छ, तरनियन्त्रण नै भने भइसकेको छैन ।

करिब दुई महिनापछि एकान्तबास खुल्ला भएको छ । कोरोनाको दोस्रो लहर उत्कर्षमा पुग्न लाग्दा जनताले पाएको सास्ती, मानसिक, आर्थिक तथा जीवन रक्षाको सङ्कट केही मत्थर भएको छ । यद्यपि विज्ञहरूले संक्रमण फैलिने दर पाँच प्रतिशतमा नझरुञ्जेल भाइरसजन्य त्रास कम नहुने बताएका छन् । अहिले संक्रमण दर बीस प्रतिशतभन्दा माथि छ त्यसैले खुल्ला भयो भनेर लापरबाही गरिनु घातक हुन सक्छ । विश्वमा एकसाथ आतङ्क सृजना गरेको भाइरसविरूद्ध उभिन खोप अनिवार्य छ भन्ने तथ्यहरुले पुष्टि गरिसकेको छ । तर, आफूले उत्पादन गर्न नसक्ने अवस्थामा बिकसित देशहरूको सहयोगबिना हामीलाई खोप सम्भव छैन । यसका लागि सरकारले नै राजनीतिक, प्रशासनिक तथा कुटनीतिक पहल गर्नुपर्छ । यसमा सरकारको भूमिका कमजोर रहेका कारण खोपको सुनिश्चतता देखिँदैन । ‘हिउँदलाई नभई वर्खालाई–आफूलाई नभई अर्कालाई’ भन्ने गरिन्छ, त्यसैले उत्पादक देशहरूले अरुलाई सहजै खोप दिँदैनन् । यस्तोमा सरकारकै क्षमताले मात्र जनताको जीवन रक्षा गर्न सक्छ । संक्रमणकै बीच तीन जना स्वास्थ्य मन्त्री फेरिए तर, भरोसायोग्य वातावरण बनेन । अब पनि जनता सावधान नहुने, हेलचेक्र्याइँ गरिरहने हो भने स्वास्थ्यका मापदण्डको पालना नगर्ने हो भने नयाँ भेरियन्टको बिस्तारलाई कसैले छेक्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here