नसुल्झिएको हात्ती समस्या

0
864

पूर्वी नेपालको सीमावर्ती क्षेत्र जङ्गली हात्तीको पीडाबाट आक्रान्त छ । भारतसँग मेची नदीले मात्र अलग रहेको बाहुनडाँगी क्षेत्रका बासिन्दाले विगत चालिस वर्षदेखि हात्तीजन्य पीडाबाट खप्नै आएका छन् । तर, पछिल्लो समय तिनै जङ्गली हात्ती त्यसयताका क्षेत्रमा पनि स्वतन्त्र विचरण गर्न थालेपछि हात्तीजन्य पीडाबाट बुधबारे, शान्तिनगर, अर्जुनधारा, हल्दीबारी, कचनकबल, राजगढ लगायतका बासिन्दाले समेत जनधनको क्षति व्यहोर्नु परिरहेको छ । भारतको आसाम हुँदै पश्चिम बंगालको महानन्द वन्यजन्तु निकुञ्जबाट नेपाल आउने गरेका जङ्गली हात्तीलाई रोक्न नेपालका तर्फबाट गरिएका उपाय र प्रयास सफल नहुँदा स्थानीयले खाद्यान्नको सुरक्षा गर्न सकेका छैनन् । खेतीमा लगाएको धान, मकै, केरा जस्ता बाली मात्र होइन भण्डारण गरेको खाद्यान्न पनि जोगिएको छैन । कयौंका घर हात्तीले भत्काइदिएको छ भने हात्तीको आक्रमणमा परेर धेरैले जीवन नै गुमाउनु परेको छ ।

हात्तीको आक्रमणबाट अहिलेसम्ममा पचास जनाभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसैगरी मानव र हात्तीबीच द्वन्द्वमा तीसभन्दा बढी हात्ती मारिएका छन् । यद्यपि यो वास्तविक तथ्याङ्क होइन–मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका अध्यक्ष ढुण्डीराज पौडेल भन्छन्– सरकारले दिएको संख्याको दोब्बर क्षति भएको हुन सक्छ । किनकि तीस वर्षअघिसम्म यसको कुनै तथ्याङ्क नै थिएन । झापाका सबै स्थानीय तह अहिले हात्तीजन्य समस्याबाट पीडित छन् । आसामदेखि नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र हात्तीको आउजाउ गर्ने क्षेत्र हो । बढ्दो जनघनत्वका कारण वनजङ्गल फँडानी हुँदै जाँदा स्वतन्त्र विचरण गर्ने हात्ती मानव बस्तीमा प्रवेश गरी सांघातिक आक्रमण गर्न थालेको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । बाहुनडाँगी क्षेत्रबाट शुरू भएको हात्तीजन्य पीडा अहिले झापाका सबै पालिकाका बासिन्दाले भोग्दै आएका छन् । हात्तीजन्य पीडाबाट मुक्ति पाउन सरकारकै सहयोगमा मचान बनाउने, सुरूङ खन्ने, मौरी पाल्ने, हात्तीबार लगाउने, पटका पड्काउने, खोर्सानीको धुँवा लगाउने जस्ता उपायले पनि हात्ती प्रवेशलाई रोक्न सकेन ।

हात्तीको उपद्रोबाट आजित स्थानीय बासीलाई सुरक्षित राख्न पछिल्लो समय विश्व बैंक र डब्ल्यु डब्लु एफको सहयोगमा विद्युतीय तारबार लगाइएको छ । यसले हात्ती प्रवेश रोकिएपछि अहिले जलथल, निचाझोडा, हल्दीबारी, कचनकबल, भद्रपुर क्षेत्रमा पनि तारबार लगाइँदैछ । यसले जङ्गलमा रहेका रैथाने हात्तीलाई पनि बस्ती आउन रोक्ने भएकाले यसका लागि राज्यले लगानी गरेको छ । हात्ती संरक्षित जनावर भएकाले कानूनतः मार्न पाइँदैन । तर, पनि मानवसँगको द्वन्द्वका क्रममा मारिएका पनि छन् । हात्ती आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई सरकारका तर्फबाट राहतस्वरुप दश लाख रूपैयाँ प्रदान गरिन्छ । त्यस्तै घाइतेको उपचारमा बीस हजार र भौतिक क्षति भएको अवस्थामा दश हजार रूपैयाँ दिने निर्देशिका मै उल्लेख छ । यसै अनुसार हालसम्ममा चार करोड ४७ लाख १४ हजार चार सय चालिस रूपैयाँ वितरण गरिएको वन डिभिजन कार्यालय झापाले जनाएको छ । यो नै दशकौंदेखि भोग्दै आएको हात्ती पीडाको समाधान होइन । सबै प्राणी एक अर्काका परिपूरक हुने भएकाले र सबैको सन्तुलित उपस्थितिमा मात्रै पृथ्वीको अस्तित्व रहने कारणले सहअस्तित्वलाई स्वीकार गर्नुपर्छ । यसका लागि जंगल जोगाउन र हात्तीलाई वनजङ्गलमै रोक्ने योजना सञ्चालन गर्नुपर्छ । अनि मात्र वर्षौदेखि भोग्दैछ आएको हात्तीसँगको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here