न्यूनतम पारिश्रमिक माग्दै भद्रपुरका बालशिक्षक र कर्मचारी आन्दोलित

0
858

झापा,

सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरू आन्दोलित बनेका छन्।

भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार नपुर्याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बाल शिक्षकहरू आन्दोलित बनेका हुन्। शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

आज आइतबार शिक्षकहरूले अपिलमार्फत नगरपालिका र नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रुपमा जानकारी गराएको र भोलि सोमबारदेखि असार १८ गतेसम्म नगरपालिकामा शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम रहेको बाल शिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन्।

आज हामीले नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ र नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेललाई लिखित रुपमा ध्यानाकर्षण गरेको उनले बताइन्।

शान्तिपूर्ण धर्ना पश्चात् पनि नगरपालिकाले बाल शिक्षक र कर्मचारी तलब नबढाए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिइन्। सरकारले साउन १ गतेदेखि तोकेको न्यूनतम मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउनुपर्ने भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो।

तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब ३ हजार र कर्मचारीको तलबका २ हजार बढाउने उल्लेख गरेको छ।

सरकारले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्याएको र सम्बन्धित पालिकाले सात हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याउँदा आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले जानकारी दिए।

नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना रहेका छन्। नगरपालिकाले अहिले बाल शिक्षकलाई मासिक ७ हजार ५ सय, मावि स्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्राविस्तरका कर्मचारीलाई ४ हजार ५ सय मासिक तलब दिँदै आएको छ।

यता सरकारले तोके अनुसारको पारिश्रमिक भद्रपुरले नदिने बजेटमार्फत जानकारी गराइरहेको बेला जिल्लाका अन्य स्थानीय तहले भने बाल शिक्षक र कर्मचारीको तलब सरकारले तोकेअनुसार दिने बजेटमा उल्लेख गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here