साना मझौला व्यवसायी साकोसद्धारा ३ संस्थालाई आर्थिक सहयोग

0
726

बिर्तामोड ।

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–१ ले ११ औ स्थापन दिवस तथा १० औ बार्षिकोत्सव तीनवटा संस्थालाई आर्थिक सहयोग गरेर मनाएको छ ।

संस्थाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी एकका लागि एक अभियान, व्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोड र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाआश्रमलाई आर्थिक सहयोग गरेको हो ।

एकका लागि एक अभियानद्धारा सञ्चालित अक्सिजन वैंक स्थापनाका लागि संस्थाले ३१ हजार, व्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको भवन निर्माणका लागि ११ हजार र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाआश्रममा रहेका बृद्धबृद्धालाई एकदिनको खाना खर्च बापत ४ हजार रुपैयाँ प्रदान गरेको संस्थाका व्यवस्थापक थेप्सुलाल गणेशले जानकारी दिए ।

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले अभियानका संयोजक महेन्द्र गिरी, सह संयोजक विनोद वस्नेत, बृद्धाआश्रमका अध्यक्ष विक्रम मादेनलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् । संस्थाकी अध्यक्ष बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सहकारी वैंकका सञ्चालक महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा सस्थापक अध्यक्ष खड्गप्रसाद ओडारी, सुरुङ्गा सेवा केन्द्र संयोजक राजेन्द्र उप्रेती, अभियानका सह–संयोजक बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष बस्नेतले साना मझौला व्यवसायी साकोसले विगतका बर्षहरुदेखि नै सामाजिक कार्यक्रम गरेर स्थापना दिवस तथा बार्षिकोत्सव मनाउँदै आएको जानकारी दिइन् ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त आर्थिक सहयोग गरेको बताउँदै उनले अक्सिजनको अभावमा कोही पनि विरामीले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अभियानलाई आर्थिक सहयोग गरिएको बताइन् ।

असार १४ गतेसम्म संस्थाको शेयर सदस्य संख्या ५ हजार ८ सय ७० जना, शेयरपुँजी ७ करोड २८ लाख, निक्षेप २० करोड १६ लाख ३ हजार एकसय ८०, ऋण लगानी २९ करोड ५५ लाख ८० हजार रुपैयाँ रहेको संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले जानकारी दिए । कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here