झापा।

झापा गाउँपालिका वर्षेनि बाढीको उच्च जोखिममा पर्ने गरेको छ । यो वर्ष पनि कनकाई माईमा आएको बाढीेले गाउँपालिकाको पश्चिमी क्षेत्र प्रभावित बन्यो । माईमा आएको भंगालो गाउँ पस्ता १५ परिवार बिस्थापित बनेका छन् ।
झापा गाउँपालिका–५ खयरबारीमा समेत बिरीङ खोलाको बाँध भत्किएको छ । माई र विरिङ खोलाको बीचमा पर्ने झापा गाउँपालिका जिल्लाका १५ वटा पालिकामध्ये सँधै बाढीको उच्च जोखिममा छ ।
जिल्ला पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ अनुसार झापा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको देखिएको हो । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापाले गरेको सहभागीमूलक संकटा सन्नाटा र क्षमता बिश्लेषण (पीसीभीए) प्रतिवेदन अनुसार बाढीको उच्च जोखिममा झापा गाउँपालिकाका १४ वटा समुदायका ६८७ घरपरिवार रहेका छन् ।
झापा गापालाई कनकाई, बिरीङ र सानो माई नदीले वर्षेनि प्रभावित गर्ने गरेको छ । ती नदी किनारामा बस्ने समुदाय बाढीको उच्च जोखिममा देखिएका हुन् । कच्चुदह, टप्पु, सिर्जना बस्ती, बालुवाटार, सडकबाडी, मिलनबस्ती, लसुना, सालमारा, गैरीगाउँ उराऊ बस्ती, चन्द्रबस्ती, खयरबारी, हाटखोला नयाँ बजार लगायतका समुदाय उच्च जोखिममा रहेको न्याय तथा विकासका लागि सामाजिक सञ्जालका संयोजक कुमार चुडालले बताए । उनका अनुसार बाढी आउँदा ती समुदायहरु प्रभावित हुनसक्ने देखिएको छ । सम्भावित जोखिमका बारेमा गरिएको अध्ययनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, झापा गाउँपालिका कार्यालयलाई बुझाइएको चुडालले बताए ।
जोखिममा परेका ती समुदायमा जिल्ला पूर्वतयारी तथा प्रतिकार्य योजना सञ्चालित छ । नेपाल रेडक्रस सोसाइटीले ती ठाउँहरुमा पूर्व सूचना प्रणाली जडान गरेको छ ।
त्यस्तै विपद् व्यवस्थापन समितिहरु गठन गरिएका छन् । ती समितिहरुलाई कोषको व्यवस्था गरिएको छ भने सुरक्षा सामग्रीहरु बन्दोबस्त अवस्थामा राखिएको छ । ‘विपद् परिहाले परिचालन गर्नेगरी तयारी अबस्थामा राखिएको छ’– संयोजक चुडालले भने– ‘विपद्बाट जोगिनका लागि जनचेतनासहित तालिम प्रदान गरिएको छ ।’ वर्षेनि बाढीबाट प्रभावित हुँदै आएको झापा गाउँपालिकामा गत वर्ष सय घर डुबानमा परेका थिए । यस वर्ष पनि बाढीको क्षति शुरु भइसकेको छ । बाँध भत्किँदा केही खेत बगाएको वडाध्यक्ष दिनेश राजवंशीले बताए ।
तिनै समुदायहरुलाई सुरक्षित हिसाबले उद्धार गर्नका लागि लुथरन वल्र्ड फेडेरेशन नेपालसँगको साझेदारीमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले झापा गाउँपालिकामार्फत सशस्त्र प्रहरी बललाई सुरक्षित आकस्मिक सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकामार्फत १५ वटा लाइफ ज्याकेट, १५ वटा हेल्मेट, १५ जोर गमबुट, ३ वटा टर्चलाइट, ३ वटा हाते बञ्चरो, एक सय मिटर नाइलनको डोरी प्रदान गरिएको सञ्जालका संयोजक चुडालले जानकारी दिए ।































