खिनमाया फेरि रोइन् : पहिले दुःखले अहिले खुशीले

0
574

चारपाने।

हिजोका दिनमा दुःखी, पीडित खिनमाया रोएको भिडियो हेरेर धेरैजना रोएका थिए, आज खिनमाया फेरि रोइन् प्रत्यक्ष हेर्नेहरु हाँसे । किनकि खिनमयाको रुवाइ खुशीको थियो ।

झापा अर्जुनधारा–५ कि खिनमायाकोमा शुभकार्यमा एकैदिन धेरै मानिसहरु भेला भएको सायदै पहिलो दिन होला । हिजोका दिनमा खिनमायालाई भेट्नेहरुले बिचरा कठैबरा कति दुःखी भनेर सहानुभूति व्यक्त गर्थे, सबैले सकेको केही सहयोग पनि गर्ने गरेका थिए । खिनमायाको घरमा आएर खिनमायासँग फोटो खिचाउने उनको घर अवलोकन गर्नेहरु कोही थिएनन् । तर, सोमबार घरभरि मान्छे त्यसमा पनि परोपकारी भावना भएकाहरुको उपस्थितीले खिनमायाको मन फुरुङ्ग भएको छ, सोमबार पनि खिनमाया खुशीले रोएकी छन् ।

हिजोका दिनसम्म राम्रो लाउने कुरा त परैजावोस् पेटभरि खानसम्म नपाएर समस्यामा परेकी अतिविपन्न वर्गकी खिनमाया पौडेको समस्याको बारेमा यसअघि धेरैले थाहा पाइसकेको अवस्था छ । आज भने खिनमायाको खुशी र उमँगलाई तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

यसअघि खिनमायाको कठिन अवस्थालाई आमसञ्चार डटकमले समुदायमा देखाएपछि समुदायका सहयोगी मनकारीहरुले भौतिक सामग्री तथा नगद उपलब्ध गराएका कारण मजबुत, आकर्षक घर निर्माण सम्पन्न गराएर समुदायले खिनमायालाई घर हस्तान्तरण गरेको छ ।

खिनमाया घर निर्माण समन्वय समितिका अध्यक्ष ओमप्रकाश लुइँटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेना श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजंग थापाको प्रमुख आतिथ्य रहेको थियो ।

घर निर्माणका लागि शेरबहादुर थापा, अर्जुन कँडेल, कुलप्रसाद खरेल, सोना गेलाल, उमेश उपरकोटी, रुद्रप्रसाद ढकाल, सुरज काफ्ले, डिके सेल्स एण्ड सर्भिस, हेमन्त चौहान, तेजु भण्डारी, हेल्पिङ हेण्डस् कनकाई फाउण्डेशन, हेल्पिङ हेण्डस् जापान, देवेन्द्र थापा, पदम पौडेल लगायतले सहयोग गरेका थिए ।

त्यसैगरी जीवन उप्रेती, जीत कार्की, रामप्रसाद श्रेष्ठ, दहिझोडा, नमूना, जुकेखाडी सामुदायिक वन समिति, सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रवीन अग्रवाल, पुरुषोतम अग्रवाल, अशोक साहेवाल, मुनमुन अग्रवाल लगायतले सहयोग गरेको खिनमाया घर निर्माण समन्वय समितिका सचिव जीवन खतिवडाले बताए ।

कार्यक्रममा दाताहरुलाई फूलगुच्छाले सम्मान गरिएको थियो भने समाचार सम्प्रेक्षण गरेर सहयोग गर्ने आमसञ्चार डटकमका समाचार प्रमुख विनोद पाण्डे र घर निर्माणमा श्रमदान गराउने नेपाली सेना श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति कार्यक्रमका प्रमुख अतिथि अमरजंग थापालाई कदर पत्र र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई अध्यक्ष लुइँटेल, सचिव खतिवडा र खिनमायाले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि थापाले भने– ‘म झापामा पहिलो पटक आएको हो, म विगत १८ महिनादेखि यहाँ रहेको छु । मैले यो समयसम्म झापालाई बुझ्दा यहाँको समाज यति धेरै विशिष्ठ, विकसित रहेछ, अरुको दुःख, कष्टमा यति धेरै सहयोग गर्ने समाज रहेछ, मैले व्यक्तिगत रुपमा झापाबाट सिकेर बुझेर यहाँबाट जाँदा दिएर जाने विषय बनेको छ ।’

घर हस्तान्तरण कार्यक्रममा दाताहरु शेरबहादुर थापा, कुलप्रसाद खरेल, मदन बुढाथोकी, हेमराज सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत कमल पोखरेलले गरेका थिए भने सञ्चालन सचिव जीवन खतिवाडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here