मेचीका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किए

0
769

झापा,

मेची अस्पताल भद्रपुरको सेवा ठप्प पारेका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किएका छन्। बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरू विरोध जनाउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए।

चिकित्सकहरूले ओपिडी सेवा बन्द गर्दा अस्पताल पुगेका बिरामीहरू त्यतिकै घर फर्किन बाध्य भएका थिए। डाक्टरमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म काममा नफर्किने चिकित्सकहरूले अडान लिएका थिए।

अस्पतालको सेवा ठप्प बनेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले घटनाको विषयमा चासो देखाएको थियो।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा डाक्टरमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले प्रतिबद्धता जनाएपछि चिकित्सकहरूले विरोधका सबै कार्यक्रम फिर्ता लिएको अस्पतालका मेसु डा टंकप्रसाद बाह्रकोटीले जानकारी दिए।

चिकित्सकहरू पुनः अस्पतालको कामकाजमा फर्किसकेको अस्पतालका मेसु डा बाह्रकोटीले बताए। सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा ठप्प भएको उनको भनाई छ।

यता प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले हातपात गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई जानकारी गराइसकेको बताए। अस्पताल प्रशासनले दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

‘हातपात गर्ने निरौला समेत घाइते भएको र उनको ओमसाईमा उपचार भइरहेको जानकारी आएको छ, घटनास्थलको सिसी क्यामेराको फुटेज पनि हेरियो,’ डिएसपी थापाले भने, ‘जाहेरीको आधारमा अब कानुनी कारबाहीको प्रक्रिया अघि बढ्छ।’

आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए। आकस्मिक कक्षमा कार्यरत डा। केवल कपुरी र पुष्पराजबीच उपचारकै विषयमा विवाद भएको थियो।

सोही विवादको क्रममा दुवै पक्षबीच हात हालाहाल भएको सिसी क्यामेराले खिचेको फुटेजमा देखिन्छ। डाक्टरमाथि बिरामीको आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका थिए।

यता बिरामीका आफन्त निरौलाले भनाभनका क्रममा डा केवलले आफूलाई ‘खाते’ भनेकाले हात हालेको स्वीकार गरेका छन्। निरौलाले अस्पतालभित्र डाक्टरमाथि हात हाल्नु आफ्नो गल्ती भएको स्वीकारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here