व्यासमा पर्यटन प्रवद्र्धनार्थ ‘कोशेली घर’

0
432

तनहुँ, 

घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले पर्यटन प्रवद्र्धनार्थ दमौलीमा ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याउने तयारी गरेका छन् । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरुपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोशेली घर’ सञ्चालनको अवधारणा ल्याइएको हो ।

महिला उद्यमीले तयार गरेका सजावट तथा व्यवस्थापनका सामग्री घुम्न आउँने आन्तरिक एवं बाह्य पर्यटकले खरिद गरेर लैजान सक्नेछन् । तनहुँका विकट क्षेत्रमा उत्पादित वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले लघु तथा घरेलु उद्यमीलाई बजारीकरणमा टेवा दिने उद्देश्यले कोशेली घर सञ्चालनमा ल्याउन लागिएको समितिका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयको हाताभित्र निर्माण गरिएको एक कोठे भवनमा कोशेली घर सञ्चालन गर्ने योजना छ । उहाँले भन्नुभयो, “पुण्य कमाउन गरिने महायज्ञजस्तै ठानेर दिनरात केही नभनी निःस्वार्थ भावनाले खटिएका छौँ ।” महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्रको सञ्चालन तथा व्यवस्थापनको लागि रु पाँच लाख विनियोजित बजेटबाट सजावट तथा व्यवस्थापनका सामग्री तयार पारिएको छ ।

व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा सदस्यद्वय वसुुन्धरा घर्ती र राधिका परियारबाट समान खरिद सजावटको काम गरिएको समितिका सचिव सिर्जना कोइरालाले बताउनुभयो । लघु घरेलु तथा साना उद्यमी कोशेली घर सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार पारी सकिएको उहाँले बताउनुभयो । सामान खरिद गर्न आवश्यक बीउ पूँजीको लागि रु दश लाख आवश्यक पर्ने र तत्कालको लागि व्यास नगरपालिकालाई रु पाँच लाख सहयोग गर्न प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो ।

लघु घरेलु तथा साना उद्यमीद्वारा उत्पादित वस्तुको बिक्री वितरणमा प्रवद्र्धन र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले कोशेली घर सञ्चालनको लागि समितिसँग सम्झौता गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तु कहाँ लगेर बिक्री गर्ने भन्ने समस्या रहँदै आएकोमा त्यस्तो समस्याको समाधान हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिका कार्यालयले स्नातक उत्तीर्ण महिलाको उद्यमशीलताको लागि चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले दमौलीमा सञ्चालनमा ल्याउन लागेको ‘व्यास कोशेली घर’को नगरपालिकाका नगरप्रमुख न्यौपाने र उपप्रमुख जोशीले अनुगमन गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here