दुर्गाप्रसाद मध्यरातमा जौबारीमा भेटिए

0
748

विमल दहाल, इलाम ।

४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका इलाम जिल्ला माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना आईतबार एका एक घरबाट हराए ।

दिउँसो नजिकै सूर्योदय नगरपालिका–१४ को खोल्मेटार स्थित धनबहादुर राईको घरमा गएको तर साँझ सम्म नफर्किए पछी उनको खोजिमा परिवार र गाँउनै लाग्यो। झापा र इलाममा रहेका आफन्त र प्रहरीलाई खबर गरियो, हुलिया पठाईयो। अन्तत ईलामको आईतबारे प्रहरी टोलिले मध्यरातमा इलाम नगरपालिका वडा नम्बर(१० को गोदक बाट उनलाई फेला पारि उद्धार गरेको छ।

दुर्गाप्रसादका भतिजा गोपालका अनुसार दुर्गाप्रसाद अपरान्ह ५ बजे गोदकको गट्टा गोलाईबाट फिक्कल तिर हातमा चप्पल बोकेर हिडेको जानकारी ईलाम –१० का वडाध्यक्ष रोम लुङ्गेलीले देखेको जानकारी दिएका थिए। सोही आधारमा उनको खोजी मेची राजमार्ग आसपासमा गरिएको थियो ।

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । यस बिषयमा परिवारले बारम्बार भन्दै आएको छ। परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको हो । केही दिन देखि दुर्गाप्रसादको बोलीचाली र व्यवहार असहज भन्दै गएको परिवारिक श्रोतले जनाएको छ। उनी तिब्र मानसिक बिरामी झै देखिएका छन्।

नालीको फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेका छन् । ‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो’– दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले भने– ‘दिन बित्दै गएपछि उहाँको अवस्था झन्–झन् असहज र जटिल बन्दैछ ।’ गोपाल भन्छन्– घरमा खाना खुवाउन, लुगा लगाउन, सरसफाई लगायतका काम गराउन ठूलो बुवालाई केही साता यता गाह्रो परिरहेको छ । गोपालले भने– ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका थिए तर अवस्था चाहिँ झन्–झन् बिग्रिँदै गएको छ ।’

उनलाई गत बैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेका थिए तर उहाँको अबस्थामा त झन जटिल बन्दै गयो– गोपाल भन्छन्– मनोचिकित्सकसँग पनि परामर्श गरिएको हो, उहाँहरुले पनि ठीक हुन्छ भन्नु भएको थियो । तर, अबस्था जटिल हुँदै गएको छ ।

स्थानीय रामचन्द्र फुयल दुर्गाप्रसादको अबस्था जटिल बन्दै गएकोले यहि अबस्था रहे केही अप्रिय घटना घटन सक्ने बताउनु हुन्छ । फुयलका अनुसार परिबार र गाँउका मान्छेलाई झम्टने, अभद्र व्यवहार गर्ने लगायतका कार्यले भोलिका दिनमा जटिल समस्या आउन सक्ने भएको भन्दै दुर्गाप्रसादलाई राज्यलेनै उपचारका लागि आवाशिय अबस्था गर्न आग्रह गर्नुभयो।

दुर्गाप्रसादलाई १ नम्बर प्रदेश सरकारमार्फत गत बैशाखमा विराटनगरस्थित बिराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो भने माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो । भतिज गोपाल भन्छन्– ‘धेरै संघ–संस्थाले ठूलो बुवाको लागि सहयोग गर्ने गरेको भएता पनि उहाँले पाएको ४० बर्षको बिना कसुर सजायको क्षतिपूर्ति दिलाउन कसैबाट सहयोग नपाएको गुनासो बारम्बार गर्ने गरेका छन् । उनी भन्छन– क्षतिपूर्ति आए त्यसैबाट ठूलो बुवाको उपचार गर्ने थियौं ।’तर कुनै निकायले क्षतिपुर्तिको पहल गरिदिएन ।ु

दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जीलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

सन् १९८१मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाई नै भएन । यसरी लामो समय जेलमै कोचिएको थाह पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी गत चैत ७मा रिहा गरेको थियो । चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।

एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) का दुर्गाप्रसाद मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यस यता बेपत्ता उनी जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन । घरबाट हिँडेपछि उनी दार्जिलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो । तर, दार्जिलिङमा त्यतिबेला गोर्खाल्याण्ड आन्दोलन चलिरहेकाले त्यहीं उनको मृत्यु भएको अनुमान परिवारलाई थियो ।

१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्को मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए ।

यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here