माओवादीहरुले गौरीशंकर खड्काबाट के सिक्न सक्छन् ?

0
410
गौरीशंकर खड्का

हरेक जनआन्दोलन, जनसंघर्ष र जनयुद्धको पृष्ठभूमिमा धेरै असल अभियन्ता कार्यकर्ता र शुभेच्छुकहरुको रगत, पसिना र बलिदानको धेरै ठूलो महत्व रहेको हुन्छ । माओवादीको जनयुद्धमा पनि धेरै नेपाली आमाका अब्बल सन्ततिहरुको योगदान रहेको छ । यो कुरा पनि निकै पुरानो हुन थालेको छ । २०६४ साल चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिक समेतबाट गरी कुल योगमा मुलुककै सबभन्दा ठूलो दल बनेको तत्कालीन नेकपा माओवादी जनताको नजरमा लोकप्रिय, जनपक्षीय, बचनमा पक्का र सुस्पष्ट मार्गचित्रसहितको राजनीतिक शक्ति थियो । वास्तवमा माओवादी एउटा दल मात्र नभएर जनजनको मनमनमा विकसित एउटा संस्कृति थियो ।

माओवादी आन्दोलनको विस्तारित यो आयामको जगमा कमरेड गौरीशंकर खडका (राजेन्द्र) जस्ता सयौं असल नेता र कार्यकर्ताको योगदान थियो । लाखौं कार्यकर्ता र समर्थकको रगत र पसीनाको बलमा, हजारौंको शहादतको जगमा, हजारौं घाइतेको समर्पणमा माओवादीको उदय भएको थियो । नेपाली समाजको बेथिति, विकृति र विसंगति देखेर त्यसको विरुद्धमा र जनताको पक्षमा उभिने संकल्पकासाथ संघर्ष र लडाइँको बाटो रोजेका गौरीशंकर खड्का एक क्रान्तिकारी थिए । उनी समाजवादी राज्यव्यवस्थाका पक्षधर सामाजिक कार्यकर्ता थिए । उनी न्याय र समानताको पक्षमा दृढतापूर्वक उभिने एक संघर्षशील योद्धा थिए ।

कमरेड राजेन्द्र झापामा मात्र होइन, नेपालको पूर्वी पहाडी क्षेत्रका क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका मार्गदर्शक थिए, अभियन्ता थिए र उनी थिए जनताको पक्षमा दृढताका साथ उभिने सरल, मृदुभाषी, बौद्धिक नेतृत्व । उनी माओवादीभित्रका इमान्दार र दृढनिश्चयी नेता थिए । उनी प्रतिक्रान्तिकारी रवैयाका कट्टर विरोधी थिए । उनी युगौंदेखि जर्जर अवस्थामा रहेका सम्पूर्ण उत्पीडित वर्गप्रति अपार श्रद्धा राख्थे । उनमा संशोधनवादी कार्यदिशाको नाङ्गो रूपप्रति अत्यन्तै घृणा थियो । माओवादी जनयुद्धको मुख्य आधारको रुपमा रहेको जनमुक्ति सेनाको विकास र विस्तारमा उनको ठूलो योगदान थियो । उनले आफूलाई सम्पूर्णरूपमा जनताको मुक्तिका लागि रूपान्तरण गरेका थिए । पूर्वी पहाडमा माओवादी आन्दोलनको जग उनैले हालेका थिए । उनको विशेषता बारेमा उनका हितैषीहरु सटिकरुपमा यसो भन्छन्– उनी तटस्थ र उदासीन दर्शक जस्तो कहिल्यै बनेनन् ।

गौरीशंकर खड्का

जब उनले राजनीतिकर्मी बनेर अन्यायको विरोध गर्ने निर्णय गरे, तबदेखि उनलाई दुःखले श्रृङ्खलाबद्ध रुपमा पछ्याइरह्यो । उनी भन्थे– ‘सामाजिक र सचेत प्राणीको रुपमा मानिस सधैँ समाजमा घटेका घटनासँग प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएको हुन्छ ।’ राज्यलाई हरेक नागरिकले कर तिरिरहेको हुन्छ र राज्यका हरेक गतिविधिका बारेमा टिप्पणी गर्ने र त्यसमा समर्थक वा विरोधीका रुपमा सरिक हुने उसमा अधिकार हुन्छ ।

क. गौरीशंकर माओवादीका पूर्वी क्षेत्रका एक सुयोग्य, दक्ष, क्षमतावान, कर्तव्यनिष्ठ र कुशल नेता थिए । उनी हार्दिकता र सरलताका धनी थिए । उनी युगबोध भएका सफल र असल नेता थिए । उनीप्रति सदैव प्रशासनको बक्रदृष्टि थियो । उनमा अति नै मानवीय संवेदना थियो र यसैका कारण उनी उत्पीडित र शोषितको सेवाका लागि तयार हुन्थे । संघर्ष र लडाइँको आगोबाट गुज्रे उनी । उच्च बलिदानका कीर्तिमानहरु खडा गर्दै माओवादीले तीव्र विकास गर्न गौरीशंकर जस्ता समर्पित कार्यकर्ताका कारण सम्भव भएको थियो । उनले जहाँ–जहाँ न्यायका लागि संघर्ष गरे, त्यहाँका स्थानीय जालीफटाहाले उनलाई दुःख दिए । तर, सुन घोटिएर चम्के झंै उनको प्रतिभा चम्किँदै गयो र उनको लोकप्रियता पनि बढ्दै गयो । उनले लोकप्रियताको आकाश चुमे, प्रसिद्धिको सगरमाथा टेके । उनको क्षमता बुझेकै कारण पार्टी केन्द्रले पनि उनलाई विशेष जिम्मेवारी दिएको थियो ।

गौरीशंकरको समानतावादी तथा समतावादी आचरण र व्यवहार आजका क्रान्तिकारी हौं भन्नेहरुले प्रदर्शन गरेनन् भने समानता र समताको पक्षधर भएको ओंठे भक्तिको कुनै अर्थ शेष रहने छैन । उनले सदैव वर्गीय उत्पीडन विरोधी मानवतावादी चिन्तनको पक्षपोषण गरे । त्यो अजम्मरी सपना उनका युगीन चेत बोकेका राजनीतिक प्रशिक्षणमा र उनका कार्यशैलीमा अभिव्यक्त भएका थिए । अहिले उनी हामीसामु छैनन् । राजनीतिक योद्धाको रुपमा उनी एक अमर र प्रेरक कथा बनेका छन् अग्रगामी सोच राख्नेका लागि । समाज र राज्यका बेथितिका विरुद्ध वैकल्पिक कित्ताबाट आवाज उठाउन त्यति सजिलो हुँदैन । उनी क्रान्तिप्रतिको नैष्ठिक अध्येता थिए । उनको बौद्धिकता, अध्ययनशीलता, सरलता र गरीब तथा निमुखा जनताप्रतिको पक्षधरताका कारण नै उनी प्रसिद्धिको यो उचाइमा पुग्न सकेका थिए । उनकोे व्यक्तित्व यति निख्खर थियो कि आम झापाली जनताले उनको वर्गपक्षधरता, क्षमता, कामप्रतिको लगाव, तथ्यपरकता, गतिशिलताको प्रशंसा गरेका थिए र गरिरहनेछन् ।

गरीब, दुःखी मेहनतकश जनताको पक्षमा किन उनले वकालत गरे भन्ने प्रश्नमा उनले भनेका थिए– ‘हुन त म खानलाउनलाई दुःख नभएको परिवारबाट आएको हुँ । तर, समाजमा व्याप्त असमानता, शोषण र विभेदले पीडामा बाँचिरहेका दुःखीको लागि केही गर्न सक्नुपर्छ भनेर म राजनीतमा लागेको हुँ ।’ राम्रा र चिल्ला कारमा हुँइकिने धनीहरुको शानशौकत र वेरोजगार हुने र काम पाउँदा पनि भोकले मर्नुपर्ने निर्दयी दरिद्रहरु बीचको असमानतालाई ठीक भन्न नसकिएको कारणले आफू कम्युनिष्ट पार्टीमा लागेको उनको भनाइ थियो । उनले यो कुरा कुनै किताब वा धर्मशास्त्र पढेर बुझेको होइन, किसान, मजदुर र उत्पीडितले रगतपसिना बगाएर कमाएको सम्पत्ति किन धनी मानिस जो काम गर्दैन उसकोमा जान्छ र काम गर्ने किन पीडामा मर्नु पर्छ भन्ने प्रश्न उनको मनमा सधैँ आइरहेको उनी बताउँथे ।

अहिले तत्कालीन नेकपा माओवादीको विरासत दावा गर्ने हालको नेकपा माओवादी केन्द्र के आज कमरेड राजेन्द्रको आदर्शको गोरेटोमा छन् ? उनको जस्तो सरलता, विनम्रता, जनतासँगको घुलनशीलता आज एकादेशको कथा झैं भएको छ माओवादीको लागि । कमरेड जनयुद्धका रचनाकार थिए, संवाहक थिए र क्रान्तिका प्रत्यक्षदर्शी थिए । त्यसैले त मेहनतकश जनता उनलाई श्रद्धाका साथ आज पनि स्मरण गर्छन् । झापाको वामपन्थी आन्दोलनमा धेरै नेता र कार्यकर्ता जन्मे, सांसद, मन्त्री र प्रधानमन्त्री समेत भए, तर आम झापाली जनताका हृदयमा द्रोणाचार्य क्षेत्री छन्, डी. कौडिन्य र गौरीशंकर खडका छन् । जनताको ढुकढुकीमा बस्नका लागि जनपक्षधरता र घुलनशीलता पनि आवश्यक पर्छ । जनताको घरदैलोमा पुगेर, उनीहरुसँगै बसेर एकछाक खाना खान सक्नुपर्छ । देखावटी जनपक्षधरताको कुनै अर्थ हुन्न ।
अदम्य साहस, प्रष्ट विचार, क्रान्तिप्रतिको समर्पण र असीमित ऊर्जा भएका गौरीशंकर जनताका आँखाका नानी थिए । युद्ध मानवताविरोधी र क्रुर हुन्छ । तर, उनी कोमल हृदय भएको, सरल मानिस भएर पनि किन युद्धमा होमिए ? उनले भनेका थिए– ‘मलाई थाहा छ युद्ध के हो ? सामन्ती र पुँजीवादीहरुले चलाएको युद्ध आफ्नो वर्गस्वार्थ रक्षाका लागि हुन्छ । तर, यो युद्ध त जनताका हितका लागि गरिएको युद्ध हो । यो न्यायपूर्ण युद्ध हो । सर्वहाराका सामु अन्य विकल्प नभएपछि खुनी सत्ताको विरुद्धमा हतियार उठाएको हो ।’ युद्धपछि मानिसहरु कम सहनशील हुनेछन्, कम मित्रवत् हुनेछन् । तर, क्रान्तिकारीहरु उत्पादन सम्बन्धमा फेरबदल आएपछि सामाजिक, राजनीतिक रुपान्तरणलाई संस्थागत गर्न लाग्छन् । त्यसको ठीक उल्टो युद्धपिपासुहरु सामान्य मानिसको रगत नसिद्धिञ्जेलसम्म शोषण, दमन र जालझेललाई जारी राख्नेछन् भनेर उनले भनेका थिए । वास्तवमा जनयुद्धको आडमा भएको १९ दिने जनान्दोलनको जगमा प्राप्त जनमतलाई माओवादीले संस्थागत गर्न सकेन र जनअपेक्षामाथि तुषारापात हुन पुग्यो । अभिमान, अहम् र व्यक्तिगत स्वार्थले वशिभूत पारेपछि सगरमाथा जस्तै प्रतिष्ठा गिर्न कति बेर लाग्ने रहेछ र !

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन लगायत विश्व इतिहासको गहिरो अध्ययन गरेका गौरीशंकर क्रान्तिका प्रतीकका रुपमा मानिन्छन् । परिवर्तनका पक्षधरका लागि उनी एक बिम्ब हुन् । बोनम्यारो क्यान्सरका कारण उनको निधन भएको थियो । उनले छोटो जीवन एक क्रान्तिकारी विचारकको रुपमा, नेतृत्वको आसनमा बसेर काशन ठोक्ने नेता होइन मैदानमा खटिने एक योद्धाको रुपमा र परिवर्तनका पक्षधरका लागि एक नायकको रुपमा बिताए । गरिबी, शोषण, अन्याय र अत्याचार विरुद्धमा सामन्ती र पुँजीवादी शोषणमा आधारित राज्यसत्तालाई विस्थापित गरी जनताको राज्यसत्ता स्थापना गर्ने उनको लक्ष्यबाट हामी विमुख भएका त छैनौ, एक पटक सबैले आत्मालोचना गरी समीक्षा गर्न जरुरी छ । उनी कम्युनिष्ट विचारका नाममा आउने संशोधनवादी प्रवृत्ति र प्रतिक्रियावादी राज्यव्यवस्थाका विरुद्धमा संघर्ष गरेर मात्र जनताको राज्यसत्ता निर्माण गर्न सकिनेमा विश्वास गर्थे । झापाका सुपरिचित जनप्रतिनिधि समेत चुनिएका गौरीशंकर खडकाको सिद्धान्तनिष्ठता, सरलता, जनपक्षधरता र समस्त मानवजातिका लागि समानतापूर्ण समाज निर्माण गर्ने समर्पित भावनाले जनताका लागि राजनीति गर्ने सबैका लागि प्रेरणा दिइरहनेछ । कमरेड गौरीशंकर खडकाका अनुशरणीय गुणहरु बिरानो देशका अपरिचित मानिसका कहानी जस्ता नबनून् ।

गठबन्धन सरकारको मुख्य साझेदार भएर सत्तारूढ दलको आसनमा बसे पनि माओवादीको सामुन्ने फेरि सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुन सजिलो छैन । सुन्दा नमीठो लागे पनि र पढ्दा तीतो लागे पनि क. राजेन्द्रजस्ता इमान्दार, जनप्रिय कार्यकर्ता र नेताको आदर्शलाई भुलेकै कारणले माओवादीको आजको अवस्था आएको हो । नेपाली कांग्रेसको बैशाखी टेकेर माओवादीको आफ्नो वर्चश्व कायम हुने छैन । आफ्ना मार्गचित्रलाई असरल्ल बिस्कुन झैं छरेर जनसमर्थन प्राप्त गर्न माओवादीका लागि त्यति सहज हुने छैन । निष्कर्षमा भन्न सकिन्छ– आफ्ना विगतका कमी–कमजोरीलाई नसच्याउने हो भने माओवादीको ओरालो यात्रा रोकिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here