‘लाखौंको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’

0
623

कला र संगीतमा कति धेरै तागत हुन्छ भन्ने कुरा सबैले राम्रोसँग बुझेका छौं । तर, नेपालमा धेरै कलाकर्मीहरुलाई राज्यले गर्नुपर्ने दायित्व निर्वाह गरेको पाइन्न । चुलो र चौकामा सिमीत आमा–दिदी–बहिनीलाई राजनीतिक चेतनाको बिगुल फुक्दै आफ्नो अधिकारका लागि अघि बढ्न प्रेरणा प्रदान गर्ने जनगायक जेबी टुहुरे अस्ताएका छन् ।
आमा–दिदी–बहिनीको मुक्तिका लागि गीतबाटै आवाज उठाउने एउटा छोरो संसारबाट बिदा लिइरहँदा धेरैले उनले गाएका गीतहरु सम्झिएका छन् । टुहुरे जनवादी गायक हुन्, जसले समाजमा महिलामाथि हुने विभेदविरुद्ध आवाज गीतबाट उठाए–

‘आमा–दिदी–बहिनी हो,
कति बस्छौ दासी भई,
सुखको सधैँ प्यासी बनेर ।’

उनको यो गीतले धेरै आमा–दिदी–बहिनीमा चेतनाको बिगुल फुक्दै आफ्नो अधिकारका लागि अघि बढ्न प्रेरणाको स्रोत बन्यो । तिनै जनगायकलाई भदौ १० गते बिहीबार अन्तिम बिदाइ गर्नुप¥यो । जन्म र मृत्यु शास्वत सत्य हो । तर, जन्मेपछि उसले गर्ने कर्मले उसलाई बचाउने वा मृत्यु स्वभाविक प्रक्रिया हो भन्ने बनाउने गर्दछ । जुठबहादुर खड्गी उनको नाम हो । तर, पहिचान चाहिँ टुहुरे मात्रै भन्न पुग्यो । क्रान्तिका लागि गीतमार्फत् जागरण फैलाउने टुहुरेको एउटै गुनासो हुन्थ्यो– ‘क्रान्तिपछि सत्तामा पुगेकाहरुले गरीब निमुखालाई बिर्सिए ।’

७७ वर्षका पूरा भएका टुहुरे लामो समयदेखि बिरामी थिए । रोगसँग लडिरहँदा पनि उनलाई एउटै चिन्ताले सताउँथ्यो– नेताहरुले जनतालाई भुले । उनले जनताले गरेको क्रान्तिबाट सत्तामा पुगेकाहरुले जनताको निम्ति केही नगरेको गुनासो गरिरहे । २०२६ सालमा देशमा पञ्चायत राज चलिरहेको बेला गीत संगीत मार्फत पञ्चायत विरोधी आवाज घन्काएका थिए २६ वर्षकै उमेरमा–

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ
लाखौँको लागि उजाड छ यो देश,
मुठीभरलाई त स्वर्ग छ’

पञ्चायतविरुद्धको उनको यो गीत गाउँ–गाउँमा गुञ्जियो । भूमिगतरुपमा गाउँ–गाउँमा हुने कार्यक्रममा गुञ्जिने गीतको आवाज पीडित जनताको आवाज बन्यो । जनताको गीत गाउँदै हिँड्दा उनले कहिले प्रहरीको कुटाइ खाए त कहिले जेल बसे । जीवन चलाउन कहिले पुस्तक बेचे, कहिले खाना, खाजा र सुगाको व्यापार गरे । तर, जनताका गीत गाउन कहिल्यै छाडेनन् । उनलाई माओवादीका तर्फबाट संविधानसभा सदस्य समेत बनाइयो ।

टुहुरे जनवादी गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा सक्रिय थिए । अहिले सत्तामा रहेका, सत्ता बाहिर रहेका, सत्ताको चास्नी चाखिरहेका र चाखिसकेका सबैका लागि जनता बटुल्नका लागि गीत गाइदिएका छन् उनले । तत्कालीन एमाले नेता मदन भण्डारीसँगै हुन्थे टुहुरे । टुहुरेले गीत गाउँथे, मदनले भाषण गर्थे । उनको साथमा हिँडेका नेताहरु कति सत्तामा पुगे । तर, टुहुरे अन्तिमसम्म टुहुरे नै रहे । सत्तामा पुगेपछि नेता बदलिए । जनताको जीवन बदलिएन्– उनको एउटै गुनासो हुन्थ्यो ।

सत्तामा गरीबको प्रतिनिधित्व गर्ने भनिएका कम्युनिस्टहरु दुई तिहाईका साथ आसिन हुँदा गरीबहरु ज्यान बचाउनका लागि कोरोना कहरको समयमा भएका लकडाउनमा भोकभोकै राजधानी बाहिरिँदा उनले गाएको गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’ भने झैं भएको थियो ।जीवनको उत्तराद्र्धमा पुग्दा औषधि मूलो गर्ने पैसा नभएर टुहुरे भौतारिए । उनको साथमा हिँडेका नेताहरु सत्तामा पुगे । हिजो आन्दोलन गर्दा ती नेताको जत्तिकै पसिना र रगत टुहुरेको पनि बगेको थियो । तर, उनका पसिनाहरु बालुवामा बिलाए ।

भदौ १ गते मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका उनको चर्चित गीत ‘आमा, दिदी, बहिनी हो’ को सिर्जना–सन्दर्भ पनि धरानसँग जोडिएको छ । २०१९ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराए । उनको पहिलो रेकर्डेड गीत ‘हा हा काली, हा छैन नि माली हा…’ थियो । उनका करिब एक सय ५० वटा गीत रेकर्ड भएका छन् । जनताको गीत गाएका जनगायकलाई राज्यले चिन्न नसक्नु दुर्भाग्य हो । त्यसैले अब टुहुरे मात्र होइन, कोही पनि कलाकर्मीहरुले राज्यले केही नगरेको अनुभूति गर्न नपरोस् । त्यसतर्फ बेलैमा ध्यान दिएमा राष्ट्रका गहनाको उच्च सम्मान हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here