कोरोना प्रभाव र पुस्तकालय दिवस

0
806

हरेक वर्ष भदौ १५ गते नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालमा १९६९ भदौ १५ गतेबाट पुस्तकालय सेवा प्रारम्भ भएको हो । सो दिनलाई ऐतिहासिक उपलब्धिको रुपमा स्मरण गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो ।

नेपालमा विधिवत्रुपमा पुस्तकालय दिवस मनाउन थालेको १३ वर्ष पूरा भएको छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससँगै विभिन्न पुस्तकालयले १५ भदौलाई उत्सवका रुपमा लिन थालेका छन् । शिक्षित नागरिक र समृद्ध राष्ट्र निर्माणका लागि संस्थागत रुपमा पुस्तकालय स्थापना गरिएको पाइन्छ । पुस्तकालय दिवसलाई ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिने गरिएको छ । यसलाई केवल नारामा सीमित नगरी पाठक, शिक्षक, विद्यार्थी लेखक लगायत आमनागरिकले आदरपूर्वक सम्झने दिनका रुपमा स्थापित गराउनु पर्दछ ।

पुस्तकालय ज्ञानको भण्डार पनि हो । पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौं । त्यसैले पनि यो दिवसको महत्व बढेको छ । पढाई मानव जीवनको महत्वपूर्ण कुरा हो । जसले जीवन परिवर्तन गर्न सक्दछ । किताब विनाको जीवन निरर्थक हुन्छ । जुसले ढुङ्गे युगको स्मरण गराउँछ । आज समाजमा सामाजिक, सांस्कृतिक, प्राविधिक जति पनि विकास भएका छन्– त्यसमा पुस्तकको ठूलो हात छ, हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिले पुस्तकको अनुहार पनि देखेका छैनन्, यस सन्दर्भमा पुस्तकालय दिवसको लक्ष्य हरेक व्यक्तिको हातमा पुस्तक हुनु र त्यसको महत्व बुझाउनु हो ।

‘पुस्तक’ र ‘आलय’ मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ । पुस्तकालय भनेको पुस्तकको भण्डार हो भन्न सकिन्छ । हामीले पुस्तकालयमा विभिन्न किताबहरु पाउन सक्छौं, कतिपय मानिले घरमै पुस्तकालय बनाएका हुन्छन् । आज मानिसहरु समयलाई उपयुक्त तरिकाले उपयोग गर्नका लागि किताबहरु पढ्ने गर्दछन् । पुस्तकालयको धेरै महत्व रहेको छ । पुस्तकालय ज्ञानको सागर हो । हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न सक्यौं भने लक्ष्य प्राप्ति गर्न सक्छौं । यसले हाम्रो मानसिक विकासमा साथ दिन्छ । पुस्तकालयको महत्व मानिसका लागि समय झैं महत्वपूर्ण हुन्छ ।

नेपालमा पुस्तकालयको शुरुवात एक सय ४७ वर्ष पहिले तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा भएको मानिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बखतमा हराएका राज्यहरुका महत्वपूर्ण दस्तावेजहरुलाई संकलन गरेर आफ्नो दरबारमा राख्ने गर्दथे । पछि उनका नाति गीर्वाणयुद्धविक्रम शाहले ती दस्तावेजहरुको संरक्षण गरे एक सय चार वर्षीय राणाशासनले जनतालाई शिक्षाबाट वञ्चित गरायो । नेपालमा स्थापना भएको पहिलो कलेज हो– त्रिचन्द्र कलेज । जसको स्थापना सन् १९१८ मा भएको थियो । यसको मुख्य उद्देश्य भनेको राणा परिवारलाई अंगे्रजी शिक्षा दिनु थियो । त्यस बखतसम्ममा केही विद्यालयहरु स्थापना भए पनि विश्वविद्यालय शिक्षाको प्रणाली र पद्धतिको विकास भइसकेको थिएन ।

सन् १९३० मा महाकवि लक्ष्मीप्रसाद देवकोटासहितको समूहले सरस्वती सार्वजनिक पुस्तकालय स्थापनाको अनुमति मागेर सरकारमा निवेदन गरे । तर, राणा शासकहरुले उनीहरुलाई कारवाही ग¥यो । केहीलाई सय रुपैयाँ जरिवाना गरी छाड्यो भने बाँकीलाई लामो समय जेल हाल्यो । समय क्रमसँगै राणा र पञ्चायती शासनको पतन भयो र बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्थासँगै शिक्षाको क्षेत्रमा नयाँ लहर आयो र विभिन्न स्थानमा पुस्तकालयको स्थापना भयो ।

सन् १९५० देखि १९६० को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । सन् १९६० मा निरंकुश राजतन्त्रको शुरुवातसँगै सामुदायिक पुस्तकालयहरुलाई निरुत्साहित गरियो । सन् १९९० मा निरंकुश राजतन्त्रको अन्त्यसँगै पुनः सामुदायिक पुस्तकालयहरुले गति लिन थाले । यद्यपि, नेपालमा हालसम्म पनि पुस्तकालय सम्बन्धी आवश्यक नीति–नियम र अनुगमन गर्ने सरकारी निकाय नभएकाले देशभर कति पुस्तकालय सञ्चालनमा छन् भन्ने यकिन तथ्यांक छैन । नेपालका अधिकांश पुस्तकालय नियम, पद्धतिको अभाव, तालिम प्राप्त जनशक्तिको अभाव लगायतका समस्याबाट गुज्रिरहेका छन् । थोरै मात्र पुस्तकालयले आवश्यक सेवा–सुविधा उपलब्ध गराउन सकेका छन् ।

नेपालमा पुस्तकालयको इतिहास केलाउँदा नेपालकै ठूलो पुस्तकालयको रुपमा परिचित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको बारेमा पनि चर्चा गरिनु आवश्यक छ । यो पुस्तकालयको स्थापना सन् १९५९ मा भएको हो । करिब एक हजार दुई सय पुस्तकबाट शुरु भएको यो पुस्तकालयमा हाल करिब चार लाखभन्दा बढी पुस्तक छन् भने त्रिविका आंगिक क्याम्पसहरुमा एक लाखसम्म पुस्तकहरु भएको पुस्तकालयहरु छन् । जसले विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी र शिक्षामा रुची राख्ने सबैलाई सेवा प्रदान गर्दै आएको छ । शैक्षिक गुणस्तरमा अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ समयको माग अनुसार त्रिविले पुस्तकालयलाई डिजिटलाइजेसन समेत गरेको छ ।

सूचना र प्रविधिमा भएको तीव्र विकाससँगै त्रिविले केन्द्रीय पुस्तकालय लगायत आंगिक क्याम्पसमा समेत इ–पुस्तकालय सञ्चालनमा ल्याएको छ । एक शिक्षा केन्द्रित निःशुल्क खुल्ला डिजिटल पुस्तकालय हो– इ–पुस्तकालय । यसले हजारौं पुस्तकहरु, शैक्षिक भिडियोहरु, अडियो पुस्तक, सन्दर्भ सामग्री र अन्तरक्रियात्मक अध्ययन सफ्टवेयर समावेश गर्दछ । त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसले पनि २०६७ बाट इ–पुस्तकालय सञ्चालनमा ल्याएको छ । जस अनुसार जोस्टर र प्रोजेक्ट म्युज इरीसोर्स खरिद गरी सेवा प्रदान गरिरहेको छ ।

मेची बहुमुखी क्याम्पसले बढ्दो प्रविधिको उच्चतम् प्रयोग र पाठकलाई सहज होस् भन्ने उद्देश्य राखी २०६७ सालदेखि इ–पुस्तकालयको थालनी गरेको छ । इन्टरनेटको माध्यमबाट क्याम्पसले भित्र्याएका हरेक शैक्षिक कार्यक्रमहरुसँग मेल खाने गरी बजारमा उपलब्ध नभएका तर इन्टरनेटको माध्यमबाट पढ्न सकिने प्रविधिलाई अनुशरण गर्नका लागि नेलिकको सदस्यता लिएसँगै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा भएका फ्रि वेशका अनलाइन रिसोर्सहरु बाहेक गत आर्थिक वर्षबाट जोष्टर र प्रोजेक्ट म्यूजको इरीसोर्स खरिद गरी सेवा प्रदान गरिरहेको छ । जसको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा रहेका त्रिभुवन केन्द्रीय पुस्तकालयमा भएका फ्रि वेशका अनलाइन रिसोर्सहरु बाहेक मेची बहुमुखी क्याम्पसको इ–पुस्तकालयमा पाउन सकिने व्यवस्था गरेको भए पनि पठन शैलीको विकासका लागि अझै जनचेतना जगाउनुपर्ने अनुभूति भएको छ । यसले खोजमूलक शिक्षाको कमी भएको प्रष्ट गराउँदछ ।

हाल आएर कोरोना संक्रमणको प्रभावका कारण सार्वजनिक पुस्तकालयमा बसेर पढ्ने पाठकलाई भौतिकरुपमा पठनपाठन गर्न र आफ्नो रुची अनुसारको कुनै पनि पुस्तक पढ्न नपाएको अवस्थामा त्रिविका आंगिक क्याम्पसहरुमा भने प्रोक्वेष्ट र रिमोटटेक्सको माध्यमबाट मल्हमपट्टी लाउने काम भएको छ । तर, इन्टरनेटको पहँुच नहुँदा यो सेवा लिनबाट पनि वञ्चित नै हुनु पर्छ । यस समयमा अनलाईन शिक्षालाई विकास गर्न सक्ने सम्भावना र अवसरहरु पर्याप्त छन् । त्यसैले कोरोना संक्रमणको विभिन्न लहरसँगै शैक्षिक संस्थाहरुले आफ्नो अनलाइन शिक्षाको मोडल विकास गरी लागू गरिसकेका छन् ।

कोरोना प्रकोपको यो संकटपूर्ण समयमा पनि शैक्षिक संस्थाले आफ्ना शिक्षकहरुलाई सिकाउने र विद्यार्थीहरुलाई अनलाईन शिक्षा प्रदान गर्न जरुरी भई त्यसको प्रयोग नै भइसक्यो जसले मानिसहरुलाई शिक्षा प्रदायक प्रविधि प्रयोग गर्न र यसका फलदायी पक्षको नतिजा हेर्न प्रेरित गर्नेछ । साथै यो प्रविधिले आश्चर्यजनक आविष्कारहरु र विविधतापूर्ण डिजिटल विकासमा फड्को मारेको छ । अझ यसको प्रभावकारी प्रयोग ल्याउन मुख्यतः तीन वटा चुनौतिलाई अवसरमा परविर्तन गर्नुपर्ने देखिन्छ–

१) इन्टरनेटमा पहँुच
२) सही प्रविधि र
३) सो प्रविधि प्रयोगका लागि सीप र तालिमहरु प्रदान गर्ने ।

यति भयो भने कुशल नीति, पब्लिक प्राइवेट पार्टनरसीप, जनविश्वास र सरोकारवालाको इमान्दारीपूर्ण सहयोग भयो भने नेपाल जस्तो एउटा सानो मुलुकले पनि विश्वलाई शिक्षामा एउटा नमूना पेश गर्न सक्छ । कोरोनाको लहरलाई हेर्ने हो भने यी जटील चुनौतिलाई सामना गरेर अगाडि बढ्नु बाहेक हामीमा विकल्प छैन । त्यसैले १४औं पुस्तकालय दिवसको उपलक्ष्यमा पुस्तकालयमा बसेर पढ्ने वातावरण कोरोनाले दिएन । तर, आफ्नो घरमा बसेर पढ्ने बानीको विकाससँगै हामी सबैको प्रांगिक उन्नयन होस् शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here