झापामा ४९३ जनप्रतिनिधिमध्ये सात जना समाजवादीमा

0
881

पार्थ मण्डल,भद्रपुर ।

नेकपा एमालेबाट निर्वाचित झापाका सात जना जनप्रतिनिधिले एमाले पार्टी परित्याग गरी माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा ७२३ जनप्रतिनिधि मध्ये ४९३ एमालेबाट जितेका छन् । भदौ १८ गतेसम्म एक जना जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी रोजेकामा मंगलवार अन्तिम दिन थप ६ जनाले समाजवादी रोजेको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालले जानकारी दिए ।

एकीकृत समाजवादी रोजेर सनाखत गर्नेहरूमा जिल्ला समन्वय समिति झापाका सदस्य पदम लिम्बू, शिवसताक्षी नगरपालिका –७ का वडाध्यक्ष नवीन इजम, झापा गाउँपालिका– ७ नम्बर वडा सदस्य ईश्वरी दाहाल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा नगरपालिका– ६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका –३ का वडा सदस्य होम दुलाल र भद्रपुर नगरपालिका– ९ का वडा सदस्य कुन्जा रुचाल रहेको बुझिएको छ ।

वडा सदस्य दाहालले भदौ १८ गते र बाँकी ६ जनाले मङ्गलवार जिल्ला निर्वाचन कार्यालय झापा पुगेर समाजवादीमा सनाखत गरेका हुन् । ओलीको गृहजिल्लामा माधवको एकीकृत समाजवादीमा जनप्रतिनिधि शून्य बनाउने सोमबारसम्म सबैतिरबाट सक्दो प्रयास भए पनि त्यो सफल हुन नसकेको समाजवादी रोजेका वडा अध्यक्ष इजमले बताए । एमालेका संस्थापक पक्षहरूले विभिन्न जालझेल गरेर अघि बढिरहेकोले १० बुँदे सम्झौतालाई पनि पत्याउन नसक्ने अवस्थामा पुगेर आफूले एकीकृत समाजवादी रोजेको वडा अध्यक्ष इजमले बताए ।

केपीको गृहजिल्लामा माधवको समाजवादी कमजोर

नेकपा एमालेमा माधवकुमार नेपाल रहँदासम्म झापामा उनीनिकट जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको सङ्ख्या राम्रै थियो । माधवले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि ओलीको गृहजिल्लामा उनीनिकट जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कहाँ लाग्ने हुन् चासोको विषयमा बनेको थियो । तर, अन्तिम समय आएर माधव पक्षका जिल्लाकै चर्चित नेता तथा पालिकाका प्रमुख र उपप्रमुखहरूले पनि उनको साथ छाडेका छन् ।

जिल्लामा सात जना जनप्रतिनिधिले मात्र उनलाई साथ दिएका छन् । जसले गर्दा जिल्लामा एकीकृत समाजवादी कमजोर देखिएको हो ।

दल दर्ताका लागि निवेदन पेश गर्दा एकीकृत समाजवादीमा झापाबाट केन्द्रीय सदस्यमा रवीन कोइराला, नरेश खरेल र भाष्कर काफ्लेको नाम समावेश भएको थियो । तर, उनीहरू सबै विभाजित पार्टीमा नरहने घोषणा गर्दै एमालेमा फर्किएका छन् । तत्कालीन नेकपा फुटेपछि ती नेताहरू माधव पक्षमै उभिएका थिए । गत वैशाखमा तीनै जना नेताले जिल्लामा एमालेको समानान्तर कमिटी समेत बनाएका थिए । त्यसमा पवित्रा खरेल (निरौला) पनि थिइन् ।

उनले पनि माधवको साथ छाडेकी छिन् । पार्टी विभाजनसँगै नेताहरू कोइराला, खरेल, निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि अधिकांश जनप्रतिनिधिहरू पनि माधवतर्फ लाग्न चाहेनन् । झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ । प्रदेशसभामा एमालेका ९ जनाले जितेका छन् । प्रतिनिधिसभामा अध्यक्ष ओलीसहित एलपी साँवा लिम्बू र पवित्रा निरौला खरेल प्रत्यक्षतर्फबाट, कुमारी मेचे र विमला विक समानुपातिक सांसद हुन् । उनीहरू पाँच जनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै खुलेर लागेका छन् ।

झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका छन् । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एक जना गाउँपालिका अध्यक्ष, चार जना उपाध्यक्ष छन् । जिल्ला समन्वय समितिका उपाध्यक्ष मीना पराजुली, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा (प्रसाईँ), भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल माधवनिकट रहेका थिए ।

पार्टी विभाजनपछि उनीहरू पनि माधवको साथ छाड्दै संस्थापन पक्ष एमालेमै फर्किएका छन् । यता वेदराज रेग्मी जिल्लामा एकीकृत समाजवादीको नेतृत्व सम्हाल्दै पार्टी सङ्गठन निर्माण र विस्तार अभियानमा लागीपरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here