सङ्खुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक, खुलाए यस्तो रहस्य

0
1064

संखुवासभा,

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

कार्की आफैंले ६ जनाको हत्या गरेको स्वीकारेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मारेको स्वीकारेका छन् । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हेपेर बोली ब्यवहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताइएको छ ।

तेजबहादुरको हत्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको हत्या गरेको उनले स्वीकारेका हुन् ।

को हुन लोकबहादुर कार्की ?

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेका थिए । स्थानीय चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्ष दिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि उनी १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएका थिए । त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएका थिए, कार्की ।

कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘मरेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहीँ पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भने ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाईसहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । हत्या गरिएको तेजबहादुरको घरमा उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो ।

उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् । लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीय पार्वता, ५८ वर्षी ठुलो बुवा तेजबहादुर, ५२ वर्षी ठुली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ बर्षीय भतिजेनी गोमा कार्कीको हत्या गरेका थिए ।

हत्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएको जस्तो देखिने हतियारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो ।-नेपाली पब्लिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here