नेपाली कांग्रेसमा युवा पुस्ता

0
568

नेपालको पुरानो मध्येको प्रमुख पार्टी नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको तयारीमा छ । मुलुकका धेरैजसो वार्डका अधिवेशन तथा क्षेत्रीय प्रतिनिधि छनौटको काम सर्वसहमति वा लोकतान्त्रिक विधि अन्तर्गत चुनावको माध्यमबाट सम्पन्न भइसकेको छ भने बाँकी वार्ड, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रका अधिवेशनहरु गरिने मिति तय भइसकेको छ । अन्य पार्टीमा जस्तै युवा नेतृत्वको प्रश्न नेपाली कांग्रेसमा पनि यो महाधिवेशनमा उठिरहेको छ र यसले राष्टूव्यापी बहस सृजना गरिरहेको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि सदैव युवाको त्याग र बलिदानलाई उच्च मूल्यांकन गर्न आवश्यक छ । नेपालका राजनीतिक आन्दोलन र परिवर्तनका मोर्चाहरुमा युवाको त्याग र बलिदानका आश्चर्यजनक कीर्तिमानहरु जोडिएका छन् । निरंकुश पञ्चायत व्यवस्थाविरुद्धको लडाइँ होस्, दश वर्षे सशस्त्र संघर्ष वा पछिल्लो मधेस आन्दोलन, सबै आन्दोलनमा युवाले आफ्नो व्यक्तिगत जीवन त्यागी राष्ट्रिय स्वार्थको निम्ति हजारौंको संख्यामा शहीद, घाइते तथा बेपत्ता भएको इतिहास ज्वलन्त छ । युवाहरु मुलुकका परिवर्तन र नवनिर्माणका संवाहक हुन् । उनीहरु नेताका भरिया होइनन् । उनीहरु नेता उक्लिने सिँढी होइनन् । समाज विकास निरन्तर गतिमा छ । क्षण–क्षणमा समाज रूपान्तरण भएको छ । समाज रूपान्तरणसँगै समाजका अवयव पनि बदलिएका छन् । समाज बदल्ने साधन राजनीति पनि क्षण–क्षणमा बदलिएको छ ।

यसरी राजनीतिक दर्शनले समयको गति पक्रन सकेकै कारण छिमेकी देश चीन र भारत आज विश्व आर्थिक बजारमा आफूलाई गतिलोरूपमा स्थापित गर्न सकेका छन् । उनीहरु विश्वशक्तिको रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् । अबको विकल्प भनेको ऊर्जाशील, गतिशील, श्रमशील नयाँ नेतृत्व हो । अर्को पुस्तालाई मार्गप्रशस्त गर्नु र उनीहरुलाई सल्लाहसुझाव दिएर असल गोरेटोमा लैजान पुरानो पुस्ताका नेताहरुले साहस गर्नुपर्छ । समाज बदल्ने साधन राजनीति बदलिन आवश्यक छ । राजनीतिशास्त्र धर्मशास्त्र होइन । धर्मशास्त्रमा सृजनशीलताको गुञ्जायस हुँदैन, तर राजनीतिमा सृजनशीलताका लागि प्रशस्त ठाउँ हुन्छ । पुस्तौंपुस्तासम्म पनि अभ्यासमा रहेको १८औं शताब्दीमा प्रतिपादित समाजवादी तथा पुँजीवादी चिन्तन अहिले पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेका छन् । समाजको रूपान्तरणसँगै बदलिएका जनआकांक्षाको सम्बोधन हुन सकेको छैन ।

अब परिवर्तन आत्मसात गर्न सक्ने युवाशक्ति राजनीतिको मुख्य वागडोर सम्हाल्ने ठाउँमा आउनुपर्छ । शिक्षित नयाँ पुस्ता राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाईंमाथि शासन गर्छन् । आजको समय जटिल समय हो । यतिबेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्ने नेतृत्व चाहिएको छ । माओत्सेतुङले भनेका छन्– युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ ।

देश बदल्न सक्ने क्षमता युवासँगै छ भन्ने सच्चाइलाई राज्यले बुझेका दिनमा मात्र मुलुकले कोल्टे फेर्न शुरु गर्नेछ । राजनीतिक क्षेत्रमा पनि युवा नेतृत्व स्थापित हुने हो निश्चय नै मुलुकले काँचुली फेर्ने थियो । धेरै युरोपेली मुलुकहरुमा ५० वर्षमुनिका युवाहरु मुख्य नेतृत्वमा पुगेका छन् । युवाहरु उदाउँदा सूर्य जस्ता हुन्, तसर्थ उनीहरुसँग समाज, मानवजाति र मुलुकको ठूलो अपेक्षा हुन्छ । सोच, चिन्तन, कार्यशैली, कार्यतत्परता र कार्यसम्पादनमै यो कुराले प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । युवा पुस्ताले नेतृत्व गर्न पाउने हो भने मुलुकमा सोच, चिन्तन र कार्यशैलीमा व्यापक फेरबदल आउने निश्चित छ ।
कम्तीमा पनि नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट ५० वर्ष उमेर पार गरेका दोस्रो र तेस्रो पुस्तामा नेतृत्व आउन सके पार्टीको आन्तरिक जीवनमा मात्र होइन, समग्र राष्ट्रको जीवनमा व्यापक रुपान्तरण सम्भव हुने थियो । नेकाका दोस्रो, तेस्रो र चौथो पुस्ताका नेताहरुले आफूलाई नेतृत्वमा उभ्याउन आँट गर्लान् ? युवा नेतृत्व स्थापित गरेर आगामी पार्टीको १४औं महाधिवेशनले नेपाली कांग्रेसको भावी दिनका लागि मार्गचित्र निर्माण गर्ने हो वा होइन, प्रतिक्षाको विषय भएको छ । आज कांग्रेसका समर्थक, शुभेच्छुक र कार्यकर्तामा नेताहरुले वीपीको आदर्श र मार्गदर्शनलाई अनुशरण गर्न नसकेको गुनासो बढ्दो छ ।

वीपी, गणेशमान, कृष्णप्रसाद जस्ता नेपाली कांग्रेसका आदर्श नेताहरु युवा अवस्थामै प्रसिद्धिको चुचुरो चुम्न सफल भएका थिए । आम कार्यकर्ता, शुभचिन्तक र समर्थकको लागि युवा पुस्ताको नेतृत्व स्थापित गर्ने हो भने आम जनतामा आशलाग्दो उज्यालो आउने थियो । तर, पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै पक्ष र विपक्षमा प्रत्यक्ष र परोक्षरुपमा समर्थन र आरोपको श्रृंखला शुरु भएको छ । वास्तवमा नेपाली कांग्रेसमा सामुहिक नेतृत्वभन्दा पनि व्यक्तिवादी नेतृत्व र चरित्रको हावी हुँदै गएको छ ।

यसले पार्टीलाई आक्रान्त पारेको तथ्य स्वीकार गरे पनि नगरे पनि घाम जत्तिकै छर्लङ्ग छ । २०१५ सालको आमचुनावमा दुईतिहाइ र पटक–पटक बहुमत ल्याएर सरकार बनाएको कांग्रेस यतिबेला आफूले लिएका नीति र कार्यक्रमको प्रचार गरेर, कार्यकर्ता र जनतालाई सो बारेमा प्रष्ट पारेर गुमेको शाख फिर्ता गर्न कोशिस गरिरहेको छैन, प्रतिपक्षमा बसेर जनताको पक्षमा बुलन्द आवाज उठाएर अर्को चुनावको तयारी गर्नुको साटो २०७४ सालको निर्वाचनमा जनताले दिएको मतादेश विपरित जोडघटाउ, तानातानको अप्रिय परम्परा शुरु गरेर सत्तासीन हुन पुगेको छ अरुको बैशाखीमा । नकारात्मकताको खेती गरेर जनतालाई आफूतिर आकर्षित गर्न सकिन्न । यो कुरालाई बदलेर आगामी निर्वाचन मार्फत बहुमतको सरकार बनाउन संकल्पसहितको युवा पुस्तालाई अवसर दिनु आवश्यक छ ।

यो महाधिवेशनले २१औं शताब्दी सुहाउँदा जनपक्षीय कार्यक्रम ल्याउन सक्नुपर्छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको भाव के हो र अब मुलुक कुन दिशातिर जान उचित हुन्छ भनेर आत्मसमीक्षा गर्ने युवा नेतृत्व आजको आवश्यकता हो । कांग्रेसले जनअपेक्षित बाटो रोज्न चाहने हो भने विचार उत्पादन र क्रियाशीलताको हिसाबले सबैभन्दा अग्रिम मोर्चामा रहेका युवाहरुलाई नेतृत्वमा ल्याउन सक्नुपर्छ । तर, कांग्रेस यतिबेला सत्ताको लोभमा प¥यो र जनविश्वास गुमाउने मार्गमा अग्रसर भयो ।

पार्टीको आन्तरिक अनेकता र गुटउपगुटको चलखेलको कोपभाजनमा युवा नेतृत्व पर्नु दुःखलाग्दो कुरा हो । महाधिवेशनले पार्टीभित्रको अन्तरघात र बेमेलको अझै सशक्तरुपमा संस्थागत ग¥यो भने नेपाली कांग्रेस आजको अवस्थाबाट पनि तल खस्ने निश्चित छ । गुमेको अस्तित्व प्राप्तिका लागि छ दशकभन्दा बढी समयदेखि लोकतन्त्र र गणतन्त्रका लागि लडेकाका युवाहरु नेपाली कांग्रेसका भविष्य हुन् भन्ने कुरा यस पटक भइसकेका वार्ड इकाइ अधिवेशन र क्षेत्रीय प्रतिनिधिमा युवाको विजयले प्रष्ट पारेको छ । अझ समुन्नत लोकतन्त्र कसरी बनाउने, आधुनिक युगसापेक्ष नीति तथा कार्यक्रमका बारेमा चिन्तन÷मनन गर्न सकेमा मात्र कांग्रेसको भलो हुन्छ ।

नेपाली जनताका लागि नेपाली कांग्रेस भरोसायोग्य राजनीतिक शक्ति बन्न युवा नेतृत्व स्थापित गर्न जरुरी छ । शीर्ष नेतानै गुटबन्दी र व्यक्ति केन्द्रित स्वार्थमा हिँड्दा त्यसको असर तल्लो तहसम्म पुगेको छ । राजनीतिक आरक्षणमा मौलाएको गुन्डागर्दी, भ्रष्टाचार, ठेकेदारी सरुवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदिन वितृष्णा फैलाइराखेको छ । युवा पुस्ता नेतृत्वमा आउनु भनेको कांग्रेसको शुद्धीकरण पनि हुनुपर्छ । कांग्रेसीजनका लागि कांग्रेसको राजनीति भनेको कम्युनिष्टहरुले गरेका कमजोरीउपर छिन्द्रान्वेषण गर्ने र भए÷नभएका कुरा उछालेर हिलो छ्याप्ने वा जनअसन्तुष्टिको तावामा रोटी सेक्ने होइन ।

नेपाली कांग्रेसले सृजनात्मक रुपमा सोचेर आफ्नो इतिहासलाई फर्केर हेर्ने, आत्म–मूल्यांकन र सिंहावलोकन गर्ने युवा नेतृत्वलाई आउँदो महाधिवेशनबाट सबै तहको नेतृत्वमा ल्याउन सके पार्टी र मुलुक दुबैलाई सकारात्मक प्रभाव पार्ने थिए । आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान नेतृत्व आजको खाँचो हो । संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर मात्र मुलुकमा लोकतन्त्र स्थापित भएको हो । यसका लागि युवा नेतृत्व हरेक तह र तप्कामा स्थापित गर्नु आम कांग्रेसीको आजको एक मुख्य कार्यभार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here