पृथ्वी रहे मात्र हामी रहन्छौं

0
570

 

पृथ्वीको माथिल्लो तहमा रहेको रक्षा कवच ओजोन तह हो । त्यसले सूर्यबाट आउने हानीकारक परावैजनी रङ्गका किरणलाई रोकेर पृथ्वीवासी र पृथ्वीको रक्षा गर्दछ । सूर्यबाट आउने उक्त बिखालु किरण सोझै पृथ्वीमा आउने हो भने यहाँका प्राणी मात्र होइन सम्पूर्ण वनस्पति लगायत मानव निर्मित संरचनाहरूको अस्तित्व तत्क्षण समाप्त हुन्छ। मानव सभ्यता र अस्तित्वको रक्षक त्यति महत्वपूर्ण वायुमण्डलको आवरण अहिले मानव गतिविधिकै कारण कमजोर हुँदैछ । चेतनशील भएकै कारण ओजोन तहको सुरक्षा गर्नु मानिसकै मूल दायित्व हो । आज विज्ञान र प्रविधिको विकासले ओजोन तह पातलिँदै गएको छ । वैज्ञानिक खोज, अनुसन्धान, परीक्षण र प्रयोगका नाममा हानीकारक तथा विनाशक तत्व उत्सर्जन हुँदा अनेक विपतहरूको सामना गर्नु परिरहेको छ ।

यही विनाशक परिणाम भोग्नु नपरोस् भनेर वैज्ञानिकहरूले नै ओजोन तहको रक्षा गर्नुपर्नेमा जोड दिन थालेका छन् । मानवीय क्रियाकलाप, अव्यवस्थित औद्योगिकरण तथा अनेक रसायनिक वस्तुको अनियन्त्रित प्रयोगले ओजोन तह पातलिँदै प्वाल पर्ने अवस्थामा पुगेको छ । त्यसलाई टाल्ने, पूर्ववत् अवस्थामा फर्काउने मानिसमा सामर्थ्य छैन । तर, त्यसको संरक्षण, सम्वद्र्धन र यथास्थितिलाई कायम राख्न भने मानिसले अग्रसरता लिनै पर्छ । मानव सभ्यताको सुरक्षाका लागि हानीकारक ग्यासहरूको उत्सर्जनप्रति सचेत हुनै पर्छ । सवारीसाधनबाट, एयर कन्डिसर, बडी स्प्रे, फ्रिज गायिका वस्तुको प्रयोगबाट उत्पन्न हुने ग्यासले, हाम्रा बिलासी जीवनशैली र अति आधुनिक बन्ने भोक अनि लालसाले हामीलाई विनाशको मुखमा धकेल्दैछ छ । स्वयम्का लागि घातक जीवनशैलीका पछि लाग्नु बुद्धिमानी ठहरिन्न । त्यसैले आजका मानिसले आँखा चिम्लेर भौतिक सुविधाको पछि कुद्नुको साटो प्राकृतिक जीवन बाँच्ने बाटो अख्तियार गर्नुपर्छ ।विश्वमा भएका ठूला युद्धहरू, त्यसका लागि निर्माण र प्रयोग गरिएका आणविक हतियार, रासायनिक भट्टीदेखि विनाशका लागि निर्मित तथा प्रयोग भएका वस्तु हुन् वा विज्ञानका उपलब्धी ठानिएका सुविधाका वस्तुहरू हुन् सबैले ओजोन तहमा क्षति पु¥याइरहेका छन् । जसका कारण ओजोन तहमा प्वाल पर्न लागेको अवस्था छ– वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

यही सन्दर्भलाई दृष्टिगत गरी सेप्टेम्बर १६ तारिखलाई ओजोन तह बचाउ दिवसको रूपमा मनाउन थालिएको हो । आज विश्वभर जलवायु परिवर्तनले ल्याएको गम्भीर परिणामको चर्चा हुन थालेको छ। विद्यालय तहदेखि नै वातावरण शिक्षा अध्ययन अध्यापन गराउन थालिएको छ । संयुक्त राष्ट्रसंघले पनि विश्वव्यापी रूपमै जलवायु परिवर्तन र यसले पार्ने असर कम गर्न विभिन्न कार्यक्रम गर्ने गरिएको छ । पृथ्वीको वातावरणीय तहदेखि तीस किलोमिटरमाथि सम्मको तह जसले पृथ्वी र यहाँ रहेका सम्पूर्णताको अस्तित्व रक्षा गरेको छ, त्यसको संरक्षण गर्ने दायित्व मानिसकै हो । आफ्नो विनाशको कारण आफैं हुन नपरोस् त्यसप्रति गम्भीर हुनै पर्छ । हाल व्यापक बन्दै गएको अनेक असाध्य रोग र महामारीका पछाडि वातावरणीय विनाश पनि सहायक छ भन्ने बिर्सन हुँदैन । सूर्य पृथ्वीको जीवन हो, त्यसैले उसको प्रकाशको शुद्धतामा हामीले ध्यान दिनै पर्छ । ओजोनको संरक्षणमा हाम्रो अस्तित्व जोडिएको छ त्यसैले पनि हाम्रा गतिविधि वातावरणमैत्री हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here