बिर्तामोड।

बाह्रदशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमा वडा नम्वर ६ स्थित साधुकाुट्टीमा ‘कञ्चन भ्यू टावर’ निर्माण भइरहेको छ । पर्यटन पूर्वाधार अन्तरगत गाउँपालिकाले १२ करोड रुपैयाँको लागतमा क्रमागत बजेटबाट भ्यू टावर निर्माण गरिरहेको छ ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको राजगढ बजारबाट झापा गाउँपालिकाको पन्थापाडा हुँदै झापा बजार जोड्ने हुलाकी मार्र्ग निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ । यस अघि हुलाकी मार्ग अन्तरगत भद्रपुर– राजगढ सडक निर्माणको काम सम्पन्न भएको छ । जिल्लामा हुँदै गरेका विकास निर्माण सम्वन्धी यि काम प्रतिनिधि मात्रै हुन् । अहिले जिल्लाभर स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको बजेटबाट थ्रुप्रै काम भइरहेका छन् । जहाँ धेरै काम गर्ने मजदुर भने भारतीय छन् ।
विश्व कोरोना महामारीको कहरमा गुज्रिरहेको यो अवस्थामा नेपाल पनि अछुतो छैन । कोरोना कहरकै बीच पनि दैनिक हजारै युवा नेपालमा भनेजस्तो रोजगारी नपाएको भन्दै विदेशिरहेका छन् । तर, नेपालमा नै प्रशस्त रोजगारीको सम्भावना देखेर भारतीय युवा नेपाल प्रवेश गर्दै निर्माणको क्षेत्रमा काम गरिरहेका छन् ।
जिल्लामा सञ्चालित निर्माणका क्षेत्रमा काम गर्नेमध्ये अधिकांश काममा नेपाली भन्दा भारतीय नागरिक नै धेरै भेटिन्छन् । चाहे विकास निर्माणको सरकारी आयोजनाका काम हुन् या निजी क्षेत्रले गरेका विकास निर्माणका काम नै किन नहुन् जहाँ भारतीय मजदुर नै हावी छन् । व्यक्तिको निजी घर निर्माणदेखि, होटल, व्यापारिक मल, अस्पतालका भवन भारतीय मजदुरकै भरमा निर्माण गरिन्छ । यस्ता भवन निर्माण कार्यमा मजदुर मात्र छैनन् ठेकेदार समेत भारतीय नै भेटिन्छन् ।
भारतीय नागरिकले नेपालको निर्माण क्षेत्रमा काम गर्दा श्रम इजाजत लिनुपर्छ । तर, नेपालमा आएका भारतीय निर्माण व्यवसायीले श्रम इजाजत विना नै खुलेआम काम गरिरहेका छन् । मजुरको हकमा स्थानीय पालिकाले उनीहरुलाई सूचीकृत गर्न शुरु गरे पनि निर्माण व्यवसायीको भने पहिचान गर्न स्थानीय सरकार आफै अल्मलमा छ । भवन निर्माण गर्दा भवनसंहिताको परिधिभित्र रही निर्माण गर्नुपर्ने हुन्छ । त्यस्ता भवन निर्माण गर्ने मजदुर तालिम प्राप्त र दक्ष हुनुपर्ने प्रावधान रहे पनि झापामा निर्माणाधीन भवनमा काम गर्ने मजदुर तालिम प्राप्त छैनन् ।
भारतमा भन्दा नेपालमा निर्माणको क्षेत्रमा काम गर्दा धेरै पैसा कमाउन सकिने भन्दै अहिले सयौ भारतीय नागरिक झापाका विभिन्न ठाउँमा हुँदै गरेका विकास निर्माणका काममा भेटिन्छन् । बाह्रदशी गाउँपालिकाको वडा नम्वर ६ स्थित कञ्चन भ्यू टावर निर्माण कार्यमा समेत भारतीय मजदुर धेरै छन् ।
भारतको गिलावारी घर भएका रसिद उलले कञ्चन भ्यू टावर निर्माणका लागि काम गरेको पाँच महिना भयो । उनीसहित गिलावारीबाट धेरै युवा नेपाल प्रवेश गरेका छन् । जसमध्ये केही युवा उनीसंगै काम गर्छन् । अन्य युवा भने छरिएर दक्षिणी झापामा हुने गरेका विकास निर्माणका क्षेत्रमा ठेकेदार र मजदुरको काम गर्दै आएका छन् ।
भारतमा निर्माणको क्षेत्रमा काम गर्दा दैनिक भारतीय रुपैयाँ पाँच सय मात्रै पाउने गरेको तर, नेपालमा ११ सय रुपैयाँ र खान बस्न पाउने भएपछि आफू सहित धेरै युवा भारतबाट नेपाल आएको उनी बताउँछन् । उनी भन्छन्– मसँगै दश जना यहाँ आएका छौं, यहाँ मैले काम गरेको पाँच महिना भयो ।
आफूले विगत चार÷पाँच वर्षदेखि निरन्तर नेपालमा काम गर्दै आएको बताएका उलले भने– ‘भारतमा भन्दा काम गर्न पनि सहज हुन्छ र कमाई पनि राम्रो हुन्छ ।’ उनीजस्तै निर्माणको क्षेत्रमा काम गर्दै आएका सोही ठाउँका मोफिद चिल्लसंग २५ जना युवा नेपाल आएका छन् । उनीहरु पनि विभिन्न ठाउँमा निर्माणकै क्षेत्रमा काम गर्दै छन् ।
मोफिदले यस अघि बिर्तामोडमा निर्माणाधीन धेरै घर तथा अन्य विकासका आयोजनामा मजदुरका रुपमा काम गरे । तर, अहिले उनी आफैं युवाको नेतृत्व गर्दै काममा लगाउन सक्ने भएका छन् । कचनकवल गाउँपालिकाको केचना, पथरीया, बगानबजारमा समेत विकास निर्माणका काम गरिरहेका उनी अहिले कञ्चन भ्यू टावर निर्माणमा नेपाली निर्माण व्यवसायीको सहयोगकीका रुपमा काम गर्दै आएका छन् ।































