बिर्तामोड ।

नेपालीहरुको महान पर्व तिहार नजिकिँएसँगै बिर्तामोड नगरपालिकाको सहयोगमा बिर्तामोड उद्योग वाणिज्य संघले एकदिने बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार बिर्तामोड उद्योग वाणिज्य संघको आह्वानमा गरिएको सरसफाई कार्यक्रममा वाणिज्य संघका पदाधिकारी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सरसफाई अभियानको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले बिर्तामोड नगरलाई स्वच्छ र सुन्दर बनाउन आफैबाट परिवर्तन गर्न जरुरी रहेको बताए । उनले जथाभावी फोहोर फाल्नाले शहरको सुन्दरतामा कमी आउने भन्दै सरसफाई अभियानबाट केही सिक्न अनुरोध समेत गरे ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बिर्तामोडका उद्योगी व्यवसायीलाई जथाभावी फोहोर नपाल्न आग्रह गर्दै व्यवसायीलाई आफ्नो क्षेत्रको सरसफाई आफै गर्न अनुरोध समेत गरे । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अध्यक्ष शिवाकोटीले बिर्तामोडको सरसफाईले यस क्षेत्रको समग्र पहिचान दिने भएकाले फोहोर व्यवस्थापनमा नगरपालिकाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया प्रदेश सदस्य कुमार भट्टराई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन बिर्तामोड नगर प्रमुख शिवाकोटीले झाडु लगाएर गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँएसँगै नगरलाई सफा र सुन्दर बनाउन नगरपालिकासँगको समन्वयमा बिर्तामोड क्षेत्रको सरसफाई गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका प्रवक्ता सञ्जिव घिमिरेले जानकारी दिए । बिर्तामोडबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्न तथा बजार क्षेत्रलाई सधैँ सफा राख्न पनि वाणिज्य संघले सबैमा आग्रह गरेको छ ।

बिर्तामोडमा डम्पिङ साइटको ब्यवस्था नहुदाँ वर्षौदेखि फोहोरको समस्या झेल्दै आउनुपरेको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनले नगरपालिकाले फोहोर ब्यवसथापनमा ध्यान दिनुका साथै जथाभावि फोहोर फ्याल्नेलाई कारबाही गर्नुपर्ने बताए ।
जथाभावि फोहोर फ्याल्दा बिर्तामोडका सडक किनारहरु र्दुगन्धित बन्ने गरेका थिए । सरसफाई अभियान सञ्चालन गरेर नागरिक तथा ब्यवसायीलाई जथाभावि फोहार नफ्याल्न आग्रह गरेको जनाइएको छ ।































