झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

0
629

झापा,

झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा (एमाले)का शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन् ।

झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसक्नुभएका पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पुनः एक कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेद्वार बन्नुहुने भएको छ ।

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । उहाँ यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भइसक्नुभएको हो ।

यसैगरी पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएका अग्नि खरेल, देवेन्द्र दाहाल, रबिन कोइराला, हिक्मत कार्की, हरि राजवंशी र जितु गौतम १०औँ महाधिवेशनमा समेत केन्द्रीय सदस्य पदको आकाङ्क्षी रहनुभएको छ । नेता खरेल पूर्वकानुनमन्त्री, दाहाल राष्ट्रियसभा सदस्य, कोइराला संविधानसभा सदस्य, कार्की प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री, राजवंशी सांसद र गौतम संविधानसभा सदस्य हुनुहुन्छ ।

प्रदेश नं १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की, प्रदेश सांसद वसन्त बानियाँ र संविधानसभा सदस्य दीपक कार्कीले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा सक्रिय नेता दुर्गा प्रसाईँले केन्द्रीय सदस्यका लागि उम्मेद्वार बन्ने आकाङ्क्षा राख्नुभएको छ । सहमतिबाट केन्द्रीय पदाधिकारी चयन गर्न प्रयास भइरहे तापनि केन्द्रीय सदस्य पदका आकाङ्क्षी धेरै भएकाले निर्वाचन नै हुने सम्भावना भएको आकाङ्क्षीहरू नै बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here