जनगणना गर्दै गाउँ जाँदा

0
715

कात्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत दोस्रो चरणको गणना तथा तथ्यांक संकलन कार्य गरियो । गणकहरुले बडो मेहनतका साथ घर–घरमा पुगेर परिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरणहरु संकलन गरे । जेठ २५ गतेदेखि असार ८ गतेसम्मका लागि तय गरिएको राष्ट्रिय जनगणना २०७८ को मिति कोरोनाका कारण पछि धकेलिएको थियो ।

२०६८ सालको राष्ट्रिय जनगणनामा म आफैँ उत्तरदाताको रुपमा सहभागी भएको थिएँ । एक दशक पो भइसकेछ । त्यसबेला म १२ बर्षको रहेछु । तेह्रथुममा परालको गुन्द्री बिछ्याइएको खाटमा बसेर एक जना दिदीले प्रश्न सोध्नु भएको थियो । मैले कनिकुथी जवाफ दिइएको थिएँ । थाह छैन, म त्यो बेला कतिको जानकार थिएँ, बुझेर जवाफ दिएँ या नबुझी ।

अहिले म झापामा छु । राष्ट्रिय जनगणना २०७८ मा भने मलाई गणकको रुपमा सहभागी हुने मौका मिल्यो । मैले समाजलाई पढ्नु थियो । वास्तविक समाजको चित्रण गर्नु थियो । निर्धारित समयमा काम सक्ने जिम्मेवारी पनि थियो । कन्काई नगरपालिका वडा नम्बर ९ को दुई सय १० वटा घर मेरो भागमा परेको थियो । सोही जिम्मेवारी पूरा गर्न म १५ दिन निरन्तर कार्यक्षेत्रमा दौडिएँ । दौडिनै पथ्र्याे । कार्य सम्पन्न गर्न हिँडेर सम्भव थिएन । कसैले सुनाएको भरमा दिमागले गरेको कल्पना र प्रत्यक्ष सहभागी भएर देखेको समाजबीच धेरै अन्तर रहेछ । मैले शहर देखेको रहेछु । शहरमा भएका ठूला–ठूला भवन देखेको रहेछु । स्वार्थी परिवेश देखेको रहेछु । तर, आफ्नै समाज हेर्न खै केले छेकेको थियो ? समाज हेर्ने अवसर यसपटक जनगणनाले जुराइदियो ।

काम शुरु गरेकै दिन म कामबाट राजीनामा दिने अवस्थामा पुगेको थिएँ । एकातिर समाज पढ्न निस्केको विद्यार्थी र अर्काेतिर जनगणनाले करारमा दिएको जिम्मेवारी । जस्तोसुकै चुनौति आए पनि जिम्मेवारी पूरा गर्नैपर्ने थियो । प्रतिबद्ध भएको थिएँ । सपथ लिएको थिएँ । म मात्र होइन, सायद देशमा खटिएका ४५ हजार गणकहरु पनि एकपटक त राजीनामा गर्ने अवस्थामा अवश्य पुगे होला । तर, जिम्मेवारी पूरा गर्नुको विकल्प अर्काे थिएन ।

हुन त काम गरेपछि मात्र अनुभव प्राप्त हुन्छ । अनुभवभित्र तितोमिठो रस हुन्छ । म १५ दिनको लागि सरकारको प्रतिनिधि भएर नागरिकको घरदैलोमा गएको हूँ । एउटा वर्गका नागरिक थिए, उनीहरुलाई केही नै थाह थिएन । जनगणना के हो ? सरकार के हो ? सरकार कहाँ छ ? के गर्छ ? उनीहरुलाई यसबारे बुझाउन आनन्द हुन्थ्यो । चाख मानेर सुन्थे । सुनिरहँदा उनीहरुमा चाख मात्र हुन्थ्यो, केही आश हुँदैन थियो । सामाजिक सुरक्षा भत्ता खाएकाहरुलाई अलिक सजिलो हुन्थ्यो बुझाउन । यो भत्ता त सरकारले दिएको हो नि आमा भन्दै ठूलो स्वरमा बुझाएँ ।

उनीहरुसँग न शिक्षा, न त सम्पत्ति । टाउको लुकाउने सानो घर छ । घरमा परालको छानो । माटोको भित्तो । भल्टाङ्भुल्टुङ् बालबच्चा । झुरुप्प गाउँ । मिलेको बस्ती र झगडारहित परिवार । दिउँसोभरि मजदुरी गरेर ल्याएको कामाइले दुईछाक खान पुग्दो रहेछ । कुनै–कुनै घरमा घुलमिल हुनकै लागि ‘लु खाना खाऔं आमा’ भन्दा उनीहरु अप्ठ्यारो मान्दै भन्थे– ‘मेरो बुढा जनमन गर्न गएको छ, लिएर आउँछ अनि पकाएर खाउँला है बाबु !’ उनीहरुको त्यो दुःखले म हुरुक्कै हुन्थेँ । ६५ वर्षको उमेर पूरा भएकी वृद्धाको श्रीमान अझै काम गर्न सक्ने ? तर, वास्तविकता नै त्यही थियो । दैनिकी यसरी नै चलेको रहेछ । छोराछोरी ठूला थिए । स्कूल देखेका थिएनन् । सरकारले तपाईंहरुको विवरण लिन पठाएको भनेपछि केही आश गर्छन् होला भन्ने लागेको थियो । तर, उनीहरुले त्यासो गरेनन् । उनीहरुको मुहारमा न आश, न निराश । सधैँ एकैनास । त्यो गाउँमा रहँदा मैले कुनै दिन असुरक्षित भएको महशुस गरिनँ । दुई दिनपछि नगरपालिकाले जनगणना सम्बन्धी प्रचार गर्दै हिँडेपछि ती नागरिकले बल्ल ‘जनगणना’ भन्ने शब्द सुने ।
झट्ट हेर्दा सुखी र रमाइलो जीवन देखिए पनि यहाँ वर्णन गर्नै नसकिने दुःख छ त्यहाँ । आधारभूत आवश्यकता भनेको के हो, उनीहरुलाई थाह छैन । जनगणनाको ८० वटा प्रश्न मध्ये एउटा प्रश्नमा यो वर्ग समेटिएको छ, त्यो हो शिक्षा ।

सरकारले यो वर्गका लागि शिक्षा सम्बन्धी कस्ता कार्यक्रम ल्याउला ? जनगणनाले आर्थिक क्रियाकलाप तथा रोजगारलाई मुख्य केन्द्रविन्दु बनाएको छ । मजदुरी तथा जनमन गर्न जाने व्यक्तिलाई पनि आर्थिक महलमा समेट्नु पर्छ । बिहान खाएर बेलुका खान मजदुरी गर्नुपर्ने व्यक्तिले वर्षको बाह्रै माहिना काम गनुपर्ने हुन्छ । उनीहरुलाई पनि गणनाको प्रश्नावलीमा राम्रो पेशाकर्मी कै जस्तो संकेत दिइन्छ । तर, कामको प्रकृति भने खुलाइएको हुन्छ । यसलाई सरकारले कसरी विश्लेषण गर्ला ? कतै जनगणना औपचारिकतामा मात्र सीमित रहने त होइन ? गरीबहरुको तथ्यांक प्रकाशन गरेर मात्र हुँदैन । गरिबी निवारण सम्बन्धी भरपर्दाे कार्यक्रम समेत ल्याउन जरुरी छ ।

मेरो गणना क्षेत्रमा रहेका मध्यम वर्गीय मानिसको के कुरा गरौँ, उनीहरुसँग सपना छन्, इच्छा छन्, चाहना छन् । सीमित मात्रामा शिक्षित पनि छन् । सरकारले यो गरेन, त्यो गरेन भन्ने गुनासो छ । सरकारबाट केही आश छ । उनीहरुले देशको अवस्थालाई धेरथोर बुझेका पनि छन् । धेरैले प्रश्न गर्थे– ‘यो जनगणना अब आउने चुनावको लागि हो ?’ म जनगणनाको महत्व दर्शाइदिन्थेँ । हुन त मलाई पनि थाह थिएन, राजनीतिज्ञहरुले यसलाई चुनावको लागि प्रयोग गर्छन् या आगामी दश वर्षको लागि मार्गचित्र कोर्न । मैले तालिममा सिकेका कुरा र पुस्तकबाट लिएको जानकारीको आधारमा उनीहरुलाई प्रकाश पार्थेँ । कतिपय मानिसले विवरण दिन इन्कार गर्थे । ढोका नखोल्ने, तथ्यांक नदिने, लुक्ने, झञ्झट मान्ने जस्तो प्रवृत्ति मध्यम वर्गीय मानिसमा थियो ।

एउटा रमाइलो कुरा छ । काम सक्नै पर्ने दबाब थियो, बाध्यता थियो । बेलुका ८ बजेसम्म म कार्यक्षेत्र मै हुन्थेँ । अधिकांश मानिसहरु सहयोगी थिए । रातिको समयमा एउटा घरबाट अर्काे घर पु¥याउन सहयोग गर्थे । बेलुकाको समयमा मान्छे भेटिन्थ्यो । परिवारका सबै सदस्यहरु भएको बेला तथ्यांक संकलन गर्नुको मजा नै बेग्लै । एकसाँझ ७ बजेतिर तथ्यांक संकलन गरिरहेको थिएँ । एकजना महिलाले विवरण दिँदै हुनुहुन्थ्यो । उहाँको परिवारका सदस्यहरुको नाम लेखिसकेको थिएँ । त्यहाँ मलाई विवरण दिने महिलाकै जन्म मिति सोध्दै थिएँ । पछाडिबाट उहाँको श्रीमान् आएर ‘मेरी बुढीको उमेर सोध्ने तँ को होस् ?’ भन्दै मलाई आधा घण्टा अपशब्द र अश्लिल शब्दहरुले गाली गरेका छन् । जीवनमा आधा घण्टासम्म निरन्तर गाली खाएर इतिहास रचेको छु । कुटौँला कि मारौँला झैँ गरेपछि त्यहाँबाट म भागेँ । बरु दिउँसो खेत–खेत मै पुगेर तथ्यांक लिएँ । तर, त्यसपछि म रातिको समयमा जनगणना भन्दै हिँडिनँ ।

यो समाजमा रहेका मध्यम वर्गका मानिसबाट प्राप्त अनुभव हो । सबै नराम्रा होइनन्, तर केही यस्ता पनि थिए ।
अब माथिल्लो वर्गका मानिसहरुबाट प्राप्त अनुभवको कुरा गरौँ । उहाँहरु शिक्षित हुनुहुन्थ्यो । पढेलेखेको, जागिरे, सम्पत्ति पनि भएको । जनगणनाको महत्वबारे उहाँहरुले पढ्नु भएको होला । तर, कतिपयले गणकहरुलाई बेवास्ता गर्नुभयो । जनगणनालाई औचित्यहीन सम्झ्नुभयो । जनगणनाको मुख्य प्रश्नावलीमा धेरै प्राविधिक कुराहरु थिए । जनगणनामा काम गरिरहेको कर्मचारी र तालिम प्राप्त गणकलाई मात्र उक्त प्राविधिक कुराहरुको ज्ञान थियो । प्रश्नको गहिराइमै पुगेर विवरणहरु लिनु भन्ने जनगणना कार्यालयहरुको निर्देशन थियो । सोही निर्देशनको आधारमा हामीले प्रश्न गर्नैपथ्र्यो । तर, मानिसहरुले दिक्दार तथा झन्झट मान्ने, हप्काउने र जनगणनाले तयार पारेका प्रश्नहरुलाई नमान्ने प्रवृत्तिदेखि दिक्क लाग्थ्यो । ‘तेरो केरकारले हुन्छ ? म विवरण दिन्नँ । तैँले के गर्छस् ?’ यसो भन्नेसम्मका मानिसहरुको फेला परेको छु म । थोरै प्रतिशत मानिस यस्ता हुन्थे । घण्टौँ एउटै घरमा झुलेर बस्नुपथ्र्यो । न त तथ्यांक दिन्थे, न त त्यहाँबाट निस्किनै दिन्थे ।

यी केही अपवाद बाहेक अरु सबैजना मेरो मनमा अट्नुभयो । भगवानरुपी उत्तरदाताहरु पनि नभेटेको होइन । अभियानमा सँगसँगै हिँड्न सहयोग गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँहरुलाई चासो थियो जनगणनाबारे । उहाँहरुले बुझ्नुभएको थियो सत्य तथ्यांकको महत्व । भोक लागेको बेला भोजन खाउँ भन्नेदेखि रातिको समयमा सुरक्षा दिनेसम्मका महान व्यक्तिहरु पनि हुनुहुन्थ्यो । उहाँहरुको वर्णन गरेर कृतज्ञ हुन सकिँदैन । समग्रमा जनगणनाबाट नौला, रोचक र रमाइला अनुभव प्राप्त भएका छन् । कति अविस्मरणीय छन् भने कति विस्मरणीय । समाजमा रहेका अग्रज, अनुभवी, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला लगायतका व्यक्तित्वसँग सक्षातकार गर्ने अवसर पनि जनगणनाले प्रदान ग¥यो ।

सरोकारवालासँग गुनासो

जनगणनाले त्याग सिकायो । नेपालमा कुनै पनि सरकारी कर्मचारी छैनन्, जसले भोक र तिर्खा छोडेर काम गरेका हुन् । जनगणनासँग आबद्ध भएका कर्मचारी नै हुन्, जसले कामका लागि गाँस बिर्सेका छन्, प्यास बिर्सेका छन् । १० वर्षमा एकपटक आउने पर्व जस्तै हो जनगणना । राज्य एकै पटक हरेक नागरिकको घरमै पुग्ने एउटै मात्र अभियान हो जनगणना । गणक भनेको निश्चित समयको लागि सरकारको प्रतिनिधि हो । तर, गणकलाई कार्यस्थलमा खुलेर काम गर्ने समय थिएन । जनगणनाको तालिमदेखि गणना कार्यसम्मका सबै काम हतार–हतार गरिएको थियो । जहाँ हत्तपत्त कामहरु गरिन्छ, त्यहाँ लतपत हुने सम्भावना रहन्छ ।

जनगणनाको चार दिने तालिम दिइएको होइन, कोच्याइएको थियो । पाँच दिने तालिम गर्दा अझ प्रभावकारी हुन्थ्यो । हतार–हतार चार दिनमै तालिम सक्नुपर्ने कारण के थियो ? म तालिम प्राप्त गणक हूँ । चार दिने तालिमले मलाई क्षमतावान बनाउन सकेन । किनभने तालिमको प्रकृति नै त्यही किसिमको थियो ।

१५ दिनमा गणना सक्नैपर्ने दबावसहित हामीलाई काम सुम्पिइयो । काम गर्न तोकिएको एउटा निश्चित समय थियो । तर, उक्त तोकिएको समयमा कार्यसम्पन्न गर्न असम्भव थियो । त्यसैले हरेक गणकहरुले भोक–तिर्खा छोडेर काम गरे । दिनको १४ घण्टासम्म काम गरियो । गणनाका लागि तोकिएको समय गणकहरुका लागि अपर्याप्त थियो । जनगणना सम्बन्धी योजना र कार्यान्वयन प्रणाली फितलो भयो ।

के हो जनगणना ?

जनगणना भन्नाले नेपालमा बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरु एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरण संकलन गर्ने र संकलित तथ्यांकको प्रशोधन, सारिणीकरण (कुनै पनि तथ्यांकलाई अन्तिम रुप दिनु, क्रमिकरुपमा राख्नु) एवम् प्रकाशन गर्ने बृहत् प्रक्रिया हो । जनगणना हरेक १० वर्षमा एकपटक गरिन्छ । राष्ट्रिय जनगणना २०७८ जनगणनाको १२औं श्रृंखला हो । यसअघि २०६८ मा ११औँ जनगणना गरिएको थियो ।

इतिहासमा जनगणना

विश्वमा जनगणनाको शुरुवात राज्यलाई कर तिर्न सक्ने जनता पहिचान गर्न, युवा तथा सक्रिय जनसंख्या पत्ता लगाउन र रोजगाररत् कर्मचारी आदिको विवरण अद्यावधिक गर्ने उद्देश्यले भएको थियो । तर, अहिले आएर जनगणनाको प्रणालीमा परिवर्तन भएर यसको परिभाषा व्यापक तथा बृहत् बनेको छ । जुनबेला विश्वमा युद्धहरु जारी थिए, युद्धमा सामेल देशलाई सैनिक व्यवस्थापन गर्न सक्रिय जनसंख्या थाह पाउन पनि जनगणना जरुरी थियो ।

नेपालमा विगत एक शताब्दीको इतिहासलाई फर्केर हेर्ने हो भने सामान्यतया कुनै एउटा भूगोलमा बसोबास गर्ने मानिसको गणना गर्ने कार्यलाई मात्र जनगणना भन्ने बुझिन्थ्यो । समय परिवर्तन भएसँगै यो परिभाषाले पनि स्थान पाउन छोड्यो । अब केवल मानिसको टाउको गणना गरेर मात्र जनगणना प्रक्रिया पूरा हुँदैन । त्यसैले जनगणनालाई बृहत् तथा आधुनिकरुपमा सञ्चालन गर्नु सरकारको दायित्व बनेको छ ।

नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना गर्ने काम शुरु भयो, जुनबेला चन्द्रशम्शेर प्रधानमन्त्री थिए । त्यसपछि लगभग हरेक १० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ । पहिलो र दोस्रो जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा–कमारी आदिको सूची तयार गर्नु थियो । वि.सं. १९९८ सालसम्म सञ्चालन भएका जनगणना समान्य व्यक्ति गणनाका रुपमा मात्र सीमित रहेको देखिन्छ । तर, त्यसयताका जनगणनाहरु आधुनिक, वैज्ञानिक र परिमार्जित हुँदै आएको देखिन्छ । एक सय वर्षअघि शुरु भएको जनगणना आजसम्म आइपुग्दा प्रविधि, विषयवस्तुको दायरा लगायतको दृष्टिले उन्नत भएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९७० मा आधुनिक जनगणनालाई परिभाषित गरेको छ । राष्ट्रसंघका अनुसार जनगणना भनेको कुनै देश वा भू–भागमा निर्धारित समयमा बसोबास गरेका सम्पूर्ण मानिसको जनसांख्यिक, आर्थिक तथा सामाजिक तथ्यांकहरु कुनै निश्चित समयभित्र संकलन गर्ने, संगठन गर्ने, मूल्यांकन गर्ने, विश्लेषण गर्ने र प्रकाशन गर्ने समग्र प्रक्रिया हो ।

नेपालमा सञ्चालन भएका सबै जनगणनामा महिला–पुरुष अनुसार विवरण संकलन गरिँदै आएको भए पनि वि.सं. २०५८ सालमा गरिएको दशौँ राष्ट्रिय जनगणनामा महिलासँग सम्बन्धित थप विवरणहरु संकलन गरिएको थियो । उक्त जनगणनामा लैङ्गिक समानता, महिलाका नाममा भएका सम्पत्ति जस्ता प्रश्न थप गरियो । वि.सं. २०६८ को ११औँ जनगणनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकता दिइ जातजाति, भाषा, धर्म लगायतका तथ्यांक संकलनमा पहल गरिएको थियो ।

यो पटकको १२औँ जनगणनामा लैङ्गिक समानता तथा समाजिक समावेशी बनाउन र दीगो विकास लक्ष्यका सूचकहरु मापन गर्न समेत ध्यान दिइ वडा, गाउँपालिका, नगरपालिका तथा प्रदेशस्तरीय तथ्यांक उपलब्ध हुने गरी विवरण संकलन गरिएको छ । १२औँ जनगणनामा आफ्नो भौगोलिक सीमाभित्र रहेका नागरिक कोही नछुटुन् र कोही नदोहोरिउन् भन्ने विधि अपनाइएको छ । त्यसैले पनि यो जनगणना बृहत् सर्वेक्षण हो भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।

जनगणना किन आवश्यक थियो ?

जनगणनाले एक निश्चित समयमा देशभित्र रहेका सम्पूर्ण घर–परिवार तथा व्यक्तिको बारेका तथ्यांक उपलब्ध गराउँछ । र, यसैको आधारमा आउँदो १० वर्षका लागि सरकारले कार्ययोजना तयार गर्छ । विगतका कार्यलाई मूल्यांकन गर्ने एउटा बलियो आधार पनि जनगणना हो । जनगणनाको महत्वबारे अमेरिकाका राष्ट्रपति अब्राहम् लिङ्कनले सन् १९५८ मा भनेको कुरा आज पनि उत्तिकै सान्दर्भिक छ । लिङ्कनले भनेका थिए– ‘हामी कहाँ छौँ र कता लाग्दैछौँ भन्ने कुरा मात्र थाह पायौँ भने पनि हामीले के गर्ने र त्यो कसरी गर्ने भन्ने निर्णय लिन सक्नेछौँ ।’ कार्यान्वयन पूर्व गतिलो योजनालाई जोड दिने भएकै कारण लिङ्कन एक सफल व्यक्तिको रुपमा स्थापित भएका हुन् ।

जनगणनालाई लोकतन्त्रको आधार मानिन्छ । पछिल्लो सरकारको संघीय संरचनाको खाका पनि ११औँ जनगणनाकै आधारमा तयार पारिएको हो । संघीय र प्रदेश निर्वाचन क्षेत्रको संख्या तथा क्षेत्र निर्धारण गर्ने कार्यमा पनि जनगणनाकै तथ्यांक प्रयोग गरिएको हुन्छ । महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु पनि यसैको आधारमा निर्माण भएका हुन् । तसर्थ, राष्ट्रिय जनगणना औपचारिकता पूरा गर्ने मात्र नभएर राजनीतिक विषय र राष्ट्र निर्माणको एक बलियो खम्बा हो । नेपालमा औपचारिक रुपमा जनगणना शुरु भएको एक सय १० वर्ष भयो । राष्ट्रिय जनगणना २०७८ ले दुईवटा महत्व बोकेको छ । एउटा– यो जनगणना नेपाल संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछिको पहिलो जनगणना हो । र, अर्काे– जनगणना शुरु भएको दोस्रो शताब्दीको पहिलो जनगणना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here