दासता अमानवीय व्यवहार

0
826

आज दासता उन्मुलन दिवस । मानिसलाई पशु सरह बाँधेर, थुनेर र बल प्रयोग गरेर पशुवत् व्यवहार गर्ने प्रथा नै दास प्रथा हो । जो आजका विकसित भनिने अमेरिका, बेलायत जस्ता देशहरुले अफ्रिकी भू–भागबाट मानिसलाई फलामको साङ्गोले बाँधेर ल्याउँथे र बिना कुनै अधिकार आजीवन नोकर बनाउँथे । त्यही कुप्रथाको विरुद्ध इतिहासमा धेरै क्रान्तिकारी कदमहरु चालिएका पनि थिए । नेपालकै सन्दर्भमा पनि क्रान्तिकारी चेत भएकी योगमायाले दासप्रथा लगायतका सामाजिक कुरितीकाविरुद्ध कठिन संघर्ष गरेकी थिइन् । पहिलो प्रधानमन्त्री भीमसेन थापाले दासप्रथाको उन्मुलन गरेको ऐतिहासिक तथ्य छ । पश्चिमी देशहरु, अमेरिका लगायतका शासकहरुले अफ्रिकाबाट ल्याइएका मानिसलाई बलपूर्वक काममा लगाएर व्यक्तिगत तथा विकास निर्माणका गतिवधि सञ्चालन गरेको इतिहास नै छ ।

ग्रिसको युद्धमैदानमा होस् कि मनोरञ्जनका लागि खेलिने कुस्ती होस् ज्यान नजाउञ्जेल लड्न लगाएको हृदयविदारक घटनाका साक्षी अब शायदै कोही छन् । तर, यो सत्य हो कि इतिहासमा दास–दासीको कष्टकर जीवनको कथा पढ्न पाइन्छ । यद्यपि आज पनि धनी मानिसले गरीबलाई विभेद, पशुवत् व्यवहार र अमानवीय व्यवहार गरेको घटना यदाकदा सुन्न र पढ्न पाइन्छ । आज पनि हाम्रै देशमा उन्मुलन भएको घोषणा गरिएका कतिपय प्रथा कायमै छन््, मानव बेचबिखनका घटना दिनहुँ भइरहेका छन् । कमैया, हलिया र कमलरी प्रथा त्यही गरीब माथि गरिने शोषण र अमानवीय व्यवहारका उदाहरण हुन् ।

संयुक्त राष्ट्र संघको घोषणा मुताबिक सन् १९४९ देखि विश्वभरि नै दासता उन्मुलन दिवस मनाउन थालिएको हो । अमेरिकामा अब्राहम लिङ्कनले साङ्गलोमा बाँधिएको मानिसको किनबेचको घटना देखेपछि सङ्कल्पसहित शुरु गरेको आन्दोलनले उनलाई राष्ट्रपति जस्तो सम्मानित पदमा मात्र आसिन गराएन बरु विश्वबाटै यस्तो अमानवीय प्रथाको अन्त्य हुनुपर्छ भन्ने चेतना जाग्रत गरायो । यतिका वर्ष बितिसक्दा पनि हाम्रा कतिपय बालबालिका यो र यस्तै शारीरिक, आर्थिक शोषणमा परिरहेका छन् । जोखिमयुक्त ठाउँमा बालबालिकाको प्रयोगदेखि जबर्जस्ती काममा लगाउनेसम्मका घटना कायमै छन् । वि.सं. १९८३ मा चन्द्रशम्शेरले उन्मुलनको घोषणा गरेको कमाराकमारीको चलन औपचारिक रुपमा अन्त्य भए पनि त्यसले पारेको असर कतै–कतै सुन्न पाइन्छ । चेलीबेटीको बेचबिखन होस् वा वैदेशिक रोजगारभित्रको पीडा कतै न कतै दासताको गन्ध भेटिन्छ । त्यसैले यो दिवसले मानिसले मानिसलाई गर्ने यस्ता सबैखाले शोषणहरुको अन्त्य गर्न चेतना, सजगता र क्षमता प्रदान गर्नुपर्छ । अनि मात्र यस्ता दिवसहरुको सार्थकता प्रमाणित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here