चेक बाउन्स बढ्दो अपराध

0
712

पछिल्लो समय अपराधका घटना र प्रवृत्तिमा वृद्धिसँगै परिवर्तन हुन थालेको छ । त्यसमध्ये ‘चेक बाउन्स’ अहिले नयाँ अपराधका रुपमा परिचित भएको छ । चेक बाउन्स यतिबेला वैदेशिक रोजगारी, घरजग्गा किनबेच, जागिर, शेयर कारोबार, चिठ्ठा, अनलाइन मार्फत पैसा असुली र कीर्ते कागजात लगायतका कार्यहरुमा हुने ठगीसँग सम्बन्धित छ । आफूसँग, आफ्नो बैंक खातामा रकम नभएको जान्दाजान्दै चेक दिएर झुक्याउनमा पार्ने काम नै चेक बाउन्स हो । विगतमा पनि यस्तो काम हुने गरेको भए पनि आवश्यक कानूनको अभावमा प्रहरीले उजुरी परेपछि घरायसी समस्या भन्दै व्यावहारिक ढंगले समाधान गर्दै आएको थियो । तर, जब चेक बाउन्सको घटनामा वृद्धि भयो तब भने राज्यले यसलाई मुलुकी अपराध संहितामा समावेश ग¥यो र यसलाई संगठीत अपराध स्वीकार गरियो । वि.सं. २०७५ सालमा अपराधको सूचीमा परेको चेक बाउन्सका घटनामा प्रहरीले अहिले भने कडाइका साथ कारवाही गर्न थालेको छ ।

चेक बाउन्सका घटनामा सर्वसाधारणको अर्बौं रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा सर्वसाधारणले बुझाएको रकम निर्धारित समयमा जान नपाएपछि प्रहरीकोमा उजुरी पर्न थालेको छ । यतिबेला ठूलो संख्यामा सर्वसाधारण क्षतिपूर्तिसहित आफ्नो रकम फिर्ता पाउँ भन्दै प्रहरीको शरणमा पर्न थालेका छन् । सर्वसाधारणहरु ठगिने क्रम बढेपछि प्रहरी कार्यालयमा उजुरी पनि बढ्न थालेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयको पछिल्लो चार आर्थिक वर्षको तथ्यांकमा चार वर्षपछि चेक बाउन्सका मुद्दा पाँच सय गुणा बढेको उल्लेख छ । बैंकिङ प्रणालीमा वृद्धि हुँदै जाँदा बैंकिङ अपराधमा समेत उल्लेख्य वृद्धि हुनु अपराध बढ्दै गएको प्रमाण हो । बैंक अनादर भनिने यस्तो मुद्दामा अदालतबाट सजायको फैसला भई फरार रहेका अभियुक्तहरु पक्राउपर्ने क्रम निरन्तर भइरहेको छ, तर अपराध न्यून हुने संकेत देखिएको छैन ।

प्रदेश नम्बर १ अन्तर्गतको प्रदेश प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी)ले यही मुद्दाका फरार एक महिलालाई पक्राउ गरेको छ । यस्तै मुद्दाका फरार अन्य तीन महिलासहित पन्ध्र जना यही आर्थिक वर्ष मै पक्राउ परे । मुद्दा फैसला भएका अन्य सत्सठ्ठी जना अझै फरार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसरी उजुरी गर्ने, फरार हुने र पक्राउ पर्ने क्रमकाबीच चिन्ताको विषय हो कि रुपैयाँका निहुँमा अपराधहरु बढ्न थालेका छन् । पैसाले नेपाली समाजमा रहेको सद्भाव, सहिष्णुता र एकता क्रमशः कमजोर हुँदै जान थालेको छ । धनसम्पत्तिकै निहुँमा परिवारभित्रै अझ पति–पत्नीका बीच वैमनस्यता बढेर हत्यासम्मका अपराध हुन थालेका छन् । पैसा कमाउने लोभमा मानिस–मानिसका बीच फाटो ल्याउने सबैखाले विकृतिहरु अन्त्य नभई मानव जातिको श्रेष्ठता कायम रहँदैन । तसर्थ, कानून अनुसार दण्डित गरेर अपराध मानसिकतालाई परास्त गर्न राज्यको संयन्त्र सक्रिय हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here