बाह्रदशीका महिला इम्प्लान्टमा आकर्षित

0
687

झापा,बाह्रदशी–६ स्थित डाँगीबारी स्वास्थ्य संस्थालाई गाउँपालिकाकै पहिलो पाँच आधुनिक परिवार नियोजनका साधन सुनिश्चित भएको स्वास्थ्य संस्था घोषणा गरिएको छ । नेपाल सरकारको सशर्त अनुदानमा डाँगीवारी स्वास्थ्य चौकीलाई पाँच आधुनिक परिवार नियोजनका साधन उपलब्ध हुने स्वास्थ्य चौकी घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी सहित जिल्ला स्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले पाँच आधुनिक परिवार नियोजनका साधन आइयुसीडी, इम्प्लान्ट, डिपो प्रोभेरा, खाने चक्की पिल्स र कण्डम एउटै स्वास्थ्य चौकीबाट पाइने घोषणा गरेका थिए । स्वास्थ्य संस्थामा आयोजित कार्यक्रमका बीच बाह्रदशी गाउँको स्वास्थ्य सेवाको अवस्थाका बारेमा समेत जानकारी गराइएको थियो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद साहले आदिवासी जनजाति र पिछडिएका वर्गको बाहुल्य रहेको बाह्रदशीमा चेतनास्तर वृद्धि भएसँगै परिवार नियोजनका साधन प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको बताए । उनले मुस्लिम समुदायले समेत परिवार नियोजनका साधन अधिकतम् प्रयोग गर्दै आएको जानकारी दिए ।
गाउँपालिकाकी सिनियर अनमी निरीक्षक सुस्मिता मैनालीले परिवार नियोजनका साधनहरुमा महिलाहरुले इम्प्लान्ट प्रयोग गर्दै आएको बताएकी छिन् । थोरै औषधिले धेरै काम गर्ने भएकाले पनि परिवार नियोजनको यो विधि महिलाले रुचाएको बताइएको छ । यो महिलाको पाखुरामा राखिन्छ । एकपटक राखेपछि महिलाहरुलाई ५ वर्षसम्म ढुक्क हुने भएकाले पनि यो साधन बढी रुचाइएको मैनालीले बताइन् । यो सँगै आइयुसीडी, डिपो प्रोभेरा, खाने चक्की पिल्स र कण्डम प्रयोगकर्ताको संख्या पनि विगतका वर्षको तुलनामा बढेको उनले बताइन् । उनले बाह्रदशी गाउँपालिकामा इम्प्लान्ट प्रयोगकर्ता महिलाको संख्याा ६९८, डिपो प्रयोगकर्ताको संख्या ३६३, पिल्स प्रयोगकर्ताको संख्या २३१ र आइयुसीडी प्रयोग गर्नेको संख्या १८ रहेको जानकारी दिइन् । उनले बाह्रदशी गाउँपालिकाका सातवटा स्वास्थ्य शाखाबाट प्रत्येक महिना कम्तीमा पाँच सय कण्डम सेवाग्राहीले लिने गरेको बताइन् ।
पाँच आधुनिक परिवार नियोजनका साधनका विषयमा जानकारी दिँदै मैनालीले पाठेघरमा राखिने आइयुसीडी एकपटक प्रयोग गरेपछि १२ वर्ष ढुक्क हुने बताइन् । त्यस्तै पाखुरामा राखिने इम्प्लान्टले ५ वर्ष, डिपोले तीन महिना, खाने पिल्स दैनिक र कण्डम यौन सम्पर्कको समयमा प्रत्येकपटक प्रयोग गर्नुपर्ने उनले बताइन् । डाँगीबारी स्वास्थ्य संस्थालाई गाउँपालिकाकै पहिलो पाँच आधुनिक परिवार नियोजनका साधन सुनिश्चितता भएको स्वास्थ्य संस्था घोषणा गरिएसँगै आइयुसीडी र इम्प्लान्टका लागि स्वास्थ्य संस्थामा छुट्टै दुई जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको बताइएको छ । स्वास्थ्य संस्थाका हेल्थ असिस्टेण्ट (एचए) हेमन्त लामिछाने र अनमी ईश्वरा इजमले सेवा प्रदान गर्ने कार्यक्रमम जानकारी दिइयो ।
१५ देखि ४९ वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै डाँगीबारी स्वास्थ्य संस्थालाई आधुनिक परिवार नियोजनका साधन सुनिश्चितता भएको स्वास्थ्य संस्था घोषणा गरिएको र गाउँपालिका भित्र रहेका चार आधारभूत र तीन स्वास्थ्य संस्थाले परिवार नियोजनका अन्य साधन बितरण गर्दै आएको मैनालीको भनाइ छ । डाँगीवारी स्वास्थ्य संस्थामा गर्भपतन सेवा समेत सञ्चालनमा रहेको बताइएको छ । १० हप्ताभित्रको गर्भलाई निःशुल्क पतन गर्न सकिने बताउँदै राजगढ स्वास्थ्य संस्थामा २३ र डाँगीवारी स्वास्थ्य संस्थाबाट ३ जनाले यो सेवा लिएको बताइएको छ । डाँगीवारी स्वास्थ्य संस्थालाई गत वर्षबाट वर्थिङ सेन्टरको रुपमा समेत विकास गरिएको छ । गत वर्ष ९८ जनाले गाउँपालिकाको राजगढ र डाँगीवारी स्वास्थ्य संस्थाबाट प्रसूति गराएका छन् । यो वर्ष ५० जनाले सेवा लिइसकेको बताइएको छ ।
बाह्रदशी गाउँपालिका बडा नम्वर ६ का वडाध्यक्ष रत्नप्रकाश योङ्याको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँई, वाह्रदशी गाउँपालिका–१ का वडाध्यक्ष शम्भूसिंह राजवंशी, सामाजिक विकास समिति संयोजक अमित राजवंशी, महिला स्वास्थ्य स्वयम्सेविका डम्वरकुमारी राजवंशी लगायतको सहभागिता रहेको थियो ।


सो अवसरमा डाँगीवारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीसहित ११ जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा स्वास्थ्य चौकीका प्रमुख हेमन्त लामिछाने, हेल्थ असिस्टेन्ट एलिसा वुढाथोकी, अनमी इश्वरा इजम, सृजना राजवंशीर्, अहेव संगीता बस्नेत, अनमी सुस्मिता प्रधान, सविना सेलवाल, ल्याव असिस्टेन्ट भगीरथ साह, कार्यालय सहयोगी मञ्जु अघोरी, ममता राजवंशी र सुरक्षागाड तेजप्रकार्श बाँस्कोटा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here