अक्षयकोषका लागि तीन लाख सहयोग

0
487

झापा,

नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो ।

नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चारगृहका अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चारगृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुतनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताउनुभयो ।

नारी सञ्चारगृह विसं २०६८ मा स्थापना भएको हो । संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् । तीन वर्षअघि अक्षयकोषको स्थापना गरिएको हो ।

अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत वापतको रकमसमेत जम्मा गर्दै आएको शिवाकोटीले बताउनुभयो ।

अक्षयकोषका लागि कमल गाउँपालिकाले रु ५० हजार र अर्जुनधारा नगरपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष एवं कोषकी संयोजक रेजिना गौतमले चाँडै नै सोही रकमको ब्याजबाट पुरस्कार स्थापनाको तयारी गरिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here