१६ दिनदेखि बेपत्ता विपना खोजी दिन आग्रह

0
186

झापा,

भद्रपुर नगरपालिका–५ घोडामारा निवासी १४ वर्षीया विपना लामा १६ दिनदेखि बेपत्ता भएकी छिन्। साथीको घरमा साग पुर्‍याउन भन्दै घरबाट हिँडेकी विपना बेपत्ता भएपछि उनका परिवारजनले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

भद्रपुरस्थित वीरेन्द्र मावि चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत विपना पुस २१ गते घरबाट हिँडेको उनकी आमा बिन्दा लामाले बताइन्। साथीकोमा साग पुर्‍याएर फर्की हाल्छु भन्दै घरबाट बिहान ११ बजे हिँडेकी छोरी विपना अझै सम्पर्कमा नआएको बताउँदै उनकी आमा बिन्दाले भनिन्, ‘आफन्तजन, नातागोता, छोरीको साथीभाइ, नजिकका चिनजान भएका व्यक्ति सबैलाई सम्पर्क गरिसकेको र हालसम्म छोरी कहाँ छिन् भनेर पत्ता लागेको छैन।’

पाँच दिनसम्म छोरी घर नफर्किएपछि पुस २७ गते वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएको उनले बताइन्। ‘छोरीले मोबाइल बोकेर गएकी छिन् तर अहिले मोबाइल बन्द छ’, उनले भनिन्, ‘मोबाइलको लोकेसन पत्ता लगाउन प्रहरीमा निवेदन दिएको र प्रहरीकै आशामा बसिरहेको छु।’

यता वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले प्रहरीमा निवेदन आएको र मोबाइल लोकेसन पत्ता लगाउन प्रहरी कार्यालय झापालाई जानकारी गराइसकेको बताए। प्रहरी कार्यालय झापा मोबाइल लोकेसन पत्ता लगाउन जिल्ला अदालतको आदेश पर्खिरहेको जानकारी प्राप्त भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here