पथरीशनिश्चरे,

मोरङको बेलबारीमा गर्भवती महिलाहरूलाई पौष्टिकयुक्त खाद्य सामग्री वितरण तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
बेलबारी नगरपालिकास्थित वडा नं –२ को आर्थिक सहयोगमा आधारभूत स्वास्थ्य सेवाको आयोजनामा गर्भवती महिलालाई स्वास्थ्य सम्बन्धी विशेष परामर्श तथा पोषणयुक्त सामग्री वितरण गरिएको हो ।
बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यतामा वडा नं २ का गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको थियो । उपप्रमुख ढाकाकुमारी पराजुलीले स्वस्थ्य र सचेत नागरिकद्वारा मात्र देश विकासमा योगदान पुर्याउन सक्ने बताउँदै नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेष लगानी गरिरहेको र गरिरहने बताइन् ।
उहाँले नगरपालिकाले एक दिन एक पटक वितरण गरिएका पोषण सामग्री गर्भवती महिलाहरुका लागि प्रयाप्त नहुने भए पनि सचेतना र परामर्शले अझ सुरक्षित मातृत्वका लागि थप सहयोग पुग्ने आशा प्रकट गर्नु भएको थियो। नगरपालिकाले गर्भवती महिलालाई सम्मान गर्ने र अभिभावकत्व प्रदान गर्न पनि यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो ।
वडा नं २ का वडाअध्यक्ष घनश्याम गौतम समेतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मनोज पाठकले कोरोना कारणले समूह समूहमा विभाजन गरेर सेवा प्रदान गरिएको बताए । गर्भवतीलाई प्रोटिन, अण्डा, चना, आयो नुन आदि पौष्टिक आहारका सामग्री वितरण गरिएको स्वास्थ्य केन्द्रका प्रमुख मनोज पाठक बताउनुभयो ।
कार्यक्रममा वडा सचिव राजेन्द्र खतिवडा, नगर कार्यपालिका सदस्य खिनमाया थापा, वडा सदस्यहरू कृष्णकुमार लिम्बू, मनु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।































