शिरीषको फूलसँगै पारिजातको सप्रसिद्धि

0
756

नेपाली साहित्यको एक उज्ज्वल नक्षत्र हुन्– पारिजात । उनको जन्म भारतको दार्जीलिङ्गको लिङगिया चिया बगानमा वि.सं. १९९४ साल बैशाख महिनामा भएको थियो । लामाले उनको नाम चेकुडोल्मा (तारारानी) राखिदिएका थिए । उनको न्वारनको नाम विष्णुकुमारी वाइवा हो । तर, उनलाई मनपर्ने नाम पारिजात भएकाले उनले आफ्नो नाम पारिजात राखेकी थिइन् । उनका असंख्य कृतिले यसलाई जीवन्त सुवास भरेर यस नामलाई सार्थक पारिदिएको छ ।

उनका पिता कालुसिंह वाइवा एक चिकित्सक थिए । आफू चिकित्सक भएकै कारण उनी छोरीलाई पनि डाक्टर पढाउन चाहन्थे । तर, उनको यो अभिलाषा पूरा हुन सकेन । माता अमृता मोक्तानको आफू सानैछँदा परलोक गमन भएकाले त्यही बेलादेखि उनले मातृ बात्सल्यता गुमाउनु परेको थियो ।

पारिजातको प्रारम्भिक शिक्षा दार्जीलिङ्गबाट नै शुरु भएको थियो । उनी स्वभावले नै भावुक र कल्पनाशील भएकाले स–साना घटनाले पनि उनीभित्र गहिरो प्रभाव पाथ्र्यो । उनी खासगरी पानीमा रुझ्दै–भिझ्दै घुम्ने वनजंगल चाहर्ने, जंगली फूलहरु टिप्ने कुरामा बढी रुची देखाउने गर्दथिन् । उनी संवेदनशील, अन्तरमुखी, कोमल हृदय भएकी नारी हुन् । उनको विशेष रुची वर्षा–ऋतु, गुराँसको फूल, हरियो रङ, संगीत–कला, बाध्य–बाधनमा थियो ।

सानै उमेरमा रोगको चपेटामा परेकी उनी कक्षा ६ मा पढ्दै चुरोट पिउने गर्दथिन् । अलिक पछि त गाँजा समेत सेवन गर्न थालेकी थिइन् । यसरी एकातिर मातृवियोग अर्कातिर वि.सं. २०१० सालमा मातृवियोग परेको थियो । उनको दाजु शिवले पानीमा डुबेको मानिसलाई बचाउने चेष्टा गर्दागर्दै आफैलाई गुमाउनु परेको थियो । यी प्रतिनिधिमूलक घटनाले सायद कसको मन नदुख्ला ? उनी पनि यही पीडामा परेकी थिइन् । यसैबीच उनले वि.सं. २०२९ सालमा पितृवियोग खेप्न प¥यो । यसे झनै पीडा थपिदियो ।

वि.सं. २०११ सालमा उनको परिवार दार्जीलिङ्गबाट बसाइ सरी नेपालको काठमाडौंमा आएर बस्न थालेको थियो । यसैबीच आफ्नो अध्ययनलाई निरन्तरता दिने उद्देश्यले पारिजातले डिल्लीबजारको पद्यकन्या विद्याश्रमबाट १७ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेकी हुन् । आफ्नो पढाइलाई उच्च शिक्षातर्फ पनि डो¥याउँदै वि.सं. २०१३ सालमा आइ.ए. र वि.सं. २०१५ सालमा बी.ए. सम्मको शिक्षा पद्यकन्या क्याम्पसबाट हासिल गरेकी छिन् । उनको अभिरुची त्रिविविबाट अंग्रेजी विषयमा एम.ए. गर्ने थियो । तर, त्यो अधुरो नै रह्यो । यसको मुल कारण आर्थिक अभाव नै थियो । यही अभावलाई टार्न उनले वि.सं. २०१६÷१८ सम्म मदन मेमोरियल स्कूलमा जागिर पनि खाएकी थिइन् । यसले उनको उपचारमा केही राहत मिलेको थियो ।

जब उनी कक्षा ४ मा पढ्थिन् । त्यतिबेला नै उनी कविता लेख्ने गर्दथिन् । २६ वर्षको उमेरमा नै शारीरिक असक्षमताका कारण उनको रुची साहित्य लेखनमा गयो । वि.सं. २०१३ सालमा धरती पत्रिकामा दुईवटा कविता प्रकाशन भएका थिए । यसले उनको साहित्यिक चाहना झनै बढ्न थाल्यो । यहीबाट उनको साहित्यिक यात्रा आरम्भ भएको हो भन्न सकिन्छ । उनको कलम उपन्यास, कविता र लघुकथातिर झनै चल्न थाल्यो ।

साहित्यिक फाँटमा बाक्लै उपस्थिति जनाउने पारिजातले शिरीषको फूल उपन्यास प्रकाशनमा ल्याउनु अगाडि उनले लेखेका चारवटा उपन्यास संघर्ष, वर–पिपल, मानव, अन्तरयामी र शारदाप्रति आफ्नो चित्त नबुझ्दा जलाइ दिएकी थिइन् । यसले उनमा आएको निखारले वि.सं. २०२२ सालमा लेखिएको उपन्यास शिरीषको फूलले सगरमाथा चुम्न सफल भएको छ । वि.सं. २०२१ सालमा २७ वर्षकै उमेरमा रोगका कारण उनी ओच्छ्यान पर्न गएकी थिइन् । यही समयमा उनले देखाएको सक्रियताका कारण शिरीषको फूल उपन्यासले मदन पुरस्कार प्राप्त ग¥यो ।

बहुप्रतिभाकी धनी पारिजात खासगरी वामपन्थी विचारधाराले प्रेरित थिइन् । वि.सं. २०२३ सालमा राजनीतिक व्यवस्थाविरुद्ध संगीतकार, लेखक र कविहरुको विद्रोह स्वर उचाल्न खोलिएको एउटा समूहको निर्माण भएको थियो । जसको नाम राल्फा थियो । राल्फाको प्रारुप राजालाई फालौ भन्ने हो । जुन नेपालका लागि भएका आन्दोलनको मर्म थियो । यही समूहको केन्द्र भागमा रहेर उनले काम गरेकी थिइन् । आफ्नो अशक्त शारीरिक तन लिएर पनि उनी विभिन्न ठाउँमा नयाँ जनवादी र प्रगतिशील लेखन फाँटमा कोशेढुंगा कहलाउँछिन् ।
पारिजातलाई हाडजोर्नीको समस्या छदै थियो । त्यसमा फेरि क्षयरोग, अल्सर, दम, आदिले पनि त्यतिकै सताएको थियो । यसको उपचारार्थका लागि वि.सं. २०२६ देखि २०३१ सम्म पटक–पटक गरी भारतमा जाने गरेकी थिइन् ।

वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो अधिवेशनमा पारिजात सदस्य पदमा चयन भएकी थिइन् । महिलामुक्ति कार्यमा सरिक रहँदै नेपाल महिला संघको अध्यक्षको पदभार पनि समालेकी थिइन् । वि.सं. २०३५/०३६ को आन्दोलनमा सक्रिय रहँदै वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार संघको स्थापना गर्न उनको सक्रिय भूमिका थियो ।
पारिजातको गीत संगीतमा समेत लगाव भएका कारण वेदना सांस्कृतिक समूह र पछि इसाससँगै पटक–पटक गरी भारतका विभिन्न प्रान्तहरुका साथै राष्ट्रिय÷अन्तर्राष्ट्रिय ठाउँहरुको समेत भ्रमण गरेकी थिइन् । उनी इन्द्रेणी सांस्कृतिक समाजको मानार्थ अध्यक्ष समेत बनेकी थिइन् ।

वि.सं. २०४६ साल चैत्र ३ गते लेखक कवि तथा कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सदैव अग्रपंक्तिको नै भूमिका खेल्दथिन् । प्रजातन्त्र प्राप्तपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातान्त्रिकरण गरिनुपर्ने माग राख्दै उनी संघर्ष समितिको संयोजक समेत बनेकी थिइन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा पनि उनको सक्रिय भूमिका थियो ।

यसैक्रममा उनले मानव अधिकार संगठनको उपाध्यक्ष, अखिल नेपाल महिला संघको संस्थापक अध्यक्ष, त्रिविवि सभाको सदस्य, बढी सहायता नियोगको अध्यक्षको भूमिका समेत निर्वाह गरेकी छन् । अन्तर्राष्ट्रिय संघ–संस्थामा पनि उनको सम्लग्नता थियो । आउट राइट इन्टरनेशनल, महिलावादी संघ, महिला भूगोलविद् समाज र एमनेष्टीहरुमा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।

मानिस संघर्ष गरिरहन्छ र प्राप्ति पनि हात पार्छ । यसैबीच पारिजातको जीवनकालमा पनि ज्यादै कठिन संघर्षहरु रहेका छन् । तर, अन्त्यमा उनले पनि केही खुशी हात पार्न सफल भएकी छन् । यहाँ उनले जीवनमा प्राप्त गरेका पुरस्कार तथा सम्मानको चर्चा गर्न उचित छ । उनको जीवन कै सबैभन्दा ठूलो उपलब्धि भन्नु नै उनले गरेको साहित्यिक साधनाले जन्माएको उपन्यास शिरीषको फूल, जसले मदन पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार प्रत्येक वर्ष नेपाली कृतिलाई मदन पुरस्कार पुस्तकालयद्वारा प्रदान गरिन्छ । यो उनको जीवन कै अत्यन्त खुशीको क्षण हो । एउटा सर्जकको वर्षौंदेखिको साधनाले प्राप्त यो क्षण अत्यन्तै आनन्ददायी बन्ने गर्छ । यसरी नै वि.सं. २०४९ सालमा पाण्डुलिपी पुरस्कार र सोही वर्ष गण्डकी बसुन्धरा पुरस्कारले पनि सम्मानित हुने अवसर मिलेको थियो । यी सबै खुशीका कारणले एउटा सर्जकको जीवनको सार्थकताको बोध हुन्छ ।

एउटा सर्जकले आफूलाई साहित्यिक साधनामा तल्लिन रहिरहन धेरै कृतिहरुको जन्म दिने प्रयास गर्छ, यहाँ पारिजातले पनि साहित्यिक साधना गर्ने क्रममा विद्यणत रुपमै विभिन्न कृतिहरुको जन्म दिएकी छिन् । जस अन्तर्गत कविता विधामा लिखित कृतिहरुमा आकांक्षा (२०१४), वैशालु वर्तमान (२०५०), पारिजातका कविताहरु (२०४४) रहेका छन् । उपन्यास विधातर्फ शिरीषको फूल (२०२२), महत्ताहीन (२०२५), वैशको मान्छे (२०२९), तोरीबारी बाटा र सपनाहरु (२०३२), अन्तर्मुखी (२०३४), जसले रोजेको बाटो (२०३५), पर्खालभित्र र पर्खाल बाहिर (२०३५), अनिदो पहाडसँगै (२०३९), परिभाषित आँखाहरु (२०४६) र वोनी (२०४८) रहेका छन् ।

पारिजातका कथाहरुमा आदिम देश (२०२५), सडक र प्रतिभा (२०३५), साल्गीको बलात्कृत आँशु (२०४३), बधशाला आउँदा जाँदा (२०४९), मैले नजन्माएको छोरो (२०७३), प्रतिनिधि कथा र पारिजातका प्रतिनिधि कथाहरु (२०७४) रहेका छन् । संस्मरणतर्फ धुपी सल्ला र लाली गुराँसको फेदमा (२०४३), एउटा चित्रमय शुरुवात (२०४५) अध्ययन र संघर्ष (२०५१), सुमित (२०६५) रहेका छन् ।

पारिजातका महिला सम्बन्धी लेखमा आधी आकाश (२०४८) र पारिजात संकलित रचनाहरु (२०५४) रहेका छन् । उनका प्रकाशित रचनाहरुलाई पुनः प्रकाशन गर्ने पनि काम भएको छ । यिनमा पुुस्तक संसार (२०२४) र साझा प्रकाशनले (२०४८) रहेका छन् ।

पारिजातद्वारा लिखित शिरीषको फूल उपन्यासलाई अंग्रेजी अनुवाद गरिएको ब्लू मियोसा अमेरिकाको मेरील्याण्ड विश्व विद्यालयको पाठ्यक्रममा समावेश गरी अध्ययन गराइँदै आएको छ । यही उपन्यासलाई चलचित्र बनाउने काम पनि जारी छ । यसका लागि निर्माता राजथला र निर्देशकको काम जापानी नागरिक तोसी आको इतोले गर्दै गरेका छन् ।

विधिको विधान जन्मपश्चात मृत्यु अनिवार्य छ । संसारमा धेरै कुरा शाश्वत छन् । यो पनि यही हो । यही सत्यलाई सार्थक रुप दिँदै वि.सं. २०५० वैशाख ५ गते बिहान वीर अस्पतालका उपचार संघन कक्षमा प्यारालाइसिसको उपचार गर्दैगर्दा पारिजातले ब्रम्हलिन प्राप्त गरिन् । तथापि नेपाली साहित्यको धरोहरमा उनले थपेका इँटाहरुले उनलाई जीवित नै तुल्याएको छ । मानिस मर्छ तर उसले गरेको कर्म जीवन्त रहन्छ । यसैबीच पारिजातको पार्थिव शरीर हामीबीच नरहेता पनि उनले छोडेर गएका साहित्यिक डोवहरु हाम्रा लागि सदा–सदाका जिवित नै छन् । यिनले अमरत्व प्राप्त गरेका छन् । त्यसैले आममानसमा पारिजात पनि जीवित नै छिन् । उनीले पनि अमरत्व प्राप्त गरेकी छिन् ।

पारिजातको जीवनमा संघर्षै–संघर्षले घर जमाएको थियो । तर, पनि उनले संघर्षमाथि विजय प्राप्त गरी आफ्नो जीवनलाई सार्थक बनाएकी छिन् । यसबाट हामीले पनि पाठ सिक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here