झापामा विद्यार्थी लक्षित कार्यक्रम प्रभावकारी बन्दै : छात्रबृत्तिमा ६५ लाख

२३ फाल्गुन २०७८, सोमबार मा प्रकाशित

झापा, झापाको जनता माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थी मेनुका साह आइतवार निक्कै खुशी देखिइन् । उनी खुशी हुनुको कारण थियो– गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित विद्यालयका प्रधानाध्यापक सूर्यकान्त राउतको हातबाट आफूलाई कक्षा १२ अध्ययन गर्न लाग्ने शुल्क एकमुष्ट उपलब्ध हुनु ।


कक्षा ११मा अध्ययन गर्दा समेत उनले गाउँपालिकाबाट अध्ययनका लागि लाग्ने सम्पूर्ण शुल्क पाएकी थिइन् भने कक्षा १२मा पनि उनले गाउँपालिकाबाट एकमुष्ठ नौ हजार दुई सय ५० रुपैयाँ प्राप्त गरिन् ।
बिद्यालयमा आयोजित कार्यक्रमकाबीच उनलाई गाउँपालिकाले छात्रबृत्ति बापतको रकम उपलब्ध गराएपछि उनले खुशी हुँदै भनिन्– यो वर्ष पनि मलाई पढ्न सहज हुने भयो । प्रफुल्ल मुद्रमा देखिएकी मेनुकाले भनिन्– म मात्रै होइन मेरी बहिनीलाई पनि गाउँपालिकाले एक थान साइकल दिएको छ । अब हामी दिदीबहिनी नै पढ्न पाउने भयौं ।गत वर्ष नै बहिनीले साइकल पाएको बताउँदै उनले भनिन्– अहिले वहिनीलाई स्कूल जान आउन सहज भएको छ । घरको अवस्था कमजोर थियो । हामी पढ्न सक्ने अवस्थामा थिएनौं तर गाउँपालिकाले नै हामीलाई पढ्ने बन्दोवस्त मिलाइदियो, अहिले हामी दिदीबहिनी नै ज्यादै खुशी छौं– मेनुकाले भनिन् ।
मैले छात्रवृत्ति पाएकोमा खुशी छु– उनले भनिन् – म जस्ता आर्थिक अवस्था कमजोर भएर पढ्न बाट बञ्चित हुने अवस्थामा पुगेका अरु साथीले समेत गाउँपालिकाबाट रकम पाएका छन् । अझ गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि सुरुङ्गा लगायतका ठाउँमा जाने विद्यार्थीलाई गाडी भाडा पनि दिएको सुनेकी छु । यो ज्यादै राम्रो काम हो । यसले हामी जस्ता निम्न आय भएका र पढ्नबाट बञ्चित हुनेहरुलाई गाउँपालिका सहयोगी पुग्ने छ । मेनुका झापा गाउँपालिकाको वडा नम्वर ६मा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत प्रतिनिधि बिद्यार्थी मात्रै हुन् ।


उनी जस्ता धेरै विद्यार्थीको भनाइ यस्तै छ । गाउँपालिकाले पछिल्लो समय कक्षा ११ र कक्षा १२मा अध्ययनगर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति शीर्षकमा अध्ययनका लागि शुल्क दिन शुरु गरेसंगै झापा गाउँपालिकाका विद्यार्थी मात्र होइनन् अभिभावक पनि उत्तिकै खुशी छन् । गाउँपालिकाले विद्यार्थी लक्षित विभिन्न खाले कार्यक्रम सञ्चालन गरेसंगै झापा गाउँपालिका भित्र बसोबास गर्नै सबै विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाले यो वर्ष मात्रै ३३४ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि जनही नौ हजार २ सय ५० रुपैयाँका दरले छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराएको छ ।
योसँगै विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि समेत रकम उपलब्ध गराउँदै आएको छ । यो वर्ष ४४ जना प्राविधिक विषय अध्ययनका लागि विद्यार्थीलाई रकम उपलब्ध गराएको हो । गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने बिद्यार्थीलाई ६५ लाख ६३ हजार २ सय ५० रुपैयाँ बितरण गरेको छ ।
झापा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि स–साना बालबालिकादेखि उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई विभिन्न शीर्षकमा रकम प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष साहले बताए । उनले भने– शुरुका वर्ष हामी जनप्रतिनिधि भएर आउँदा यस गाउँपालिकामा एक जना पनि प्राविधिक भेटेनौं । अहिले हामी आफैं
प्राविधिक तयार गर्दैछौं । अध्ययन गर्न नसक्ने विद्यार्थीलाई गाउँपालिकाले नै पढाउँदै जुनसुकै विधामा होस् हामी आफैं दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा लागेका छौं । अध्यक्ष साहले भने– हामीलाई अब केही वर्षभित्र कृषिदेखि अन्य कुनै पनि प्राविधिकको अभाव हुँदैन । हाम्रै गाउँपालिकामा बस्ने सबै बिद्यार्थी तयार हुन्छन् । अध्यक्ष साहले आगामी वर्ष शिक्षकसहित विद्यार्थीलाई स्मार्ट बनाउन ल्यापटप बितरण गर्ने तयारी शुरु गरेको बताएका छन् । यहाँका सबै बिद्यार्थी स्मार्ट हुन्छन्, सबैको हात हातमा ल्यापटप हुन्छ, सबै बिद्यार्थी स्मार्ट बनाउने हाम्रो प्रयत्न रहन्छ । स्थानीय तहको निर्वाचन पनि यसखाले कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्छ । जनता माध्यमिक बिद्यालयमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा सहभागीमध्ये वडा नम्वर ६का वडाध्यक्ष तथा कार्यक्रमका सभापति हरिवहादुर वानियाले गाउँपालिकाले विद्यार्थी सहित अभिभावका लागि समेत विभिन्न खाले  कार्यक्रम सञ्चालन गरेको बताए । यसबाट विद्यार्थी सहित अभिभावक समेत प्रत्यक्ष लाभान्वित भएको उनले बताए । उनले भने– स्थानीय तह सञ्चालनमा आएसँगै झापा गाउँपालिकामा बिद्यार्थीदेखि कृषक सम्मलाई फाइदा पुग्ने विभिन्न कार्यक्रम सञ्चालन भएको जानकारी दिए । गाउँपालिकाले बिद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरेको यो कार्यक्रम अति नै प्रभावकारी छ । यसले अति विपन्न परिवारका विद्यार्थीलाई अध्ययनमा धेरै राहत मिलेको छ । जो पढ्ने इच्छा शक्ति भएर पनि गरिवीका कारण पढ्न सक्दैन त्यस्ता विद्यार्थीलाई त झन् बरदान सावित भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराजथापाले गाउँपालिकाले विद्यार्थीसहित उनीहरुका अभिभावक र झापा गाउँपालिका भित्र बसोवास गर्ने सबै नागरिकलाई लक्षित गर्दै अघि सारेका सबै योजना सफल भएको बताएका थिए । आगामी दिनमा पनि गाउँपालिकाले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । उनले भनेका छन्– झापा गाउँपालिकाभित्र रहेका सबै बिद्यालयलाई स्मार्ट बनाउन हाम्रो पहल रहन्छ । सबै विद्यार्थी स्मार्ट हुन्छन् । यहाँ दिइने शिक्षाको गुणस्तर उच्च हुन्छ ।


यता विद्यालयका प्रधानाध्यापकले सबै विद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई लक्षित गर्दै स्मार्ट कक्षा सञ्चालनका लागि गाउँपालिकले सबै शिक्षकलाई एक÷एक थान ल्यापटप आवश्यक रहेकाले गाउँपालिकालाई ल्यापटप उपलब्ध गराउन माग गरेका थिए ।
झापा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले स्वागत गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक टीकाप्रसाद कट्टेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर कार्की, शिक्षा समिति सदस्य जगन्नाथ राजवंशी, लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक रोहित पोद्दारले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here