कनकाई घाट निर्माण र प्रभाखर कडरिया

0
422

आमा रत्नमाया र बुबा लक्ष्मीप्रसादका साइँला छोराका रुपमा ताप्लेजुङ्ग जिल्लाको मामाङ्खे–५ मा जन्मेका प्रभाखर कडरिया झापाको सामाजिक क्षेत्रमा उच्च छवि बनाएका व्यक्तित्व हुन् । समाजसेवी कडरिया कनकाई नगरवासी माझ साझा र विश्वासिला व्यक्तित्वका रुपमा रहेका छन् । कामप्रतिको निष्ठा, निरन्तरता र कार्य तत्परताका कारणले उनी सदैव सफल हुँदै आएका छन् । समाजको हितलाई केन्द्रविन्दुमा राखेर सदैव काममा जुटिरहने र आफ्नो कर्ममा विश्वास गर्ने कडरिया दर्जनौं संघ–संस्थामा आबद्ध छन् । निर्माण व्यवसायमा लामो समयदेखि क्रियाशील कडरिया निर्माण व्यवसायी महासंंघको पूर्व केन्द्रीय सदस्य तथा हाल लक्ष्मीमाता कन्स्ट्रक्सन कम्पनी सुरुङ्गाको प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेका छन् । सरल जीवन र उच्च विचारको मान्यतालाई आफ्नो जीवनमा लागू गर्ने कडरिया मृदुभाषी र शिष्ट व्यक्तित्वको रुपमा साथीभाइ माझ चिनिन्छन् । संघ–संस्थाभित्र सन्तुलन तथा समन्वयकारी भूमिका खेल्ने कडरिया प्रायः सधैँ व्यस्त भेटिन्छन् ।

मानिसको जीवनको अन्त्येष्टि सम्मानजनक र धार्मिक विधिपूर्वक गर्ने वातावरण निर्माण गरी सहज ढंगले किरायाकर्म गर्न सकियोस् लगायतका विविध जनोपयोगी लक्ष्य र उद्देश्य राखी २०६७ सालमा गठित कनकाई घाट संस्थाको परिकल्पनाकार हुन् । घाट निर्माणका लागि उनले योजनाकार, पहलकर्ता, समन्वयकर्ताको भूमिका खेलेका छन् र आफ्नो टिमका साथीहरूलाई विश्वासमा लिएर, संस्थाको हितमा नित्य निरन्तर चिन्तनशील बनेर आजको सफलता प्राप्त भएकोमा कसैको फरक मत छैन । अहिले कनकाई घाट संस्थाका १ हजार ८ जना संस्थापक सदस्य, साधारण सदस्य, सहयोगी सदस्य, आजीवन सदस्य, वरिष्ठ सदस्य, विशिष्ट सदस्य, संरक्षक सदस्य, समाजसेवी तथा दानवीर धर्मानुरागी महानुभावको आस्थाको केन्द्र भएको छ कनकाई घाट संस्था । यो संस्था निर्माण गरी घाटहरू निर्माण गर्न सम्भव भएको बुझाउन शुरूवाती दिनमा धेरै कठिन भएको कडरियाको अनुभव छ ।

झापा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्मिक स्थल कनकाई माई नदीमा परापूर्व कालदेखि नै मृत्यु वरणपश्चात पार्थिव शरीरलाई दाह संस्कार गरिँदै आइरहेको सन्दर्भमा बर्षेनि नदीको धार फेर बदल भइरहने, सुख्खा अवस्थामा पानीको स्रोत सुक्ने र वर्षा अवस्थामा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै सबै जातजाति, धर्म, लिङ्ग र वर्गका मानिसको मृत्युपश्चात गरिने अन्त्येष्टि क्रियाको लागि चिता भूमिस्थल निर्माण गर्ने टड्कारो आवश्यकता महसुस गरी यो संस्थाको स्थापना गरिएको हो । स्थापना गर्दा काठमाडौंको पशुपति आर्यघाट, नारायणघाटमा अवस्थित त्रिवेणी वा देवघाट जस्तै पूर्वी नेपालमा रहेको कनकाई घाट पवित्र स्थललाई व्यवस्थित गर्ने उद्देश्य राखिएको थियो ।

जीवनको अन्तिम विश्रान्तिको सुव्यवस्थाका लागि यो संस्थाले काम गर्ने भएकाले सबैको यो संस्थाप्रति सद्भाव रहेको छ । निर्माण व्यवसायी संघ झापा, मेची पेट्रोलियम डिलर एसोसिएसन बिर्तामोड, तत्कालीन उद्योग वाणिज्य संघ शाखा सुरुङ्गा समेतको पहलमा तथा विभिन्न संघ–संस्था एवम् समाजका प्रबुद्ध वर्गको सल्लाह, सुझाव र सहयोगमा सामाजिक संघसंस्था दर्ता ऐन २०४७ अन्तर्गत रही ‘कन्काई आर्यघाट’ नामक मुनाफारहित गैरसरकारी सामाजिक संस्थाको रुपमा यो संस्थाको स्थापना गरिएको हो । हाल यो संस्थालाई सबै जातजातिको साझा संस्थाको रुपमा विकास गर्न ‘कनकाई घाट संस्था’ नामाकरण गरिएको छ । कनकाई घाट संस्था स्थापनाका लक्ष्य र उद्देश्यहरू स्पष्ट थिए । नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही कार्य गर्ने यो संस्था एक मुनाफारहित, गैरसरकारी र जनहितकारी सामाजिक संस्था भएकाले सोही अनुरुप यसले आफ्ना लक्ष्य तथा उद्देश्यहरु किटान गरेको छ ।

कनकाई नदीमा माईपुलदेखि उत्तर दोमुखा बाँधसम्म पक्की तट बन्धन गरी नदी नियन्त्रण गर्ने, कनकाई घाटको लागि पक्की तटीय बाँधका लागि सडक विभागको कार्यालय, जलउत्पन्न दैवीप्रकोप नियन्त्रण कार्यालय, जिल्ला विकास समिति झापा, जनताको तटवन्धन आयोजना कार्यालय र विभिन्न सरकारी, सहकारी र निजी संघ–संस्था तथा निकायसँग सहयोगको लागि पहल गर्ने, अन्त्येष्टि क्रियाको लागि सात वटा चिता भूमिस्थल निर्माण गर्ने, मलामीजनहरुलाई खाजा खुवाउने सात वटा खाजा घर निर्माण गर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्ने, सार्वजनिक शौचालयको निर्माण गनर्,े किरियापुत्रीको कोरा बार्ने घर (कर्मयोग भवन) निर्माण गर्ने, ब्रंम्हनाल निर्माण गर्ने, क्रियापुत्रीलाई स्वच्छ स्नानका लागि जलकुण्ड निर्माण गर्ने, असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम भवन निर्माण गर्ने, कोटीहोमदेखि चिता भूमिस्थलसम्म जाने र पूजास्थलसम्म जाने बाटाहरु व्यवस्थित गर्ने तथा निर्माण गर्ने, धार्मिक महत्व झल्किने पार्क, वाटिकाहरु निर्माण गर्ने, दाहसंस्कारका लागि दाउराको व्यवस्थापन गर्ने साथै भविष्यमा विद्युतीय प्रणालीबाट दाहसंस्कार गर्ने व्यवस्था मिलाउने, संस्थापक सदस्यहरुको अभिलेख स्तम्भ निर्माण गर्ने ।

त्यस्तै दाताहरुको शिलालेखमा अभिलेख राखी सम्मान गर्ने, शव वाहनको व्यवस्था गनर्,े मलामीजनलाई खानको लागि भाडाकुँडा व्यवस्थित गर्ने, बेवारिसे लाशलाई प्रचलित कानून बमोजिम सद्गतको व्यवस्था गर्ने, वातावरणीय सन्तुलनको लागि वृक्षरोपण गर्ने, पूजा सामग्रीहरु तथा धार्मिक ग्रन्थको पुस्तकालय राख्न,े गोष्ठी, तालिम, अध्ययन, भ्रमण जस्ता विविध क्रियाकलाप सञ्चालन गर्ने, कनकाई विकास क्षेत्रको गुरुयोजना अन्तरगत सोही संस्थासँग समन्वय गरी निर्माण कार्यहरू गर्ने लगायतका उद्देश्यहरू संस्थाले राखेको थियो भने स्थापनापछिको यो अवधिमा उल्लेखनीय काम गर्न संस्था सफल भएको छ ।

प्रभाखर कडरिया कनकाई घाट संस्थाको स्थापनाको पृष्ठभूमि बताएर यसको स्थापनामा सबैको योगदान रहेको बताउँछन् । उनी भन्छन्– ‘केही मित्रहरु बीच कनकाई माई भगवतीको किनारमा टन्टलापुर गर्मीमा व्यवस्थित शवदाह–संस्कार गृह निर्माण गर्नेदेखि लिएर शोक सन्तप्त परिवार र मलामीजनको लागि विश्रामगृह लगायत अन्य भौतिक पूर्वाधार निर्माण गर्न सकिने सम्भाव्य सुविधाको विषयमा चर्चा परिचर्चा हँुदा उपस्थित मित्रहरुको विश्वास साथै यस पुण्य कार्य गर्न साथीहरूबाट अभिप्रेरित भएर त्यस अनौपचारिक गफलाई औपचारिकता दिन एउटा भेला आयोजना गरी यसलाई प्राविधिक रूपमा पनि व्यवस्थित गरी अघि बढने शुरूवातको रुप यो संस्थाको जन्म भएको हो ।’ उनले आजको सफलता र उपलब्धिको जस सबैलाई दिन चाहे । यो उनको विनम्रताको चिनारी हो ।

कनकाई घाट संस्थाको जन्मपछि बढ्ने क्रममा यसले आफनो सदस्यता विस्तार गर्दै तदर्थ समिति, साधारणसभा, त्यसपछि एउटा निर्वाचित कार्यसमिति बनेको र आज सातौं साधारणसभा तथा पाँचौं अधिवेशनसम्म आइपुगेको छ संस्था । यसले आफ्नो कार्यक्रमलाई अगाडि बढाउने क्रममा जनस्तरबाट आर्थिक स्रोत जुटाई पहिलो पाइलाको रुपमा व्यवस्थित शवदाह स्थल निर्माणको क्रममा दुईवटा शवदाह स्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइयो ।

घाट समितिले बनाएको इञ्जिनियरिङ नक्सा बमोजिम आफै सरिक भएर सम्पूर्ण निर्माण सामग्री आफै जुटाएर निर्माण कार्यसम्पन्न गर्ने गरी बिर्तामोड निवासी तिलरुपा खडका, मारवाडी सेवा समिति बिर्तामोड र पत्नी स्वर्गीय सरवनदेवी मित्तलको पुण्यस्मृतिमा पति द्वारिकाप्रसाद मित्तल र छोराहरु दिनेश मित्तल र प्रदीप मित्तल लगायत परिवारका अन्य सदस्यहरुबाट एक–एक गरी तीन वटा थप चितास्थलको निर्माण भइसकेकोे छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेलको प्रमुख पहलमा कनकाई नगरपालिकाले चितास्थल उत्तरतर्फको जमिनको बचाउका लागि नगरपालिकाका तर्फबाट माटो भर्ने र तटबन्ध गर्ने ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने कार्य पनि सम्पन्न भइसकेको छ ।

कनकाई घाट समितिको गुरुयोजना अनुसारका काम एकपछि अर्को पुरा हुँदै गएका र यसका लागि झापावासी उदारहृदयी दाताहरूको सहयोगबाट मात्र सम्भव रहेको हो । अनुकरणीय सहयोगी हात र उदार मनले मात्र समाजको हितका लागि काम गर्न सक्ने भएकाले सबै सहृदयी दाताप्रति कडरिया कृतज्ञ छन् । घाट निर्माण कार्यमा आफ्नो कार्यसमितिका साथीहरू, धेरै दानवीर, धर्मानुरागी, सञ्चारकर्मी, राजनीतिक, बौद्धिक व्यक्तित्वहरूको सहयोग रहेको उनी बताउँछन् । साहारा नेपाल (साकोस)को सम्पूर्ण आर्थिक लगानीमा खानेपानी टेङ्की चिसो (चिलर)सहितको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको र साहारा नेपाल (साकोस)को अगुवाईमा झापा जिल्लाका ६८ संघ–संस्थाको सहयोगमा श्रम तथा समर्पण कार्यक्रम मार्फत संकलित रकमबाट सुबिधासम्पन्न कर्मयोग भवन निर्माण भई सञ्चालनमा आएको छ । समर्पण कर्मयोग भवनको एक भागमा सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा आई बिरामीको सेवा गरिरहेको छ । यी सबै काम गर्न मलाई कार्यसमिति तथा सल्लाहकार समितिका साथीहरुको ठूलो सहयोग रहेको कडरियाको भनाइ छ ।

यो शुरूवात मात्र हो, गर्न धेरै बाँकी छ । यो संस्थाले निकट भविष्यमा सम्पन्न गर्ने धेरै योजना र कार्यक्रमहरू रहेका छन् । कनकाई नदीको पूर्वी किनारको लगभग ३.५ किलो मिटर पक्की तटबन्धन बनाउने र तटबन्धनको छेउबाट सडक निर्माण यसपछिको दोस्रो प्राथमिकता छ । वर्षेनि नदीको धार फेरबदल भइरहनाले साथै सुख्खा अवस्थामा पानीको स्रोतको लागि र बर्खा याममा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै व्यवस्थित पुष्पवाटिका, पूजा–अर्चनास्थल, मलामी विश्रामस्थल, सार्वजनिक शौचालय निर्माण यो गुरुयोजनाभित्रका अन्य कार्यहरु हुन् । आर्थिक र प्राविधिक रुपमा यी कार्य अति चुनौतिपूर्ण छन् ।

दाताहरूको धन, मन, वचन सबै प्रकारको सहयोगबाट मात्र यो सम्भव छ । अहिलेसम्म सुरुङ्गावासी र विशेषगरी झापावासीबाट ज्यादै ठूलो सहयोग प्राप्त भएको छ । संसारका विभिन्न देशमा छरिएर रहेका झापावासीको योगदान प्रशंसनीय रहेको उनी बताउँछन् । तटबन्धन र अन्य आध्यात्मिक पूर्वाधार पक्षको निर्माण गर्ने सोचभित्रका विविध योजनाको सूची कनकाई घाट संस्थाको गुरूयोजनामा प्रष्ट देख्न सकिन्छ । पैसा भएर पनि व्यवस्थित रुपले कार्य गर्न इच्छुक व्यक्तित्वहरुको यहाँ कमी छैन । गुरूयोजनाममा रहेका सबै काम गर्न सकिनेमा कडरिया आशावादी छन् । उनको विश्वास भनेको यस क्षेत्रका आदरणीय दानवीर, धर्मानुरागी महानुभावहरुबाट आउने सहयोगलाई जम्मा गर्दै मितव्ययिता र पारदर्शिताका साथ प्राथमिकताका आधारमा यसलाई सम्पन्न गर्ने र जनस्तरबाट यति धेरै काम गर्न सक्दा संघीय, प्रादेशिक र स्थानीय सरकारबाट पनि ठूलो सहयोग अवश्यमेव हुने छ । दाताहरूलाई इच्छाएको कार्यहरुलाई गुरूयोजनाभित्र रही व्यवस्थित रुपमा निर्माण कार्य अघि बढाउन उत्प्रेरित गर्नुपर्ने उनको विचार छ ।

कनकाई घाट संस्था निरन्तर प्रगतिको बाटोमा छ । आम झापावासी र जीवनको समाप्तिपछिको अन्त्येष्टी सम्मानजनक र विधिपूर्वक हुनुपर्छ भन्ने मान्यता राख्ने तमाम सहयोगी, धर्मपरायण, दानवीर महानुभावको न्यानो माया, सद्भाव, समस्त बौद्धिक, चेतनशील व्यक्तित्वहरुको सल्लाहसुझावहरुकै कारणले विभिन्न प्रकारका समस्यासँग जुध्दै निरन्तर लक्ष्यतर्फ अगाडि बढिरहेको छ संस्था । कनकाई घाट संस्थाले आम झापावासीमा आशा र विश्वास जगाएको छ । यो संस्थाको स्थापना, विकास र विस्तारमा सबै पक्षको सहयोगको कडरियाले अपेक्षा गरेका छन् । आयस्रोतको कुनै निश्चितता नभएको संस्थाको नेतृत्व गर्न त्यति सहज हुँदैन । भौतिक पूर्वाधार निर्माण कार्य पैसा बिना हुँदैन । तर, कडरिया भन्छन्– ‘असल काम गर्दै जाँदा पछ्याउने धेरै हुन्छन् ।’ सरलता, विनम्रता, कामप्रतिको निष्ठा र लक्ष्य प्राप्तिको लागि आत्मविश्वासका कारणले प्रभाखर एक असल सामाजिक अभियन्ता र झापावासीबाट आदर पाउने एक समाजसेवीका रूपमा स्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here