बढ्दो अपराध रोक्न सचेतना

0
220

झापामा लागूऔषधको कारोबार बढ्दै गएको प्रहरीले स्वीकार गरेको छ । शान्ति, सुरक्षा, स्वच्छ र सभ्य समाज निर्माणमा सहयोगी संस्था भनेकै प्रहरी हो । उसैले जनताको जिउ–धनको रक्षा गरी आदर्श समाज निर्माणका लागि विद्यमान विकृति–विसंगति हटाउन अहोरात्र खटिनुपर्छ । अपराधहरु न्यूनीकरण गर्दै नैतिक मूल्य–मान्यता स्थापना गर्ने प्रहरीको दायित्व र क्रियाशीलताका बावजुद हिंसा र अपराधका घटनाहरु दिनहुँ बढ्दै जान थालेको छ । जो स्वयम् मानव सभ्यताविरुद्ध छ । प्रहरीले नै खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषध ओसारपसार भइरहेको स्वीकार गरेको छ । यसैका आधारमा अहिले लागूऔषध नियन्त्रण ब्यूरो खडा गरेर निगरानी बढाएको झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताएका छन् । प्रयोगकर्ताहरुले अनेक बहाना बनाएर लागूऔषध नेपाल भित्र्याउने गरेको भन्दै उनले ब्यूरोकै सक्रियतामा अहिले दिनहुँ प्रयोगकर्ताहरु पक्राउ पर्न थालेको जानकारी दिए ।

झापाको बिर्तामोड, काँकरभिट्टा, दमक, भद्रपुर लगायतका शहरी क्षेत्रका युवा लागूऔषधको कुलतमा फस्दै गरेको प्रहरीको तथ्यांकले देखाएको छ । पक्राउ परेकाहरुकासँग गरिएको अनुसन्धानका क्रममा त्यसपछिको कारणहरु वेरोजगारी, अभिभावकको निगरानी र नियन्त्रणमा नरहनु जस्ता देखिएको प्रहरीको भनाइ छ । आधुनिकता र भौतिक सुखका पछि दौडिने युवा समूह लागूऔषध सेवनको कुलतमा फस्दै गएकोले भोलिको परिवार, समाज र देश नै असुरक्षित हुने जोखिम पनि बढ्दै गएको छ । यसलाई रोक्न, समाजमा हुर्किएको विसंगतिलाई न्यूनीकरण र नियन्त्रण गर्न प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । त्यस अनुसार युवा पुस्ताका लागि सचेतनामूलक कार्यक्रम पनि भइरहेका छन् । तर, पनि दुव्र्यसनको क्रम न्यूनीकरण भएको छैन ।

सीमा क्षेत्रमा बढ्दो चोरी, तस्करी, भन्सार छली लगायतका अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी बल गठन गरिएको छ । तर, त्यही संगठनभित्रैबाट लागूऔषध ओसारपसारको अपराध भएको समाचार सार्वजनिक हुनु संगठन मै आक्षेप लाग्ने घटना हो । यद्यपि संगठनभित्र सबै सफा, निष्कलंकित हुन्छन् भन्ने छैन । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर झापामा कार्यरत प्रहरी हवल्दार खगेन्द्र भुजेलले वर्दी मै लागूऔषध कारोबार गर्ने गरेको खुलेको जनाएको छ । भुजेल कारोबारीसँगै मिलेर लागूऔषध भित्र्याउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि उनी पक्राउ परे । यसले पैसा कमाउन मान्छेले नैतिकता, कर्तव्य, जिम्मेवारी सबै बिर्सिन्छ भन्ने पुष्टि गरेको छ भने यसकै आडमा व्यभिचार, दुराचार लगायतका अपराध हुर्कदै गरेको देखाएको छ । परिवार, समाज र देशकै भविष्य अन्योल बनाउने यस्ता कुलत र कारोबारलाई बेलैमा नियन्त्रण गर्नु आजको पहिलो आवश्यकता हो । यसका लागि समाजका सबै पक्षको सहयोग र समन्वय आवश्यक पर्छ । यसतर्फ सम्बद्ध निकाय गम्भीर हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here