मेयरका आकांक्षी धेरै बिर्तामोड कांग्रेसमा सात आकांक्षी

0
653

बिर्तामोड ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिकामा उम्मेदवारको चर्चा शुरु भएको छ ।

विशेष गरी सत्ता साझेदार दलसहित अन्य दलबीचमा पनि उम्मेदवारको चर्चा शुरु भएको हो । १५ स्थानीय तह रहेको झापाको पनि केन्द्रबिन्दुका रुपमा रहेको बिर्तामोड नगरपालिकाका लागि मेयर पदमा नेपाली कांग्रेसकातर्फबाट मात्रै सात जनाको चर्चा चुलिएको छ ।

साविक मेची अञ्चलकै केन्द्रबिन्दूको रुपमा रहेको बिर्तामोड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट को–को उम्मेदवारका आकांक्षी रहेका छन् भन्ने बिषयले अहिले चर्चा पाएको छ ।

प्रमुख व्यापारिक केन्द्र मात्र होइन प्रमुख पार्टीहरुको जिल्ला मुख्यालय पनि बिर्तामोडमै रहेका कारण पनि यो नगरपालिकालाई महत्वकासाथ हेरिन्छ । कांग्रेसका तर्फबाट बिर्तामोडको मेयरमा जिल्ला सचिव कृष्ण हुमागाँई र नवीन बिमली, महाधिवेशन प्रतिनिधिहरु सीता पौडेल, उमा शिवाकोटी र जलकुमार गुरुङ्ग, नगर सभापति भोजराज सिटौला र पूर्व जिल्ला सदस्य हर्कलाल गिरीको पार्टी पंक्तिभित्र चर्चा शुरु भएको छ ।

कांग्रेसभित्र माओवादीसँग गठबन्धन हुने प्रवल सम्भावनासँगै उम्मेदवाराको चर्चा आन्तरिक रुपमा शुरु भएको हो । पार्टीले उम्मेदवारी छनौटका लागि आधिकारिक परिपत्र, निर्देशन जारी नगरेसम्म सामाजिक सञ्जालमा जथाभावी उम्मेदवारी घोषणा नगर्न जिल्लाले आग्रह गरेपछि आफूखुशी उम्मेदवारी घोषणा गर्ने क्रम रोकिएको छ ।

चर्चामा रहेका सम्भाव्य उम्मेदवारहरुमध्ये बिर्तामोड– ५का हर्कलाल गिरी बिगतमा दुईपटक बिर्तामोडको जनप्रतिनिधि भइसकेका व्यक्ति हुन् । जीवनको उत्तरार्धमा एक पटक जनप्रतिनिधि भएर बिगतमा शुरु गरेका अधुरा काम पूरा गर्ने धोको रहेको गिरीले बताउने गरेका छन् ।

यसैगरी बिर्तामोड–३का भोजराज सिटौला पनि दुईपटक नै जनप्रतिनिधि भइसकेका छन् । सिटौला पार्टीको नगर सभापतिको जिम्मेवारीमा छन् । गत चुनावमा क्षेत्रले मेयरमा सर्वसम्मत सिफारिस गरेको भए पनि अन्त्यमा सिटौलाले मेयरको उम्मेदवारी त्यागेर ३ नं. को वडाध्यक्षमा चित्त बुझाउनु परेको थियो ।

त्यसैगरी बिर्तामोड–४का जलकुमार गुरुङ्ग बिर्तामोड खानेपानीका अध्यक्ष छन् भने गत ०७४ को चुनावमा मेयरको उम्मेदवार थिए । फौजी पृष्ठभूमिका गुरुङ्ग खेलकुदमा पनि गहिरो अभिरुची राख्छन् ।
बिद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीतिमा आएकी बिर्तामोड–४की उमा शिवाकोटी नेविसंघकी पूर्वसहमहामन्त्री हुन् । बिगतमा नेपाल किसान संघ र महिला संघको केन्द्रीय नेतृत्वमा पुगी सकेकी बिर्तामोड– ५की सीता पौडेल गत आम निर्वाचनमा प्रदेश नं. १ को समानुपातिक सांसदको उम्मेदवार थिइन् ।

त्यसैगरी नेपाल बिद्यार्थी संघ झापाको पूर्वअध्यक्ष, नेका पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका बिर्तामोड–१०का नबीन बिमली हाल नेपाली कांग्रेस झापाको सचिवको जिम्मेवारीमा छन् ।
पत्रकारिताको ‘फिल्ड’बाट राजनीतिमा स्थापित बिर्तामोड–५का कृष्ण हुमागाँईले नेपाल प्रेस युनियन झापाको अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल पत्रकार महासंघ झापाको पूर्व सभापति, नेपाली कांग्रेस झापाको पूर्वजिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका हुमागाँई हाल नेपाली कांग्रेस झापाको सचिवको जिम्मेवारीमा छन् ।

नेपाली कांग्रेसको बर्चश्व हुँदाहुँदै पनि ०७४को निर्वाचनमा एमालेको पोल्टामा मेयर पद गएको हुँदा गुमाउनु परेको आफ्नो बर्चश्व फर्काउनुपर्ने दवावमा कांग्रेस छ भने बिगतमा कांग्रेसको मत राप्रपामा बाँडिएका कारण जितको नतिजा हात पारेको एमाले पनि पुनः जितको नतिजा कायम राख्ने दाउमा लागेको छ ।

चुनावी चर्चा र स्थानीय तहमा हुने गठबन्धनका सवालमा नेका जिल्ला सचिव हुमागाँईसँग जिज्ञासा राख्दा ‘टिकट बितरणका लागि पार्टीले उम्मेदवार छनौटको सर्कुलर गरी नसकेको वर्तमानमा आफूले कसैलाई मेयरमा टिकट दिन प¥यो भनेर नभनेको, पार्टीले जसलाई दिए पनि सबैले एकतावद्ध भएर रुख चिन्हमा मतदान गरी पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने’ बताए ।

तपाई चाहिँ उम्मेदवार हो कि, होइन भनी राखिएको अर्को जिज्ञासामा हुमागाँईले क्षमता, योग्यता, पार्टीमा दिएको योगदान, लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका, अनुभव आदिका आधारमा टिकट बितरण हुने भएकोले यसमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको भनाइ राखे ।

गठबन्धनका सवालमा के भन्नुहुन्छ नि ? भन्ने जिज्ञासामा केन्द्रीय नीति, निर्देशन अनुसार स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुनसक्ने तर्फ हुमागाँईले संकेत गरे । बिर्तामोडमा माओवादीसँग गठबन्धन हुँदा मेयर, उपमेयरसहित गठबन्धनले सात वटा वडा जित्नसक्ने अवस्था देखिएको कांग्रेस स्रोत बताउँछ । नेपाली कांग्रेसले ३, ४, ६, ८ र १० गरी पाँचवटा वडामा जित्ने अवस्था छ भने माओवादीले ७ र ८ दुईवटा वडाहरु जित्नसक्ने अवस्था देखिएको पार्टीका एक नेताले बताए । विगत ०७४ सालको मत परिणामलाई आधार मान्दा नेकपा एमालेले १, २ र ५ गरी तीनवटा वडाहरु जित्ने अवस्था देखिएको पार्टीका जिल्ला स्तरीय नेताको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here