मारमा परेका कृषक भन्छन्: विदेशी सुपारीको आयात रोक

0
373

पार्थ मण्डल,
झापा।

सरकारले झापा जिल्लालाई ‘सुपारी जोन’ घोषणा गरेको छ । कृषिलाई व्यवसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा सुपारी जोन कार्यक्रमका सरकारले बर्षेनि ठूलै रकम विनियोजन गर्दै आएको छ ।

सुपारी जोन कार्यक्रमका लागि सरकारले लगानी गरे पनि यहाँका कृषक सरकारकै निर्णयका कारण निराशसँगै मारमा परेका छन् । स्वदेशी उत्पादनले उचित मूल्य नपाइरहेको अवस्थामा सरकारले तेस्रो मुलुकबाट सुपारी आयात गर्न अनुमति दिँदै आएकाले उनीहरू निराशा बनेका हुन् ।

प्रदेश १का झापासहित मोरङ, सुनसरी र इलाम सुपारी खेती हुने मुख्य जिल्लाका रुपमा चिनिन्छ । त्यसमध्ये झापामा सबैभन्दा धेरै सुपारी उत्पादन हुन्छ । बर्षौदेखि व्यवसायिक रूपमै झापाका विभिन्न स्थानीय तहमा सुपारी खेती गरिरहेका कृषकहरूलाई राज्यले संरक्षण गर्नुपर्नेमा उल्टै तेस्रो मुलुकबाट सुपारी आयात गरेर किसानलाई सुपारी खेतीबाट विस्थापित गर्न लागेको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । बिदेशबाट सुपारी आयात गर्ने अनुमति दिएर जिल्लाका कृषकमाथि सरकारले नै कुठाराघात गरिरहेको सुपारी कृषक हरिचरण चम्लागाँईले गुनासो पोखे ।
‘सुपारीको बोट एकपटक रोपिसकेपछि यसले बर्षेनि उत्पादन दिन्छ, यसलाई राज्यले नै व्यवस्थापन गरिदिएमा कृषकहरूले अझै उत्पादन बढाउने थिए’– उनले भने– ‘राज्यले हेर्ने दृष्टिकोण कृषकको पक्षमा छैन, यसलाई माफियाले अस्तव्यस्त पारेको अवस्था छ ।’ तेस्रो मुलुकबाट सुपारी आयात गर्ने काम दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले एलसी खोलाएर अहिले पनि २५ हजार मेट्रिक टन सुपारी ल्याएको छ ।

‘देशभर रहेका गुट्खा उद्योगले पनि कृषकले उत्पादन गरेको सुपारी उचित मूल्यमा किन्न चाहँदैनन्’– चम्लागाँईले भने– ‘आयात गरिएका सुपारी यहाँका भन्दा कम मूल्यमा पाउँदा कृषकले उचित बजार भाउ नपाएको अवस्था छ ।’ स्थानीय उत्पादनले आवश्यकता पूरा नगरेको अवस्था बाहेक मात्र कोटा तोकेर विदेशी सुपारी आयात गर्नुपर्ने हो । जथाभावी सुपारी आयातका कारण स्थानीय कृषक र व्यवसायीलाई तहस–नहस बनाएको स्थानीय सुपारी व्यवसायी लुसन तिवारी बताउँछन् । यहाँका कृषकलाई पाँच वर्षसम्म सुपारी जोनमा अलमल्याएर सुपारी खेतीप्रति बेवास्ता गरिएको सुपारी जोन समन्वय समिति झापाका संयोजक नीलकण्ठ तिवारीको भनाइ छ ।

सुपारी सुपर जोन घोषणा गर्नुपर्नेमा जोनलाई नै हटाउने सरकारको मनसाय देखिएको बताउँदै उनले भने– ‘झापामा सुपारी सुपर जोन घोषणा गर्न र विदेशी सुपारी आयात बन्द गर्न सरकारलाई आग्रह गर्छु ।’ ‘डलर तिरेर ल्याएको विदेशी सुपारी गैरकानूनी रुपमा भारत पठाउने काम मात्र सरकारले गरिरहेको छ’– उनले भने– ‘नेपालमा उत्पादन भएको सुपारीमा सरकारले कर (भ्याट) लगाएको छ, यो कर हटाएर यहाँका सुपारी कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।’ ‘जहिलेसम्म विदेशी सुपारी आयात रोकिँदैन, तबसम्म यहाँका कृषकले उचित मूल्य पाउँदैनन्’– उनले भने ।
विदेशबाट भित्रिने सुपारी चोरी निकासी भएर भारत जाने र तस्करी धन्दा मात्र फस्टाउने भएका कारण स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सुपारीको आयात बन्द गरिनुपर्ने यसअघि नै झापाका कृषकहरूले विज्ञप्ति निकाल्दै सरकारको ध्यानाकर्षण समेत गराइसकेका छन् । तर, सरकारले कृषकलाई बेवास्ता गरी राजपत्रमै सूचना प्रकाशन गरी पुनः सुपारी आयात खुलाएको छ ।

चार वर्षमा दुई करोड लगानी

सरकारले आर्थिक वर्ष ०७५/०७६देखि झापा जिल्लालाई सुपारी जोन घोषणा गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लाका १५ वटा स्थानीय तहमध्ये मेचीनगरको १, २, ३ र ४ नम्बर वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधाराका सबै वडामा सुपारी जोन कार्यक्रम लागू भएको छ । तीन पालिकाको ७७८ हेक्टर जमिनमा सुपारी खेती भइरहेको उनले बताए ।

सरकारले यस चालू आर्थिक वर्षमा सुपारी जोनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चार वर्षमा दुई करोड रुपैयाँ जोन कार्यक्रमका लागि आएको इकाई प्रमुख सुवेदीले बताए । यस वर्ष तीन वटा प्रशोधन उद्योगमा कार्यक्रम परेको छ । ‘सुपारी जोन लागू भएपछि जिल्लामा पहिलाभन्दा उत्पादन पनि बढेको छ’– उनले भने– ‘सुपारीको गुणस्तरमा सुधार हुँदा कृषकले पहिलाभन्दा राम्रो मूल्य पनि पाउन थालेका छन् ।’ विदेशी सुपारी आयातले यहाँका कृषकलाई परेको समस्याको बारेमा जिज्ञासा राखेको प्रश्नमा इकाई प्रमुख सुवेदीले भने– ‘विदेशी सुपारी आयात गर्नु वा नगर्नु त्यो सरकारको नीति हो, विदेशी सुपारी आयात रोकियो भने यहाँका कृषकले अहिलेको भन्दा बढी बजार मूल्य चाहिँ पाउँछन् ।’

यता कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित छन् । हाल दुई हजार ६ सय ३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार सात सय १० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ ।

विदेशी सुपारी आयात रोक्न निर्देशन

देशमा विदेशी मुद्रा सञ्चित कम हुँदै गएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशी सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ ।

चैत २३ गते समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो । आपूर्ति मन्त्रालयले गत फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ, मरीचलगायतका वस्तुको आयात अनुमति खुल्ला गरेको थियो । राजपत्रमा नै सूचना प्रकाशन भएपछि सुपारीलगायत वस्तुको आयातका लागि उद्योग विभागमा हालसम्म ४४ वटा आवेदन दर्ता भएका छन् ।

यसअघि डाबर नेपाल प्रालि, सीजी फुड्स इण्डस्ट्रिज प्रालि, सीजी फुड्स इन्टरप्राइजेज प्रालि, सीजी फुड्स (नेपाल) प्रालि, यशोदा फुड्स प्रालि र दुगड स्पाइसेस एण्ड फुड प्रालिलाई विदेशी वस्तु आयातको अनुमति दिइसकेको छ । सुपारी मुख्यतया इण्डोनेसिया, मलेशिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ ।

सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ । सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी गैरकानूनी बाटो भएर भारततर्फ निकासी हुँदै आएको स्रोत बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here