त्रिफला पुस्तकालय प्रदेशकै उत्कृष्ट

0
746

पुस्तकालय स्थापनाको २५ वर्ष पुगेको छ । यो रजत वर्षलाई कसरी मनाउँदै हुनुहुन्छ ?

– झापाको धुलाबारीमा आफ्नै घर आगनबाट शुरुवात भएको यस त्रिफला राष्ट्रिय पुस्तकालयका हामी पाँच जना संस्थापकहरु प्रेमप्रकाश ‘फलाहारी’ कुलबहादुर भण्डारी, मोहनकुमार खडका, भक्तिप्रसाद शिवाकोटी र पण्डित बिष्णु पराजुली समेतको उपस्थितीले धुलाबारी मावि प्राङ्गणबाट पूर्व तयारी भइकन २०५३ नयाँ वर्ष आरम्भ कै शुभ घडीमा धुलाबाररी चोक नजिकैको एक खुल्लाचौरमा आयोजित भेलामा केही निजी पुस्तक राखेर आफ्नै घर घुम्ति सडक भाडाका घरहरु हुँदै अगाडि बढदै गएर नै यस पुस्तकालयको गन्तब्य यात्रा अनेकौं आरोह–अवरोहहरु पार गर्दै २५ कदम अघि बढदै गएपछि नै अहिलेको रजत बर्षमा पाइँला टेक्न सफल भएको हो । परिणामतः वि.सं. २०७९ बैशाख १० गते बृहद् नेपाल भारत रजत विशेष सहित्यिक भेलाबीच स्वागत÷सम्मान तथा कृति विमोचन र पुस्तकालय अवलोकन कार्यक्रम हुँदैछ ।

उद्देश्य अनुसार पुस्तकालयमा काम भइरहेको छ ?

– गृह पुस्तकालय, विद्यालय पुस्तकालय, संस्थागत पुस्तकालय र सामुदायिक तथा सार्वजनिक पुस्तकालय जस्ता विभिन्न प्रकारका हुन्छन् । ती सबैका आ–आफ्नै उद्देश्य अनुसारका बिधान तथा नियमहरु हुन्छन् । ती मध्ये यो त्रिफला राष्ट्रिय पुस्तकालय सार्वजनिक पुस्तकालय हो । सो अनुसारको नीति–नियम तथा विधान बनाई सम्बन्धित निकायमा दर्ता भई सो अनुरुप प्रदेश नं. १ मा चर्चित पुस्तकालयका रुपमा कहलिँदै अगाडि बढदै गएको झापाको एक नमूना पुस्तकालय हो ।

पुस्तकालयको भौतिक संरचना र सम्पत्ति कति छ ?

– मेची नगरपालिका वार्ड नं. १० पूर्व–पश्चिम राजमार्गको काँकरभिट्टाबाट छ किलोमिटर पश्चिम करिब पाँच सय मिटर उत्तर जाँदा आउने त्रिफलाचोक छ । जसको पूर्वतर्फ रहेको पुस्तकालयका नाममा दर्ता भएको दुईकठ्ठा पाँच धुर जमिन र त्यो जमिनको पूर्वतर्फको एक कठ्ठा जमिनभित्र ३२ सय वर्ग फिटको तीन तले एउटा रङ्गीन पक्की भवन रहेको छ । जसको पहिलो तलामा पुस्कालय/वाचनालय र कार्यालय गेटमा सरस्वती मन्दिर जहाँ दैनिक पूजा हुने गरेको छ । माथिल्लो तलामा फराकिलो आकर्षक सभाकक्ष छ । त्यसभन्दा माथिल्लो तलामा त्रिभुवन विश्व विद्यालयका प्रा.डा. गोविन्दराज भट्टराईको प्रस्तावना र देश–विदेशबाट प्राप्त सहयोगमा धमाधम निर्माण हँुदै गरेको नौ कोठे अन्तराष्ट्रिय अतिथि आवास रहेको छ । सो को पछाडितर्फ १२ कोठे व्यवस्थित पुस्तकालय पश्चिम दक्षिणतर्फमा रहेको मोती साहित्य चौतारी भवन जहाँ राष्ट्रिय विभूति मोतीराम भट्टको पूर्णकदको शालिक र समाजसेवी कवि छत्रबहादुर बस्नेतको उस्तै पूर्णकदको शालिक र मोती पुरस्कार कोष र सोको व्यवस्थापन रहेको छ ।

यो संरचना जोड्द कसरी सम्भव भयो ?

– यो संरचना जोड्न हिँडदा मलाई कसैले बौलाहा भने कसैले मगन्ते भने कसैले छोराछोरी पाल्नका पीरले आफ्नो मोजमस्ती गर्न हिँडेको भने ! मेरा अग्रज राष्ट्रगुरु योगी नरहरिनाथ जस्ता कर्मठ सन्तहरुको आचरण गरेर नाङ्गै र भोकभोकै हिँडेर भिक्षाटन गर्दै हिँडदा त्रिफलाको गन्तव्यमा टीकाराम अर्याल जस्ता प्रजिअ, देबेन्द्रबिक्रम नेम्माङ र छत्रबहादुर बस्नेत जस्ता जग्गादाता, दातारामशर्मा, गणेशबहादुर प्रसाई, प्रा. डा. गोविन्दराज भट्टराई, हरिभक्त बुढाथोकी, तोयानाथ फुयाल, टीका ढुङ्गेल जस्ता सच्चा महामानव नेपाली मनहरु त्रिफलाको गन्तव्य यात्रामा भेटिनु भयो । उहाँहरु सच्चा भगवान कै अवतार हुनुहुन्छ । त्यसैले दैनिक उहाँको नाम जप गर्छु म । १५ जनाको कार्यसमितिले मलाई सातौं कार्यकालसम्म हरदम विश्वास ग¥यो मैले पनि आफ्नो घर अनि आफ्नो पेट हेरिन केवल त्रिफलामा तप गरेर इमान्दारीले सफल भएको हो ।

हाल पुस्तकालयमा पुस्तकको संख्या कति छ ?

– यस पुस्तकालयमा धार्मिक ऐतिहासिक पुरातात्विक शैक्षिक तथा विविध बिधा र भाषाका पुस्तक साथै पत्रपत्रिका कुल मिलाएर भन्नुपर्दा ५० हजारको हाराहारीमा होलान् । पुस्तक लेखक सम्पादक प्रकाशक अनुवादक साहित्यकार पत्रकार दानशील महानुभाव, अनुदान र पुस्तकालय स्रोतले खरिद गरेका यी पुस्तकहरु क्याटलकिङ् नम्बरिङ् क्लासिकल तथा वर्गीकरण गर्ने पुस्तकालयविद् कम्प्युटरविद् नपाएर वा सो अनुसारका कम्तिमा तीन जना कर्मचारी दरबन्दीको व्यवस्था हुन नसकेर ती संग्रह गरिएका बहुमूल्य पुस्तकहरु लथालिङ्ग छन् भन्नुपर्दा मुटु चुडिन्छ । के गर्नु अहिलेको सरकारले सुनी दिएन ?

पठन संस्कृतिको विकासका लागि कस्ता गतिविधि भएका छन् ?

– पठन संस्कृतिको विकास गर्न नेपालका हामी सबै पुस्तकालयकर्मीहरु एकजुट भएर लागेका छौं । अबको पठन संस्कृति विद्युतीय पुस्तकालयसहितको व्यस्थापन, समसामयिक अनुकूल व्यवस्थापन हुनु नितान्त आवश्यक रहेको देखिन्छ । पुस्तक पढ्ने बानीको शिक्षा विद्यालयबाट शिक्षक–शिक्षिकाहरुबाट र अभिभावक हुन नितान्त आवश्यक छ भनेर यसका लागि अनेकौ गृहकार्य भइरहेका छन् ।

पुस्तक तथा पत्रपत्रिका संरक्षण कसरी गर्दै हुनुहुन्छ ? (किरा–फट्याङ्ग्रा, मक्किनबाट कसरी बचाउदै हुनुहुन्छ ?)

– किरा, फट्याङ्ग्रा, कमिला, धमिरा, माउ, चिसो मात्र नभई चोरचकारबाट समेत जोगाउन सबैभन्दा गाह्रो बिषय हो यो समग्रमा भन्नुपर्दा बरु फलामको चिउरा चपाउन सजिलो होला तर पुस्तकालय चलाउन धेरै गाह्रो रहेछ । बर्षमा एक दुई सय पुस्तक सडेर जान्छन् । समग्रमा भन्दा किटाणुबाट बचाउने औषधि र व्यवस्थित गर्ने बिषयविद् प्राविधिकको अत्यावश्यक छ ।

पुस्तकालयको आगामी योजना के छ ?

– पहिलो कुरा त कम्तिमा पुस्तकालयविद् तीन जना प्राविधिक दक्ष तथा तालिम प्राप्त कर्मचारीको व्यवस्थापनका लागि स्थानीय निकायबाट पुस्तकालयविद् कर्मचारीको दरबन्दी अबिलम्ब माग गर्ने । दोस्रो कुरा त्यस्तै पुस्तकालय पश्चिमतर्फ खाली रहेको एक कठ्ठा पाँच धुर जमीनमा एउटा सामुदायिक भवन बनाई सडकतर्फ सटर एवम् मथिल्लो तलामा फराकिलो सभाहल निर्माण गरी सो को भाडाबाट पुस्तकालयको आयस्रोत बनाई बत्ती, पानी, नेट, फोन आदिको खर्च व्यवस्था पूर्ति गर्ने इत्यादि रहेको छ ।

पठन संस्कृति वृद्धि गर्न पुस्तकालयको दीगोपनका लागि के गर्नुपर्ला ?

– पठन संस्कृति तथा पुस्तकालयलाई दिगो विकाससहितको निकास निकाल्नका लागि मूलतः दिगो स्रोत नै चाहिन्छ । त्यसैगरी पुस्तक पत्रपत्रिका लेखक तथा पत्रकार र राज्य सञ्चालक समेको जबसम्म यसतर्फ ध्यान जादैन तबसम्म दिगो विकास हुँदैन भन्ने लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here