झापा ।

झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रामवहादुर थापा १७ हजार ५ सय २५ मत प्राप्त गर्दै निर्बाचित भए । यही नगरमा उपप्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट रेगिना भट्टराई १६ हजार ९ सय ६६ मतका साथ निर्वाचित भइन् । तर, यही नगरमा उपप्रमुख पदमा उम्मेद्वारी दिएकी रुकमिणा विष्ट (अधिकारी)ले एक मत पनि प्राप्त गर्न सकिनन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रुकमिणा भुँइकटहर चुनाव चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा उपमेयर पदको दावी गर्दै चुनावी मैदानमा आएकी थिइन् । उनले उपमेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएकी थिइन् । तर, उनले एक मत पनि प्राप्त गर्न नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । दमक नगरपालिकामा ५८ हजार १ सय ७६ मतदाता रहेका छन् । जसमा १८ हजार ७ सय १६ पुरुष र २१ हजार १ सय ७९ जना महिला गरी ३९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए ।
त्यस्तै दमक नगरपालिकामा एक मत पनि प्राप्त नगर्ने अर्का उम्मेदवार हुन्– गणेशबहादुर थापा । उनले दमक नगरपालिका –३ को वडाध्यक्षको दावी गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनले पनि एक मत प्राप्त गर्न सकेनन् ।
उनी खानेपानीको धारा चुनाव चिन्ह्र लिएर चुनावी प्रतिष्पर्धामा थिए । यही नगरको वडा नम्वर १० मा वडाध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्ने अर्का व्यक्ति हुन् रामप्रसाद लुईटेल । उनले वडाध्यक्षतर्फ मत प्राप्त गर्ने मध्ये सबैभन्दा कम मत प्राप्त गरे । लुईटेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का तर्फबाट वडाध्यक्षको उम्मेद्वार थिए । उनले ५ मत मात्र प्राप्त गरे ।































