पूर्वाग्रह मुक्त होऊ

0
362

विगत एक महिनादेखि तातिएको राजनीतिक अवस्था क्रमशः सेलाउँदै गएको छ । एकै चरणमा भएका निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा चिसिने क्रम टुंगिने छ । लोकतन्त्रको सौन्दर्य हो निर्वाचन जसले जनताद्वारा अनुमोदित प्रतिनिधिहरुद्वारा स्थानीय तहको शासन सञ्चालन हुन्छ । देश र जनताको सेवा गर्ने र त्यसकै माध्यमबाट सर्वाङ्गिण विकास गर्ने राजनीति यतिबेला सेवा कम र व्यवसाय बढी भएको छ । त्यही कारण जनप्रतिनिधि हुन चाहनेहरुको ‘ताँती’ नै लाग्न थालेको छ । स्वयम्सेवक मात्रका रुपमा रहने जनताका प्रतिनिधिहरु पछिल्लो संविधान अनुसार नै पेशाकर्मी सरह भएका छन् । त्यसमाथि घुमाउरो बाटोबाट अतिरिक्त लाभ लिन पाइने आकर्षणले आलोचित पनि बनिएका छन् । यस्तो बेला सेवा, भूमिका र अग्रसरताले भन्दा लोभ, लालच, दवाव र प्रभाव प्रमुख बनिँदा अपेक्षित विकास अवरुद्ध बन्छ ।

जे होस्, संविधानतः स्थानीय तहको निर्वाचन सम्पन्न भई मत परिणाम समेत सार्वजनिक हुने क्रम अन्तिम अवस्थामा पुगेको छ । जहाँ मत गणना गर्न बाँकी छ त्यहाँको नतिजा पनि अबको दुई दिनभित्र सम्भवतः प्रकाशित भइसकेको हुनेछ । अबको स्थानीय आवश्यकताको पहिचान गर्दै तिनको पूर्णतातर्फ निर्वाचित प्रतिनिधिहरुले गम्भीर भएर लाग्नु पर्दछ । स्रोत, साधनको व्यवस्थापन गरेर नागरिकको सेवा र आवश्यकता सहज बनाउँदै पूर्णतातर्फ समर्पित हुनुपर्छ । निर्वाचनमा भाग लिँदा कुनै वाद, विचार र दर्शनका पछि लागे पनि अब सम्पूर्ण नागरिकको प्रतिनिधि बन्नु पर्छ । हिजो प्रतिद्वन्द्वितमा रहँदाका तीता अनुभवलाई राजनीतिक मौसम ठानेर वातावरण शुद्ध बनाउन निर्वाचितहरु लाग्नु पर्दछ ।

प्रतिष्पर्धा स्वस्थ हुनुपर्दछ । लोकतन्त्रले खोजेको प्रतिद्वन्द्विता भनेकै योग्यता, क्षमता, प्रभावकारिता, स्वच्छता र पारदर्शिताको प्रतिष्पर्धा हो । हामी अभ्यासमा छौं शायद त्यहीकारण स्वस्थ प्रतिष्पर्धी भइरहेका छैनौं । जित्नेले हार्नेलाई सम्मान नगर्ने र जनमतको कदर नगर्ने जनप्रतिनिधि वास्तविक प्रतिनिधि होइनन् र हुनु पनि हुँदैन । पद र अधिकारको दुरुपयोग गरेर स्वार्थ पूरा गर्ने चाहना राख्ने ‘लोभीपापी’लाई चिन्न र टाढा रहन सकियो भने मात्र राजनीतिकका नाममा हुर्किएको विकृति हटाउन सकिन्छ । राजनीतिक सफा भए मात्र हामीले अंगिकार गरेको शासन व्यवस्था र प्राप्त उपलब्धीलाई संस्थागत गर्न सकिन्छ । यसका लागि आग्रह, दुराग्रह र पूर्वाग्रहबाट जनप्रतिनिधि मुक्त हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here