बलियो, स्पष्ट र बहुमतले आशा गरेको रास्वपा अब केही दिनमै सरकारमा आउनेछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्ण बहुमतका साथ विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्व घोषित तथा झापा ५ बाट निर्वाचित बालेन्द्र शाह नेतृत्वको बलियो सरकार अहिले व्यग्र प्रतीक्षाको विषय बनिएको छ । निर्वाचनमा एमालले स्वतः अघि सारेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले जितेको रास्वपाका वरिष्ट नेता बालेनद्र शाह घोषणा अनुसार नै सरकारको नेतृत्व गर्ने हैसियतमा पुगेका छन् । त्यस्तै प्रधानमन्त्री घोषणा गरेरै चुनावमा होमिएका नेपाली कांग्रेसका सभापति पराजीत हुँदै यो दौडबाट अलग भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी समानुपातिक तर्फको काम पनि सकेर राष्ट्रपतिलाई बुझाएलगत्तै सरकार निर्माणको प्रक्रिया शुरु हुनेछ । काठमाडौं महानगरको नेतृत्व त्यागेर पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गर्दै देशकै नेतृत्व गर्न पुगेका बालेन्द्र प्रधानमन्त्री हुने लगभग निश्चित छ । सम्भवतः आउने साता देशले नयाँ सरकार पाउने छ । देशमा फैलिएको भ्रष्टाचार र कुशासनका बिरुद्ध जेन–जी पुस्ताले गरेको विद्रोहको परिणामले उत्पन्न परिस्थितिमा भएको निर्वाचनमा मतदाताले परम्परावादी चरित्रलाई निसंकोच अस्वीकार गरे । जसको परिणाममा प्रत्यक्ष तर्फ एक सय पच्चीस र समानुपातिक तर्फ सन्ताउन्न सिट जित्दै रास्वपा शक्तिशाली सरकार बनाउने तहमा पुगेको हो । अधिकांश युवाहरु निर्वाचित भएका कारण पनि मुलुक युवामय तथा शक्तिशाली सरकार बन्ने निश्चित छ ।
संवैधानिक प्रावधान र व्यवस्था अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने र त्यसपछि सरकार गठनको प्रक्रिया शुरु हुनेछ । ऐनको प्रावधानहरु अनुसार यसपटक नयाँ गठन हुने सरकारले संसदमा विश्वासको मत लिनु पर्दैन, किनकि रास्वपाले एकल बहुमतका साथ ऐतिहासिक सफलता हासिल गरेको छ । पुराना, खारिएका, अनुभवी नेता र स्थापित दलहरु नराम्ररी पराजीत भएको यो निर्वाचन यसकारण पनि चर्चा र चासोको विषय बनिएको थियो कि युवा शक्ति परिवर्तनको पक्षमा एक भएको थियो । यस्तो विषम् तथा विशेष परिस्थितिमा भएको निर्वाचनले दिएको परिणाम अधिकांश नेपालीको दशकौंदेखि दभित इच्छाको चित्र हो । त्यसैले खोजे जस्तै युवामय सरकारले जनभावना र अपेक्षा पूरा गर्दै राष्ट्रको शिर उच्च राख्न, भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न ‘किन्तु–परन्तु’ भन्न पाउँदैन । यो ऐतिहासिक यात्रा नेतृत्वको परीक्षाको घडी पनि हो ।



























