प्रयोगविहीन ‘होल्डिङ सेन्टर’ लाई लागूऔषध विरुद्धको केन्द्र बनाइने – मुख्यमन्त्री कार्की

0
2

झापा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि झापामा ठोस अभियान सञ्चालन गरिए प्रदेश सरकार आर्थिक, नीतिगत र संरचनागत रूपमा साथ दिन तयार रहेको बताएका छन् ।


बिर्तामोडमा चेतना नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोभिड–१९ महामारीका बेला मेचीनगरमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउन सके प्रदेश सरकार ‘दुई–चार करोड रुपैयाँ खर्च गर्न पनि पछि नहट्ने’ बताए । उनले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसमेत तयार अवस्थामा रहेको उल्लेख गर्दै अब निर्णय र कार्यान्वयनको खाँचो रहेको बताए । ‘हामी नीति बनाएर अघि बढ्न तयार छौँ, तर स्थानीय तहसँग समन्वय अनिवार्य छ,’ उनले भने– अब जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले यस विषयमा चासो दिनुप¥यो ।
मुख्यमन्त्री कार्कीले मेचीनगर–१४ दुहागढीमा निर्माण भएको होल्डिङ सेन्टरलाई लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि सचेतना तथा पुनःस्थापना केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखेका छन् । उनका अनुसार प्रदेश सरकारले विराटनगरस्थित यस्तै संरचनालाई समेत उपयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए ।
तीन वर्षअघि कोरोना महामारीको दोस्रो लहरका बेला करिब २५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको एक हजार शय्याको उक्त होल्डिङ सेन्टर हालसम्म प्रयोगविहीन छ । चार बिघा क्षेत्रफलमा फैलिएको सो केन्द्रमा २२ वटा आधुनिक भवन, अक्सिजन पाइपलाइनसहितको स्वास्थ्य पूर्वाधार, २२ शौचालय, १५ डाइनिङ हल, प्रशासनिक भवन र दुई भान्साघर रहेका छन् ।
यति ठूलो पूर्वाधार निर्माण भएर पनि उपयोगमा नआउँदा स्थानीय स्तरमा निरन्तर आलोचना हुँदै आएको छ । हाल सो संरचनाको सुरक्षा नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले गर्दै आएको छ ।
मुख्यमन्त्री कार्कीले लागूऔषध दुव्र्यसन पछिल्लो समय देशव्यापी समस्या बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘केही वर्षअघि पोखरा, धरान, काठमाडौं र तराईका केही क्षेत्रमा सीमित समस्या अहिले देशका हरेक कुनामा फैलिएको छ,’ उनले भने, ‘प्रयोगकर्ताको संख्या घटेको छैन, बरु बढ्दो क्रममा छ ।’
उनले लागूऔषध नियन्त्रणका लागि बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच साझा रणनीति बनाउनुपर्ने धारणा राखे ।
मुख्यमन्त्री कार्कीका अनुसार आफूले भेटेका अधिकांश जनप्रतिनिधिले होल्डिङ सेन्टरलाई लागू औषध दुव्र्यसन नियन्त्रणको केन्द्र बनाउन हामी तयार छौँ” भन्ने प्रतिक्रिया दिएको बताएका छन् ।
यता कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट व्यवस्थापन र सहकार्यमा बिर्तामोड नगरपालिका सकारात्मक रहेको धारणा राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्का, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक उमेश पाण्डे, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल तथा प्राध्यापक डा. रुपक खनाललगायतले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाले समुदायस्तरमै सचेतना अभिवृद्धि नगरेसम्म समस्या नियन्त्रणमा नआउने धारणा राखेका थिए ।
चेतना नेपालले सञ्चालनमा ल्याएको परामर्श केन्द्रको उद्घाटन मुख्यमन्त्री कार्कीले गरेका थिए । संस्थाका अध्यक्ष इन्द्रप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उशा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन कार्यकारी प्रमुख कल्पना भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here