झिलझिले,

शिवसताक्षी नगरपालिका वडा नं. ८ ले कृषकलाई लक्षित गर्दै वितरण गरेको मकै रोप्ने मेसिनले स्थानीय कृषिमा सकारात्मक परिवर्तनको संकेत दिएको छ। चालु आर्थिक वर्षको वडा बजेट सिलिङबाट १ लाख ५० हजार रुपैयाँको लगानीमा खरिद गरिएका मेसिन ६२ जना कृषकलाई वितरण गरिएको हो।
कृषक समूहसँग आबद्ध तथा स्वतन्त्र रूपमा खेती गर्दै आएका किसानलाई समेटेर गरिएको यस कार्यक्रमले वडाको कृषिमैत्री कार्ययोजना व्यवहारमा उतारेको देखिएको छ। मेसिन प्राप्त गरेपछि किसानहरूले आधुनिक प्रविधिको प्रयोगतर्फ आफूहरू आकर्षित भएको बताएका छन्। उनीहरूका अनुसार यसले श्रम, समय र लागत घटाउने मात्र होइन, उत्पादन वृद्धि र आम्दानी बढाउन समेत सहयोग पुर्याउनेछ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सन्तकुमार फेउदिनसहित वडा सदस्यहरू रिता तामाङ, विवेक थिङ दोर्जे र ज्ञानप्रसाद लुइटेलले संयुक्त रूपमा मेसिन हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष फेउदिनले सीमित बजेटका बाबजुद पनि कार्यक्रमको प्रभावकारिता ठूलो रहने विश्वास व्यक्त गरे। “सानो लगानीले किसानको जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउन सक्छ,” उनले भने।
यसअघि पनि वडाले किसानलाई कितनाशक औषधि छर्ने मेसिन लगायत विभिन्न कृषि उपकरण उपलब्ध गराउँदै आएको थियो। निरन्तर यस्ता कार्यक्रमले कृषिमा आधुनिकीकरणको गति बढाउने, युवालाई कृषितर्फ आकर्षित गर्ने र स्थानीय उत्पादनमा आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।






























