काठमाडौँ,

नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवं नेपाली भाषाको श्रीवृद्धिका लागि समर्पित माधव खनाल ‘भावुक’ले २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्राप्त गरेका छन् ।
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले राजधानी काठमाडौंमा स्थापित वानीरा सभागृहमा सोमबार एक समारोहबीच उनलाई पुरस्कृत गरेका हुन् ।
समारोहमा गिरीले आफ्नै स्रोत र साधनबाट विगत चार दशकदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्र मानवको आविष्कार गरी अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई वानीरा शङ्कर पुरस्कार प्रदान गरे । दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपैयाँ रहेको छ ।

समारोहमा आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्द्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरीलाई ५० हजार रुपियाँ राशिको वानीरा पुरस्कारले सम्मानित गरियो ।
साथै किशोरावस्थादेखि नै समाजसेवामा सदैव जागरुक भई खास गरेर काठमाडौँ महानगरपालिकाको विकासमा मन, वचन र कर्मले समर्पित सरोज ढकाललाई वानीरा सेवा सम्मान दिइएको छ ।
यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो । इञ्जिनियर शङ्कर गिरीको सक्रियतामा २०७९ वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।































