भद्रपुर।

ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक चन्द्रगढी युथ क्लब प्रतिस्पर्धा गर्दैछन् ।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दिउँसो हुने तेस्रो दिनको खेलमा बलियो टिम पुलिससँग आयोजकले सामना गर्दैछ । पुलिसले स्टार खेलाडी रेखा पौडेल, मिना देउवा, पूजा राना तथा अनुभवी गोलकिपर उषा नाथ, कप्तान अमृता जैसीलाई मैदान उतार्नेछ ।
आयोजक चन्द्रगढी युथ क्लबले महिला लिगमा सहभागी झापा फुटबल क्लब, बागमती युथ क्लबका खेलाडी र यु २० राष्ट्रिय टिमका खेलाडीको साथमा पुलिसलाई चुनौती दिँदैछ । केही स्थानीय खेलाडीले पनि चन्द्रगढीबाट मैदानमा पुलिसविरुद्ध दबाब सिर्जना गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।



























