सिरहा, 

लहान नगरपालिका–१५ कोइरालो खोला सामुदायिक नमूना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको छ ।
यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद चौधरीले परिसरमा दुई कोठे ‘होमस्टे’ र सौन्दर्यकरण कार्यको शिलान्यास गर्नुभयो । करिब रु २० लाख ४२ हजारको लागत अनुमान गरिएको उक्त परियोजनामा रु एक लाख बराबरको जनसहभागिता रहने कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिनुभयो ।
नगरप्रमुख चौधरीले हात्तीदहलाई मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लहानको गौरवको रूपमा रहेको हात्तीदह सिमसार क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ । यहाँ निर्माण हुने होमस्टे र सौन्दर्यकरणकार्यले पर्यटकलाई आकर्षित मात्र गर्ने छैन, यसले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गरी नगरको आर्थिक समृद्धिमा मद्दत पु¥याउनेछ ।”
एक महिनाअघि मात्रै सोही क्षेत्रमा सञ्चालनमा आएको ‘हात्तीदह वनस्टे’ले पर्यटकलाई प्राकृतिक वातावरण र स्थानीय संस्कृतिको अनुभव गराउँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले वन र सिमसारको संरक्षणसँगै आयआर्जनलाई जोड्न नयाँ संरचनाले मद्दत गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वन र सिमसार क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘वनस्टे’ र होमस्टेको अवधारणा अघि सारेका हौँ । नयाँ संरचना बनेपछि पाहुनाले अझ गुणस्तरीय सेवा पाउनेछन् ।” उहाँले आगामी दिनमा थप संरचना विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
हात्तीदह परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, सानो चिडियाखाना तथा सेल्फीस्थल निर्माण गरिएको छ । हाल दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ । यहाँ चार वर्षअघिदेखि सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन थालेका छन् भने हाल १४ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको कोइरालो सामुदायिक वनमध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्या पर्यटनको विकास गरिएको छ । यसमा लहान नगरपालिकाको मात्र नभई सङ्घीय र प्रादेशिक निकायको पनि महत्वपूर्ण साझेदारी रहँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीका अनुसार यस क्षेत्रको गुरुयोजना कार्यान्वयनमा राष्ट्रपति चुरे संरक्षण विकास कार्यालय, डिभिजन वन कार्यालय लहान, बृहत् जलाधार व्यवस्थापन कार्यालय लगाएतले प्राविधिक तथा आर्थिक सहयोग पु¥याउँदै आएका छन् ।
लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरेफेदमा रहेको हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य र सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्दै गएको छ ।































