भद्रपुर (झापा),

भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने उद्देश्यले आजदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मोहन सिंह दर्जीका अनुसार सेवाग्राहीले भोग्दै आएको भीडभाड तथा लामो समयसम्म पर्खिनुपर्ने समस्यालाई न्यूनीकरण गर्न टोकन प्रणाली लागू गरिएको हो । जनशक्ति, क्षमता र संरचनालाई ध्यानमा राखी दैनिक सेवा व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार छ वटा मोठ फाँटबाट प्रत्येकमा २५ वटा टोकन वितरण गरिनेछ । यसअनुसार दैनिक करिब १५० वटा लिखत पारित तथा निर्णयसम्बन्धी कार्य टोकन प्रणालीमार्फत सञ्चालन हुनेछन् । टोकन बिहान ९ बजे दर्ता–चलानी शाखा र नागरिक सहायता कक्षबाट वितरण गरिनेछ । सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजातसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहको क्षमता विस्तारसँगै आगामी दिनमा टोकन संख्या बढाउने योजना रहेको कार्यालयले जनाएको छ ।
टोकन प्रणालीमार्फत लिखत पारित, संशोधन, नामसारी, दाखिला खारेज, प्रतिलिपि, रोक्का तथा अद्यावधिकसम्बन्धी सेवा प्रदान गरिनेछ । फुकुवा, वर्गीकरण, स्रेस्ता उतार, हालसाबिक तथा भूमिसुधार फाँटसम्बन्धी कार्यका लागि भने टोकन आवश्यक नपर्ने जनाइएको छ । यसैबीच कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ । सेवाग्राहीले अब परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय प्रवेश पाउने व्यवस्था गरिएको सूचना अधिकारी दर्जीले बताउनुभयो ।
सेवाग्राहीको काम सहजीकरणका लागि आवश्यक परेमा मात्र भू–सेवा सञ्चालक, कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिइने जनाइएको छ । यस्ता व्यक्तिले कार्यकक्षभित्र अनियमित गतिविधि दोहो¥याए थप कडाइ गरिने चेतावनीसमेत कार्यालयले दिएको छ ।































