झापा, उपत्यकामा सवारी साधनको प्राविधिक अवस्था तथा प्रदूषण नियन्त्रणका लागि ट्राफिक प्रहरीले कडाइ गरेको छ। काठमाडौं को थलीस्थित मुलपानी क्रिकेट मैदान नजिक मंगलबार गरिएको विशेष चेकिङमा यान्त्रिक अवस्था ठिक नभएका ४१ सवारी साधनका चालक कारवाहीमा परेका छन्।
ट्राफिक प्रहरीले ६० सवारी साधन जाँच गर्दा हेण्डब्रेक काम नगर्ने, बत्ती दुरुस्त नभएका, टायर अत्यधिक खिइएका लगायतका समस्या भेटिएका थिए। यस्ता अवस्थामा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिएको जनाइएको छ।
यसैगरी, बबरमहल सडक खण्डमा गरिएको प्रदूषण जाँचमा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १४ सवारी साधन पनि कारवाहीमा परेका छन्। वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरीको संयुक्त टोलीले चेक गर्दा ती सवारी साधन फेला परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अत्यधिक धुवाँ फाल्ने सवारी साधनले वायु प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने र दुर्घटनाको जोखिम समेत बढाउने भएकाले नियमित जाँच आवश्यक छ। उनले सवारी धनी तथा व्यवसायीलाई सवारी साधन दुरुस्त अवस्थामा राख्न र सुरक्षित यात्राको सुनिश्चितता गर्न संवेदनशील बन्न आग्रह गरेका छन्।






























