मानव तस्करी नेपालको ठूलो सामाजिक समस्या हो । यसभित्र यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तान उत्पादन र जबर्जस्ती श्रम प्रमुख थिए । मानव तस्करी गम्भीर अपराध हो, जसले मानव अधिकार सामाजिक संरचना र अर्थतन्त्रलाई प्रभाव पार्दछ । आर्थिक प्रलोभनमा पारेर गैरकानूनी रुपमा तस्करी गर्ने र बन्धक बनाएर विभिन्न प्रकारका काममा लगाइन्छ जहाँ उनीहरु माथि शोषण गरिन्छ । पछिल्लो मानव तस्करीको रुप अझै व्यापक भएको छ जहाँ आर्थिक रुपले कमजोर युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर राम्रो आम्दानी हुने वाचा गरिन्छ ।

नेपाली युवाहरुलाई सजिलै प्रशस्त धन कमाइने विश्वास दिलाएर तस्करीको शिकार बनाएको घटनाहरु सार्वजनिक भएका छन् । आर्थिक रुपले कमजोर, गरीब तथा आर्थिक असमानताको फाइदा उठाउँदै नेपाली युवाहरु तस्करीमा पर्ने गरेका छन् । त्यस्तै संघर्ष, युद्ध, जातीय असमानता एवम् सामाजिक अस्थिरताले पनि मानव तस्करीले मलजल गरिरहेको छ । त्यसैगरी अशिक्षा र चेतनाको कमीका कारण कतिपय युवा तस्करको जालमा पर्ने गरेका उदाहरण पनि छन् । गैर कानूनी रुपले विदेश पु¥याइएका युवा शारीरि, मानसिक र भावनात्मक शोषणको शिकार हुन्छन् । यस्तो तस्करीले समाजमा अन्याय र असमानता ल्याउँछ र कतिपय अवस्थामा तस्करीमा परेका व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पर्छ, शारीरिक चोटपटक, मानसिक स्वास्थ्यमा असर पर्न सक्छ र कति संक्रामक रोगको शिकार पनि हुन्छन् ।
युद्धग्रस्त रुसी सेनामा भर्ना गर्ने र प्रशस्त धन कमाउने प्रलोभनमा नेपाली युवा तस्करी गर्ने घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन् । उनीहरुबाट विभिन्न व्यक्तिको पासपोर्ट पनि बरामद भएको प्रहरीले जनाएको छ । तर, तिनका बारेमा किटानी जाहेरी नपरेका कारण उनीहरु बिरुद्ध मानव तस्करीको किटानी जाहेरी परेको छैन जसले मुद्दालाई कमजोर पार्ने देखिएको छ । रुसी सेनामा भर्ती हुन गएका केही नेपाली युवा रुसमा पुगेर अलपत्र परेर नेपाल फर्किएका पनि छन् । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा रुस नेपाली नागरिकको तस्करीको एउटा गन्तव्य देशका रुपमा रहेको देखाइएको छ । तीन लाख रुबल मासिक, सेनामा एक वर्ष काम गरेपछि नागरिकता, राहदानी, एक वर्ष पूरा भएपछि तीस लाख रुबल अनुदान दिने प्रलोभन देखाएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी तस्करीमा पर्नेमा नेपाली सेना, प्रहरीबाट अवकाश प्राप्त नेपाली पनि छन् । त्यहाँको भूगोल, सैन्य तालिम र ज्ञान बिना पठाइएका नेपाली युद्धमा मारिएका छन्, घाइते र कति युक्रेनी सुरक्षा निकायद्वारा बन्धन बनाइएका पनि छन् । यस्तोमा वर्तमान नेपाली सरकारले मानव तस्करीबिरुद्ध कडा कानूनी कारवाही गर्न कानूनी संरचना नै परिवर्तन गर्न आवश्यक छ । तस्करीको जोखिमबाट सुरक्षित राख्न जनचेतना र शिक्षा दिँदै पीडितहरुलाई पुनस्र्थापना र रोजगारको अवसर प्रदान गर्ने नीति कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिएर मानव तस्करीको सम्पूर्ण समाधान खोज्नुपर्छ ।




























