झापामा ४२७ जनाको मृत्यु

0
1

झापा।

चालूआर्थिक वर्ष शुरु भएयता विभिन्न घटनामा परी झापामा ४२७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो अवधिमा विभिन्न घटना र प्रकृतिका एक हजार ३ सय ३३ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मुद्दामध्ये ७ सय ७० वटा फछ्र्यौट भइसकेका छन् भने ५ सय ५३ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार चालूआर्थिक वर्ष २०८२/०८३मा झापामा डुबेर मात्रै १७ जनाको मृत्यु भएको छ । तीमध्ये १० पुरुष, ५ महिला र २ बालक रहेका छन् । त्यसैगरी करेन्ट लागेर १७ जनाको मृत्यु भएको छ, जसमा १४ पुरुष र ३ महिला रहेका छन् । अधिकांशको मृत्यु माछा मार्ने क्रममा करेन्ट लागेर भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसैबीच छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने आगलागीमा एक पुरुष र एक महिला गरी दुई जनाले ज्यान गुमाएका छन् । विभिन्न घटनामा परी उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ भने सुतेकै अवस्थामा एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणमा परी दुई जना, सिसाले काटेर एक जना, चट्याङ लागेर एक जना, खोलाले बगाएर तीन जना र सर्पदंशबाट दुई जनाको मृत्यु भएको छ । त्यस्तै ३४ जना मृत अवस्थामा फेला परेका छन्, जसमा ३१ पुरुष, २ महिला र १ बालक रहेका छन् ।

प्रहरीका अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या झापामा उच्च रहेको छ । जसअन्तर्गत १२५ पुरुष, ४९ महिला, ४ बालक, १२ बालिका, २ विदेशी पुरुष र १ विदेशी बालिकाले आत्महत्या गरेका छन् । विष सेवन गरेर १४ पुरुष र ४ महिलाले ज्यान गुमाएका छन् भने आफ्नै शरीरमा आगो लगाएर एक जना र घाँटीमा सल बेरेर एक जनाले आत्महत्या गरेका छन् ।

यता भवितव्य ज्यानसम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा ३५ पुरुष, २ महिला, २ बालक र १ बालिकाको मृत्यु भएको छ । सवारी भवितव्य ज्यानसम्बन्धी १२ वटा मुद्दा, बेवारिसे ज्यानसम्बन्धी ५, ज्यानसम्बन्धी कसुरका १५, सवारी अंगभंगका १२ र कुटपिट अंगभंगका एक मुद्दा दर्ता भएका छन् ।

जबरजस्ती करणीका ५३ वटा मुद्दा दर्ता भएकोमा ३८ वटा फछ्र्यौट भएका छन् भने १५ वटा मुद्दा फछ्र्यौट हुन बाँकी छन् । यसमा ३८ स्वदेशी पुरुष पक्राउ परेका छन् भने १५ विदेशी पुरुष फरार रहेका छन् । जबरजस्ती करणी उद्योगका मुद्दामा ६ जना पक्राउ परेका छन् भने एक विदेशी फरार रहेको प्रहरीले जनाएको छ ।

बाल यौन दुव्र्यवहारका १३ वटा मुद्दा दर्ता भएका छन् र सबै घटनामा संलग्न १३ जना स्वदेशी पुरुष पक्राउ परेका छन् । अप्राकृतिक मैथुनसम्बन्धी एक मुद्दामा एक जना पक्राउ परेका छन् । जिल्लामा लागूऔषधसम्बन्धी २०२ वटा मुद्दा दर्ता हुँदा २९० स्वदेशी पुरुष, २४ स्वदेशी महिला र १४ विदेशी पुरुष पक्राउ परेका छन् भने १५ विदेशी पुरुष फरार रहेका छन् ।

त्यसैगरी अभद्र व्यवहारका १९८, चोरीका ११५, डाकासम्बन्धी १, चोरी उद्योगका २ र हातहतियार खरखजना सम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरका १४९, ठगीका ३९, बहुविवाहका १५, जुवासम्बन्धी ५, हुण्डीका १, आपराधिक उपद्रवका ३७, आपराधिक विश्वासघातका ७, आपराधिक षड्यन्त्रका १, विद्युतीय अपराधका ३, अपहरण तथा शरीर बन्धकका ३, अपहरण गरी शरीर बन्धक बनाएका २, मानव बेचबिखनका २, आत्महत्या दुरुत्साहनका १ र लिखतसम्बन्धी कसुरका ३ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै राहदानी किर्ते १, सरकारी छाप तथा दस्तखत किर्ते २, राज्यबिरुद्ध कसुरका २, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्बन्धी १, अमानवीय व्यवहार १, गर्भपतन १ र पशुपक्षीसम्बन्धी कसुरका १ मुद्दा दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here