काठमाण्डौ,

फिल्म ‘होस्टेल’बाट सहायक अभिनेत्री र ‘एउटा साथी’बाट सोलो अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीस्ता बस्नेतले करिअरको ९ वर्षको अवधिमा आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । तर, आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न उनी अझै पनि संघर्षरत छिन् । उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका फिल्महरु सफल छैनन् । न उनको अभिनयकै प्रशंसा भएको छ ।
प्रायः फिल्ममा हिरोकै वरिपरी नाच्ने हिरोइनको भूमिकामा सीमित भएकी रीस्ताले आगामी कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पासो’मा भने चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी छन् । शनिवार सार्वजनिक भएको ट्रेलरले पनि यो कुरा प्रमाणित गर्छ । १ मिनेट ३० सेकेण्डको ट्रेलरमा उनको निरीह र रुद्र रुप देख्न सकिन्छ । ट्रेलरमा उनको एक्सन अवतारले ध्यान खिच्छ ।
बक्साभित्र थुनिएकी यूवती (रीस्ता) को कथा ट्रेलरमा भनिएको छ । बक्साबाट बाहिर निस्कन उनले गरेको प्रयास र गुहार मनछुने छ । दुई मिल्ने महिला साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामाथि फिल्म आधारित छ । ट्रेलरमा रीस्ता बस्नेतको भिन्न अवतारले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।
फिल्ममा रीस्ताका अलावा सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । फिल्ममा आर.बी पुनको निर्देशन, कथा, पटकथा तथा संवाद, सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन र सुरेज बस्येलको कोरियोग्राफी रहेको छ भने भगवान भूजेल निर्माता र राजकुमार राउत कार्यकारी निर्मातामा छन् ।-फिल्मीखबर

























