विश्व साइकल दिवसको महत्व

0
465


एक्काइसौं शताब्दीमा विकासको अर्को नाम हो– रफ्तार अर्थात् गति । यतिबेला विश्वका सम्पूर्ण वैज्ञानिकहरु अहिलेसम्म हासिल भएका उपलब्धीहरुको कार्यक्षमतामा अझ बढी तीव्रता वा रफ्तार बढाउने कार्यमा केन्द्रित छन् । विश्व नै रफ्तारको पछि दौडिरहेको बेला अनेकन सवारीसाधनहरुको आविष्कार भयो । जसले लामो र कठिन यात्रा पनि छोटो समयमा आरामदायी रुपले गराउन सक्छ । विकासले फड्को मारे सँगै यातायातका साधनहरुको व्यापक विकास भयो । अनेकन सवारीसाधनहरुको भिडमा साइकलको संख्या घटे पनि यसको महत्व अझै घटिसकेको छैन ।
जर्मनीका आविष्कारक कार्ल भोन ड्राइसलाई साइकलका पिता भनेर चिनिन्छ । सन् १८१७ मा कार्ल भोन ड्राइसले दुई पाङ्ग्रे ह्यान्डिल भएको साइकल बनाएका थिए । जसलाई त्यति बेला भेलोसिपेड, हब्बी हर्स, ड्राइसिन र रनिङ मेसिन जस्ता नाम दिइएको थियो । काठले बनेको फ्रेम र काठकै पाङ्ग्रा भएको यस साइकलमा पाइडल भने थिएन । मानव सभ्यताको लागि यो आविष्कारको एउटा अमूल्य वरदान नै थियो ।
बालक वयस्क महिला पुरुष जो कोहीले कुदाउने मिल्ने, शहरको भिड होस् या गाउँको खुला बाटो जहाँ पनि सजिलै गुड्ने सवारीसाधन हो साइकल । समतल भू–भागमा यात्रा गर्न सँगै सामान ढुवानीमा पनि साइकलको ठूलो महत्व छ । घरायसी मात्रै नभई व्यवसायिक प्रयोजनको लागि पनि साइकलको राम्रै प्रयोग भएको पाइन्छ । हामी सबैले अरु सवारीसाधन सिक्नु वा कुदाउनुभन्दा पनि पहिले साइकल नै सिकेको हुन्छौं । साइकल कुदाउनु हरेक बालबालिकाको रहर हुन्छ । आजभन्दा दुई तीन दशकभन्दा अगाडिसम्म गाउँ बजार र शहरहरुको गल्ली अनि बाटोमा साइकलको लाम हुन्थ्यो । तर, पछिल्लो समय बिकास र मानिसहरुमा विलासितापूर्ण जीवनप्रतिको मोहको कारण साइकल ओझेलमा पर्दै गएको छ । छोटो यात्रा जस्तै बालबालिकालाई स्कूल जान, वयस्कलाई हाटबजार जानको लागि साइकल एकदमै उपयोगी साधन मानिन्छ ।
विकसित र विकसोन्मुख मुलुकहरुमा विभिन्न रोगको कारणहरु मध्ये शारीरिक कसरतको कमि र विलासितापूर्ण जीवनशैली पनि एउटा प्रमुख कारण हो । यसका साथै अनविकरणीय ऊर्जाको स्रोत मानिने पेट्रोलियम पदार्थको अभाव र त्यसको प्रयोगबाट पर्ने वातावरणीय असरलाई समेत मध्यनजर गर्दै सन् २०१८ बाट हरेक वर्षको जुन ३ तारिखमा विश्व साइकल दिवस मनाउन थालिएको हो ।
पश्चिमी मुलुकका नागरिकहरुले साइकललाई विशेष प्राथमिकता दिने गरेकोमा, पछिल्लो समय नेपाली युवाहरुमा पनि साइकल मोह र साइकल दिवसको महत्व बढेको पाइन्छ । साइकल कुदाउनाले शारीरिक स्फूर्ति आउनुको साथै शरिरको अनावश्यक तौल कम हुने र शरीरका मांशपेशीहरु पनि मजबुत हुने गर्दछ । साइकल विशुद्ध शारीरिक बलले कुद्ने भएकाले यसबाट न ध्वनी प्रदुषण न वायु प्रदुषणको नै त्रास हुन्छ । त्यसैले साइकल वातावरण मैत्री एउटा महत्वपूर्ण सवारीसाधन हो ।
पेट्रोलियम पदार्थको दिनप्रतिदिन आकाशिदो मूल्य र तीनको प्रयोगबाट उत्सर्जन हुने हानिकारक ग्यासहरुले सिर्जना गर्ने हरित गृह प्रभाव र जलवायु परिवर्तनको प्रवाभबाट हामी अछुतो रहन सकेका छैनौं । नेपालको आयतमुखी अर्थतन्त्रमा पेट्रोलियम पदार्थको खपत क्रमिक रुपमा बढिरहेको छ । यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयत घटाउन साइकलको प्रयोग बढाएर इन्धन खपतमा कमी ल्याउनु एउटा उत्तम विकल्प हो । बढ्दो वातावरणीय प्रदुषण नियन्त्रणको लागि सम्भव भएसम्म पेट्रोल तथा डिजेलबाट कुद्ने सवारीसाधनको प्रयोग घटाइ साइकलको प्रयोग बढाउनु उपयुक्त मानिन्छ । साइक्लिङ रुटको विकास गरेर साइकलको माध्यमबाट नेपालको पर्यटन व्यवसायलाई पनि थप मजबुत बनाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here